कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुल नहुँदा विद्यार्थीलाई सास्ती

कान्तिपुर संवाददाता

रुकुम — चौरजहारी नगरपालिका ६ का यज्ञबहादुर केसीले वर्षा लागेदेखि हालसम्म १० दिन विद्यालय जान पाएनन् । चौरजहारी ११ मा रहेको हिमालय माविमा कक्षा ९ मा अध्ययरत उनी हरेक दिन वर्षा नहोस् भन्ने कामना गर्छन् ।

एक सामुदायिक र २ संस्थागत विद्यालयमा पठनपाठनका लागि पुग्नुपर्ने नर्सरीदेखि १२ कक्षासम्मका विद्यार्थीका लागि चौरजहारी ६ र ११ जोड्ने सेतीगार खोला बाधक बनेको छ । विभिन्न ठाउँबाट चौरजहारी ११ मा रहेको हिमालय मावि, रुकुमेली आस्था इंग्लिस बोर्डिङ र ब्राइट फयुचर बोर्डिङ स्कुलमा पढ्न जाने १५० बढी विद्यार्थीको समस्या खोला बनेको छ । उनीहरू यसरी यस वर्ष मात्रै समस्यामा परेका भने होइनन् । 

४ वर्षयता यस क्षेत्रका विद्यार्थी सेतीगार खोलाकै कारण वर्षामा नियमित विद्यालय जान पाउँदैनन् । घरदेखि विद्यालय पुग्ने बाटोबीच पर्ने सेतीगार तर्न कुनै उपाय नहुँदा सबै जँघार तर्न बाध्य छन् । वर्षा भएको दिन जँघार तर्न नसकेर विद्यालय छाड्ने गरेको केसीले बताए । ‘खोलो बढेको दिन जँघार तर्न सकिन्न र स्कुलै गइन्न,’ केसीले भने, ‘६ कक्षादेखि यो समस्या झेल्दै आएको छु ।’
२०७० मा स्थानीयले सेतीगारमा हालेका काठे पुल वर्षदिनमै जीर्ण बन्यो । २०७० को वर्षापछि सेतीगारले अर्को पुल पाउन सकेको छैन । स्थानीय सुदीप बोहराका अनुसार असार लागेलगत्तै केही काठ राखेर खोला तर्न लप्को बनाइएको थियो । त्यो पनि खोला बढ्दै जाँदा बगेको छ । सेतीगारमा पक्की पुल बनाउन विभिन्न निकायमा माग गरे पनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ । छोराछोरीलाई विद्यालय पुर्‍याउन हरेक दिन सेतीगार किनारमा अभिभावकहरू पुग्ने गर्छन् । 

पुल बगाउँदा आउजाउमा समस्या
दार्चुला– निरन्तर वर्षाका कारण अपी हिमाल गाउँपालिका ६ मज्जेमा झोलुंगे पुल बगाउँदा आवतजावत ठप्प भएको छ । खोलामा बाढी आउँदा बिहीबार पुल बगाएको स्थानीयले जनाएका छन् । अपी हिमाल ६ सितोलाको मज्ये र रङपङ जोड्ने झोलुंगे पुल खोला बगाएको हो । लगातार २ दिनसम्म अत्यधिक वर्षा भएपछि खोलामा पानीको सतह बढेपछि पुलसँगै पानीघट्ट र खानेपानीको ट्यांकी र पाइप बगाएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिए । उक्त क्षेत्रको एकमात्र झोलुंगे पुल बगाउँदा विद्यार्थीसँगै स्थानीयको आवतजावत रोकिएको हो । खानेपानी ट्यांकी र पाइप बगाउँदा मज्ये गाउँमा खानेपानीको समस्या भएको अध्यक्ष मन्यालले बताए ।

प्रकाशित : श्रावण २८, २०७४ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?