कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भूकम्पपीडित ट्याक्सी दर्तामा ‘अन्योल’

‘हालसम्म दर्ता भएकामध्ये अधिकांश बिक्री’
कान्तिपुर संवाददाता

ललितपुर — सरकारले भूकम्पपीडितलाई नि:शुल्क उपलब्ध गराएको ट्याक्सी नम्बर प्लेट दर्ता प्रक्रियामा अन्योल देखिएको छ ।

 

यातायात कार्यालयमा भूकम्पपीडितले ट्याक्सी दर्ता गर्दा आफूले खरिद गरेको सवारी साधनको भ्याट बिल अनिवार्य पेस गर्नुपर्छ । तर पीडितले भ्याटबिलको ‘नोट’मा मात्र आफ्नो नाम उल्लेख गरेको आधारमा दर्ता गर्न पाउने/नपाउने भन्ने बारेमा अन्योल देखिएको हो ।

त्यस्तै चिट्ठा पर्ने भूकम्पपीडितको मृत्यु वा पीडित विदेश गएमा उनका हकवालाले दर्ता गर्न पाउने/नपाउने भन्नेबारे निर्णय भएको छैन । यसैगरी, ६० वर्ष उमेर कटेका पीडितलाई बैंकले ऋण लगानी नगर्ने भएकाले ट्याक्सी दर्ता प्रक्रियामा थप अन्योल बढेको हो ।
यातायात व्यवस्था कार्यालय साना–ठूला सवारी कार्यालय, एकान्तकुनाका प्रमुख वसन्त अधिकारीले कायम रहेको अन्योलबारे निर्णय लिन यातायात विभागमा पत्राचार गरिसकेको बताए । ‘पहिला ट्याक्सी परेकाहरूले भ्याट बिलमा पर्नेको नाम बिलको ‘नोट’ मात्र उल्लेख गरेर पनि दर्ता भएको थियो,’ उनले भने, ‘यो पटक गर्न मिल्छ/मिल्दैन भनेर विभागमा बुझिरहेका छौं । विभागबाट जवाफ आएको छैन ।’
उनले हालसम्म ६० वर्ष कटेकाले ऋण नपाएको भन्दै गुनासो लिएर कार्यालयमा आएको बताए । ‘तर कतिपय भूकम्पपीडितको कार्ड घरमूलीको भएकाले अधिकांश ६० वर्ष कटेका छन्,’ उनले भने, ‘हालसम्म भूकम्पपीडितकै नाममा जारी भएको भ्याट बिलकै आधारमा मात्र ट्याक्सी दर्ता गरेका छौं ।’ कार्यालयका अनुसार बिहीबारसम्ममा २ सय ५१ जना पीडितले ट्याक्सी दर्ता गरेका छन् । यीमध्ये १२ जना पीडितले मात्र आफ्नो नाममा दर्ता गरेका छन् । 
ट्याक्सी नम्बर प्लेट परेका अधिकांश भूकम्पपीडितले बिक्री गर्न चाहेको देखिन्छ । यसले गर्दा बिचौलियाले चलखेल गर्ने सम्भावना धेरै छ । सरकारले भूकम्पबाट अति प्रभावित ललितपुर, भक्तपुर, काठमाडौं, नुवाकोट, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, धादिङ, ओखलढुंगा, गोरखा र रसुवा जिल्लाका १ हजार ५ सय भूकम्प पीडितलाई गोला प्रथाद्वारा ट्याक्सी नम्बर वितरण गरेको थियो ।

प्रकाशित : श्रावण २०, २०७४ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?