कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नमुना विद्यालयको कक्षा खुला चौरमा

कान्तिपुर संवाददाता

रुकुम — मुसीकोट नगरपालिका २, मा रहेको महाकाली मावि नमुना विद्यालय हो। २०७२ मा हरेक गाविसमा १ र नगरपालिकामा २ वटा विद्यालय नमुना बनाउने भन्दै उक्त विद्यालयलाई पनि नमुना घोषणा गरिएको थियो।

तामझाम साथ तत्कालीन जिशिअ मित्रमणि खनालले नमुना घोषणा गरेको विद्यालय भौतिक पूर्वाधारमा कहिल्यै नमुना बन्न सकेन। शैक्षिक गुणस्तर, भौतिक पूर्वाधारयुक्त शान्तिपूर्ण वातावरणलगायत मापदण्डका आधारमा विद्यालयलाई नमुना घोषणा गरिएको थियो। 

अभियानअन्तर्गत नमुना घोषित महाकाली माविका विद्यार्थी भने खुला चौरमा पढ्न बाध्य छन्। विद्यालय भवन तथा कक्षाकोठा अभावमा उक्त विद्यालयका विद्यार्थी रूखको छहारी र खुला आकाशमुनि पढ्न बाध्य भएका हुन्। १० कक्षासम्म पठनपाठन हुने उक्त विद्यालयका ३ कक्षाका विद्यार्थीलाई आलोपालो खुला चौरमा पढाउने गरेको प्रध्यानाध्यापक लोकबहादुर खड्काले बताए। ‘कुनै दिन कुनै कक्षाका र कुनै दिन कुनै कक्षाका विद्यार्थीलाई बाहिर पढाउने गरेका छौं,’ उनले भने, ‘यो क्रमले विद्यालय नमुना घोषणा भएदेखि नै निरन्तरता पाइरहेको छ।’ खुला चौरमा पठन–पाठन गर्ने विद्यार्थी घाम लाग्दा र पानी पर्दा भने नजिकै रहेको रूखमुनि बसेर पढ्ने गर्छन् । एउटा भवनका ३ कोठा जीर्ण छन्। प्राविधिकहरूले ती कोठामा विद्यार्थी नराख्नू भने पनि जोखिम मोलेर विद्यार्थीलाई पढाउनुपरेको खड्काले बताए। उनका अनुसार विद्यालयमा २ भवन निर्माणाधीन छन्। जिशिकाको १६ लाख रुपैयाँमा असार मसान्तसम्म निर्माण पूरा गर्ने गरी काम सुरु भएको २ कोठे पक्की भवनको काम आधा मात्र भएको छ । त्यस्तै शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सहयोगमा क्रमागत बजेटअन्तर्गत निर्माणाधीन अर्को २ कोठे भवनको निर्माण पनि तत्काल सकिने अवस्था नरहेको विद्यालय व्यवस्थापन समिति सदस्य रमेश खड्काले बताए। 
विद्यालय नमुना घोषणा भएपछि पनि आवश्यकताका आधारमा थप सुविधा दिने भनिए पनि विद्यालयले उक्त सुविधा पाउन सकेन। जिशिअ खनालको सरुवा भएपछि अभियान अघि बढ्न सकेको छैन। नमुना विद्यालयलाई अन्यको तुलनामा थप भौतिक तथा अन्य सहयोग गर्ने भनिएको थियो। विद्यालयले नमुना घोषणा गरिनुबाहेक अन्य कुनै भौतिक तथा आर्थिक सहयोग पाउन सकेन।

प्रकाशित : श्रावण १५, २०७४ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?