कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फोन गर्न ३ घण्टा पैदल

कान्तिपुर संवाददाता

मुगु — मुगुम कार्मारोङ गाउँपालिका २ नम्बर वडा लामो समयदेखि सञ्चारविहीन भएको छ । गाउँमा अहिलेसम्म टेलिफोन सुविधा नपुग्दा करिब १ सय २० परिवार सञ्चारविहीन बनेका छन् । स्थानीय फोन गर्न तीन घण्टा टाढाको चितै कुनासम्म गएका हुन् ।

फोन गर्न ३ घण्टा पैदल

सदरमुकामदेखि २८ कोस टाढाको वडा कार्यालय, भन्सार, सीमा प्रहरी चौकी, स्वास्थ्य केन्द्रलगायत सरकारी कार्यालय भए पनि सञ्चार सुविधा नहुँदा कामकाजमा समस्या छ । गमगढीबाट मुगु गाउँका बारेमा जानकारी लिन जिल्ला प्रहरी गएर चौकीमा खबर गरेमात्र हालखबर थाहा पाइन्छ । ‘अहिलेम्म गाउँमा मोबाइल सेवा पुगेको छैन,’ मुगुका नोर्बेल तामाङले भने, ‘एक कल फोन गर्न तीन घण्टा हिँड्नुपर्ने बाध्यता छ ।’ केही वर्षअघि मुगु गाउँनजिकै हेलो मोबाइलले न्यून क्षमताको टावर स्थापना गरेको थियो तर गत वर्षदेखि बिग्रिएपछि स्थानीयलाई सास्ती भएको हो । मुगु गाउँमा सञ्चारको कुनै सुविधा नहुँदा खबर आदानप्रदान गर्नै मुस्किल परेको तामाङले बताए । यो वर्ष टेलिफोन टावरका लागि बजेट विनियोजन गरेको मुगुम कार्मारोङ गाउँपालिका प्रमुख छिरिङ क्याप्ने लामाले बताए ।
त्यस्तै सदरमुकामस्थित छायाँनाथ रारा नगरपालिकाको गमगढी क्षेत्रमा दुई सातादेखि मोबाइल गडबडी भएको छ । छिनछिनमा नेटवर्क आउने र जाने गरेपछि सेवाग्राहीले हैरानी खेप्नुपरेको हो । सीडीएमए नेटवर्क आउनै छोडेको र जीएसएम प्रिपेड र पोस्टपेडमा पनि समस्या भएको स्थानीयले बताए । कालिकोटको भर्ता, दैखेलको रानीमत्ता र जुम्लाको माइथाप्लामा रहेका रिपिटर टावरमा खराबी भएपछि मोबाइल सेवामा गडबडी आएको टेलिकमका इन्जिनियर कृष्णप्रसाद कोइरालाले जानकारी दिए । टावर मर्मतका लागि क्षेत्रीय कार्यालय नेपालगन्जमा अनुरोध गरिए पनि वर्षा र पहिरोका कारण प्राविधिक आउन नसकेको उनले बताए ।

प्रकाशित : श्रावण २६, २०७४ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?