२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

दोक्लमबारे नेपालको धारणा ‘हामी तटस्थ’

चन्द्रशेखर अधिकारी

काठमाडौं — नेपालले दोक्लम विवादका विषयमा एकै स्थानमा बसेर वार्तामार्फत समस्या समाधान गर्न दुई छिमेकी मुलुक भारत र चीनलाई आग्रह गरेको छ । दोक्लम विवादबारे पहिलो पटक औपचारिक धारणा सार्वजनिक गर्दै सरकारले यस्तो आग्रह गरेको हो ।

दोक्लमबारे नेपालको धारणा ‘हामी तटस्थ’

परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले दोक्लम समस्याको समाधान वार्ताबाटै शान्तिपूर्ण ढंगले निकास दिन नेपालले जोड दिएको बताए ।
दुई मुलुकबीच दोक्लम क्षेत्रलाई लिएर दुई महिनादेखि जारी तनाव र कूटनीतिक तथा सञ्चारमाध्यमबाट भइरहेको ‘वाकयुद्ध’ मा नेपाल पर्न नहुने उल्लेख गर्दै उनले भने, ‘हामीले दुवै छिमेकीलाई वार्ताबाटै समस्या समाधान गर्न सुझाइरहेका छौं । यस्तो विवादमा नेपाल कसैको पक्षमा पनि छैन । हामीले तटस्थता देखाउँदै शान्तिपूर्ण समाधानको आग्रह गरिरहेका छौं ।’
उनले नेपाल दुई मुलुकबीच युद्ध होस् भन्ने पक्षमा नरहेको पनि बताए । आगामी भदौ ७ मा हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र त्यसअघि चीनका उपप्रधानमन्त्री वाङ याङले गर्न लागेको नेपाल भ्रमणलाई चीन–भारत तनावसँग जोडेर हेर्न नमिल्ने पनि महराले बताए ।
‘यी भ्रमण र उक्त तनावबीच कुनै सम्बन्ध छैन,’ बिहीबारदेखि हुने बिमस्टेक मन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री सुष्मा स्वराज आउन लागेको प्रसंग निकाल्दै महराले भने, ‘यस्ता विषयमा भ्रमणलाई जोड्न मिल्दैन । छिमेकीको दुईपक्षीय मामिलामा नेपाल पर्न चाहँदैन । यसमा हामीले बोल्न आवश्यक पनि छैन ।’
महराले दुवै देश आपसका विषयमा वार्ता गर्न सक्षम रहेको पनि बताए । ‘संवादबाट समस्याको हल होस् भन्ने नेपालको चाहनाबारे उनीहरू जानकार छन्, हामीले हाम्रो धारणा राखिसकेका छांै,’ महराले भने । दोक्लम क्षेत्रलाई लिएर पछिल्ला दिन चीन र भारतबीच सैन्य उपस्थिति बढाउने र हरेक दिन पत्रकारसमक्ष जानकारी गराउने क्रम चलिरहेको छ ।
दुई देशबीच तनाव बढिरहेकै बेला प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदैछन् भने चिनियाँ उपविदेशमन्त्री याङ अचानक काठमाडौं आउँदैछन् । भारतीय विदेशमन्त्री स्वराज आगामी बिहीबार बिमस्टेक बैठकमा सहभागी हुन आउने क्रममा उच्चस्तरमा भेटघाट गर्दैछिन् । नेपालमा रहेका चिनियाँ दूतावासका अधिकारीले परराष्ट्र मन्त्रालयमा भेट गर्दै आफ्नो धारणा राख्ने प्रक्रिया जारी छ भने भारतीय अधिकारी पनि चुप छैनन् । नेपाल यतिबेला सार्क र बिमस्टेक दुवै संगठनको अध्यक्ष छ ।
भारत सार्कको प्रभावशाली सदस्य मुलुक हो भने चीन पनि सार्कको प्रभावशाली पर्यवेक्षक हो । यी दुई मुलुकबीच नेपालले कुनै वार्ताको वातावरण मिलाउन सक्दैन भन्ने जिज्ञासामा उपप्रधानमन्त्री महराले त्यसबारे तत्काल सोच नभएको बताए ।
‘यो भ्रमणमा आपसी हित तथा टुंगोमा पुग्न नसकेका कामको योजना र एजेन्डाका बारेमा छलफल हुनेछ, केही न केही सम्झौता पनि हुनेछ,’ प्रधानमन्त्री भ्रमण टोलीका सदस्यसमेत रहेका महराले भने ।
उनले चिनियाँ उपप्रधानमन्त्रीको भ्रमण पनि पुनर्निर्माणमा केन्द्रित हुने उल्लेख गर्दै भने, ‘वसन्तपुर दरबारको पुनर्निर्माण गर्ने जनाएकाले त्यसको आरम्भ हुनेछ । त्यस्तै अन्य दुईपक्षीय समझदारीका विषयमा छलफल हुनेछ ।’ उनले कुनै विषयमा नेपाल भारतसँग त कुनैमा चीनसँग नजिक रहँदै आएको पनि बताए ।
चीन र भुटानको सीमामा पर्ने दोक्लमको केही भाग चीनको नियन्त्रणमा छ भने केही भुटानको । चीन र भुटान दुवैले दोक्लम क्षेत्रलाई आफ्नो भएको दाबी गर्दै आएका छन् । गत असार २ गते चीनले आफ्नो नियन्त्रण क्षेत्रमा सडक निर्माण सुरु गरेपछि भुटानले आपत्ति जनाउँदै सेना पठाएको थियो । भुटानी सेनाले निर्माण रोक्न गरेको आग्रहलाई चीनले अस्वीकार गर्दै कामलाई निरन्तरता दिएपछि तनाव सुरु भएको थियो । त्यसपछि त्यहाँ भारत र चीन आमनेसामने भएका हुन् ।
चीनले दोक्लम पुगेका भारतीय सेनालाई पछि हट्न आग्रह गरे पनि भारतले आफ्ना सेना त्यहाँबाट नहटाउने अडान लिँदै आएको छ । चीनले आफ्नोतर्फ निकै धेरै सैन्य बल तैनाथ गरिरहेको छ । यसै विषयलाई लिएर भारतीय र चिनियाँ सञ्चारमाध्यम र पत्रकार सम्मेलनमा ‘जुहारी’ चलिरहेको छ । तैनाथ गरिएका सेनाबीच कुनै असमझदारी देखिनेबित्तिकै त्यहाँ द्वन्द्व हुन सक्ने अधिकारीहरूले बताउँदै आएका छन् ।

प्रकाशित : श्रावण २४, २०७४ ०६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?