स्वाइन फ्लु संक्रमण तीव्र

बिहीबारसम्म ६ को मृत्यु, ८३ जनामा संक्रमण
लालप्रसाद शर्मा, प्रतीक्षा काफ्ले, लीला बराल

पोखरा/स्याङ्जा/बिर्तामोड — बंगुरबाट मानिसमा सर्ने स्वाइन फ्लुबाट पछिल्लो पटक पोखरा र झापामा गरी ३ जनाको मृत्यु भएको छ। अन्य केही बिरामी परेका छन्। बिरामीको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहे पनि संख्या यकिन नभएको जनस्वास्थ्य कार्यालय कास्कीले जनाएको छ।

कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक याम बरालका अनुसार बुधबारसम्म पोखराका २९ वर्षीय १ पुरुष र ३६ र ४८ वर्षका २ महिलाको मृत्यु भएको छ। बुधबारसम्म देशैभर ८३ जनालाई स्वाइन फ्लु पुष्टि भएको छ। तीमध्ये ६ जनाको मृत्यु भएकोमा पोखराका मात्रै ३ जना रहेको जानकारी केन्द्रबाट आएको उनले जनाए। ‘अहिले पनि केही बिरामी पोखराका क्षेत्रीय, मनिपाल र गण्डकी शिक्षण अस्पतालमा उपचार गराइरहेका छन्,’ उनले भने, ‘केही बिरामीको पीसीआर परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको छ, रिपोर्ट आएपछि कतिलाई स्वाइन फ्लु लागेको भन्ने यकिन हुन्छ।’ स्वाइन फ्लुको पुष्टि नभएसम्म उपचाररत बिरामीको संख्या बताउन नमिल्ने उनले बताए।
स्वाइन फ्लु देखिएपछि महानगरमा चार स्वास्थ्यकर्मीको टिम खटाइएको छ। टिमले सचेतनामूलक माइकिङ, पर्चा, पम्प्लेटिङ तथा स्थानीय सञ्चारमाध्यममा सन्देश प्रकाशन र प्रसारण गर्नेछ। रुघाखोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, नाकबाट सिंगान आइरहने भएमा सचेतना अपनाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। बच्चामा पखाला पनि लाग्न सक्छ। ‘सामान्य रुघाखोकी लाग्दैमा आत्तिनु पर्दैन,’ क्षेत्रीय स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक रामरिझन यादवले भने, ‘आराम गर्ने, भीडभाडमा नजाने, तातोपानी, झोलिलो र पोसिलो चीज खानुपर्छ।’ च्याप्दै गएमा स्वास्थ्य संस्थामा गएर जँचाउनुपर्ने भन्दै उनले मान्छेबाट मान्छेमा सर्न थालेमा जोखिम हुने बताए।
स्याङ्जाको वालिङ १४ का ४९ वर्षीय खुमप्रकाश अर्यालले आफूलाई सामान्य रुघाखोकी लागेको ठान्दै सामान्य औषधि सेवन गरेका थिए। रोग पत्ता नलाग्दा एक थरी रोग र अर्को थरी औषधि भएपछि उनी गम्भीर बिरामी हुन पुगे। पोखरामा लामो समय उपचार गरेपछि उनलाई काठमाडांै लगियो।
काठमाडौंमा पनि रोग पत्ता नलाग्दै उनको मृत्यु भयो। कसैले दम, कसैले ब्लडप्रेसर बढेको र कसैले हृदयाघातका कारण मृत्यु भएको हल्ला चलाए। साउन ९ मा दिवंगत अर्यालको मृत्युको कारण
तीन दिनपछि मात्रै स्वाइन फ्लुबाट भएको पुष्टि भयो।
उनी सुरुमा जँचाउन वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा आएका थिए। अहिले पनि वर्षाको भाइरल ठानेर रुघाखोकीको उपचारका लागि केन्द्रमा आउने बिरामीको उत्तिकै चाप छ। अर्यालको मृत्यु स्वाइन फ्लुले भएको पुष्टिपछि स्थलगत परीक्षण गर्न काठमाडौंबाट चिकित्सक टोली गत शुक्रबार वालिङ आएको थियो। महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेसहितको टोलीले शनिबार केन्द्रमा उपचारार्थ आएमध्येका २० जनाको रगत र खकार जाँचका लागि राजधानी पठाएको थियो। त्यसमध्ये पाँच जनामा स्वाइन फ्लुको संक्रमण
रहेको पुष्टिपछि वालिङका नगरवासीमा त्रास बढेको छ।
वालिङ र आसपासका क्षेत्रमा सिजनल इन्फ्लुएन्जाका बिरामी अरू पनि हुन सक्ने भन्दै स्थानीय डराएका हुन्। गाउँ र टोल–टोलमा शिविर राखेर बिरामीको स्वास्थ्य परीक्षण र उपचार गरिनुपर्ने माग स्थानीयको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा सिजनल इन्फ्लुएन्जा (एचवान एनवान पोजेटिभ) देखिएपछि रोकथामका लागि फेरि विशेषज्ञ टोली वालिङ आउने भएको छ। वालिङ प्राथमिक स्वास्थ्य केन्द्रका डा. प्रवीण घिमिरेले भने, ‘स्वाइन फ्लु पुष्टिपछि सबैमा त्रास छ, तर हामीले सतर्कता अपनाउन आग्रह गर्दै आएका छौं।’
केन्द्रका अध्यक्ष एवं नगर प्रमुख दिलीपप्रताप खाँडले परीक्षणबाट संक्रमण रहेको भेटिएकामध्ये चार जना निको भएको दाबी गरे। ‘मान्छेमा त्रास त छ, तर डाक्टर छन्, औषधि छ, उपचार जारी छ,’ उनले भने, ‘अस्तिको परीक्षणपछि थप संक्रमित भेटिएका छैनन्। सतर्क रहनु ठीक हो, तर डराउनु पर्दैन।’ असार दोस्रो सातादेखि साउन पहिलो सातासम्म रुघाखोकी र ज्वरोको उपचारका लागि आउने बिरामीको चाप रहे पनि अहिले क्रमश: घटेको उनले बताए।
वालिङका अहिम क्षत्रीका अनुसार स्वाइन फ्लुको खबरसँगै नगरवासीमा सतर्कता अपनाउने बानी विकास भएको छ। ‘खुम अंकल कांग्रेसको १४ नम्बर वडाका सभापति पनि भएकाले मृत्युको कारण छिट्टै सबैले थाहा पाए,’ उनले भने, ‘बजार एरियाभन्दा बाहिर रोगको चर्चा, जोगिने तरिका मान्छेलाई थाहा नहुन सक्छ, त्यसैले चेतनामूलक प्रचार बढाउनु जरुरी छ।’
स्वाइन फ्लुबाट दुई साताभित्र बिर्तामोडमा मारवाडी समुदायका दुई महिलाको मृत्यु भएपछि स्थानीय बासिन्दामा रोग संक्रमणको त्रास बढेको छ। आवश्यक सतर्कता अभावमा स्वाइन फ्लु फैलिन सक्ने भन्दै स्थानीय चिन्तित भएका हुन्। रुघाखोकी लागेर श्वासप्रश्वासमा समस्या भएपछि झापाका स्थानीय अस्पताल हुँदै भारतको नयाँदिल्लीस्थित एपोलो अस्पताल पुर्‍याइएका बिर्तामोड ४ निवासी ४७ वर्षीया अनितादेवी मित्तल र बिर्तामोड १ निवासी ३७ वर्षीया मनीषा अग्रवालको दुई साताको फरकमा उपचार क्रममा मृत्यु भएको थियो।
अनिताको साउन १ गते र मनीषाको साउन १५ गते मृत्यु भएको हो। ‘बिर्तामोडका दुई महिलाको दुई साताभित्र स्वाइन फ्लुको संक्रमणका कारण ज्यान गएको अस्पतालबाट प्राप्त रिपोर्टले पुष्टि गरेको छ,’ जनस्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले भने, ‘थप संक्रमण फैलिन नदिन त्यसैअनुरूप तयारीमा जुटेका छौं।’
उनले संक्रमित क्षेत्रमा जिल्ला जनस्वास्थ्यले अनुसन्धान टोली परिचालन गरी रोकथाम नियन्त्रणको पहल गरिसकेको जनाए। ‘घटनाबारे थप अध्ययन गर्न सरुवा रोग नियन्त्रण महाशाखा काठमाडौंबाट विज्ञको टोली झिकाउने तयारी भइरहेको छ,’ उनले भने, ‘संक्रमण कहाँबाट सुरु भयो भन्ने विषयमा अझै निक्र्योल हुन सकेको छैन।’
नगर क्षेत्रभित्र स्वाइन फ्लुको संक्रमणबाट दुई महिलाको ज्यान गएपछि बिर्तामोड नगरपालिकाले पनि सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउन सुरु गरेको छ। बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटीले सरोकारवालासँगको छलफलपछि स्वाइन फ्लुबारे समुदाय केन्द्रित चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए। घटनापछि नगरपालिकाले आवश्यक सावधानी अपनाउन, रोग संक्रमित पशुपन्छीको उचित व्यवस्थापन गर्न र लक्षण देखिनासाथ उपचार गर्न अनुरोध गरेको छ।

प्रकाशित : श्रावण २०, २०७४ ०७:४४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

योजना आयोग उपाध्यक्षमा वाग्ले

कान्तिपुर संवाददाता

काठमाडौं — राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री स्वर्णिम वाग्ले नियुक्त भएका छन्। यसअघि दुईपटक आयोग सदस्य भइसकेका वाग्लेलाई मन्त्रिपरिषद्ले उपाध्यक्ष नियुक्त गरेको हो।

विश्व बैंकलगायत अन्तर्राष्ट्रिय संघसंस्थाको कार्य अनुभव भएका वाग्ले सुशील कोइराला प्रधानमन्त्री हुँदा पहिलोपटक सदस्य भएका थिए। 
उपाध्यक्ष नियुक्त भएपछि वाग्लेले मुख्य ५ विषयमा आफ्नो ध्यान केन्द्रित रहने प्रतिक्रिया दिए। ‘सबैभन्दा पहिले त मुलुक संघीयतामा गइसकेपछि आयोगको भूमिका र कार्यक्षेत्रबारे यस अघिदेखि भइरहेको कामलाई पूर्णता दिएर थिंक ट्यांकका रूपमा पुन:संरचना गरिनेछ,’ उनले भने। यसअघि पुन:संरचनाको खाका बनाउने काममा समेत संलग्न वाग्लेले आयोग भने खारेज नहुने बताए। 
सन् २०३० सम्म मुलुकलाई मध्यम आय भएको देशमा पुर्‍याउन प्रयत्न गरिने पनि उनले बताए। दिगो विकास लक्ष्य र सन् २०२२ सम्म अति कम विकसित मुलुकबाट माथि उकास्ने काममा पनि संलग्न रहने उनले बताए। संघीय संरचनामा बजेट निर्माणलगायत वित्तीय क्षेत्रमा सहकार्य गर्ने योजना पनि वाग्लेले सुनाए। ‘आर्थिक सुधारका केही कामलाई द्रुत रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता पनि छ,’ उनले भने। 

प्रकाशित : श्रावण २०, २०७४ ०७:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT