कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले टहरो पुर्‍यो

कोदारी राजमार्ग भासियो
अनिश तिवारी

सिन्धुपाल्चोक — बाह्रबिसे नगरपालिकाको घोर्थली, कागतेमा आइतबार पहिरोले भूकम्पपीडितको टहरो पुरेको छ । स्थानीय श्यामबहादुर श्रेष्ठको टहरो पुरिएको हो ।

पहिरोले टहरो पुर्‍यो


बिहानीपख माथिबाट पहिरो खस्न थालेपछि श्रेष्ठ परिवार भागेको थियो । ‘उज्यालो भएकाले सबै देखियो, बेलैमा भागेर बाँचियो,’ श्रेष्ठले भने, ‘यहाँ बस्न जोखिम भएपछि बास सार्न थालेका छौं ।’ पहिरोले उक्त बस्तीका ६ परिवार समस्यामा छन् । कागते, पलाती, घुम्थाङको सिगार्चेलगायत दर्जनौं स्थानमा पहिरोको जोखिम बढेको छ । त्रासैत्रासमा दिन कटाइरहेका आफूहरू सुरक्षित स्थानको खोजीमा रहेको साङ्गे शेर्पाले बताए । ‘माथिल्लो भेगको जमिन पूरा भास्सिएर झर्न थालेको छ,’ उनले भने, ‘खेतीयोग्य जमिन चिराचिरा छ ।’
बर्खा लागेपछि पहिरोकै कारण विभिन्न स्थानमा दैनिकजसो दुर्घटना भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक पञ्चकुमार बाखुका अनुसार भूकम्पले कमजोर बनाएको पहाड बर्खामा खस्न थालेको छ । कोदारी राजमार्गअन्तर्गत बाह्रबिसे–तातोपानी सडकखण्डको सखुवामा सडक भास्सिपछि यातायात ठप्प छ । अविरल वर्षाका कारण शिरिशे, डाक्लाङ, झिर्पूलगायत दर्जनौं स्थानमा पहिरो जानुका साथै सडक तीन इन्च भास्सिएको हो ।
धेरै ठाउँ धाँजा फाटेकाले सडकको अवरोध खोल्न नसकिएको प्रहरीले जनाएको छ । ‘पहिले सडक भास्सिएको मात्रै थियो, अहिले धेरै ठाउँमा पहिरो झरिरहेको छ,’ घटनास्थलमा यात्रुलाई सहयोगार्थ पुगेका प्रहरी निरीक्षक बाखुले भने, ‘सडकै खसेकाले मर्मत गर्न सकिएको छैन, बिरामी बाटैमा अलपत्र छन् ।’
उनका अनुसार यो खण्डमा दैनिकजसो पहिरो झर्न थालेको छ । यात्रुको सुरक्षाका लागि सशस्त्र र प्रहरी खटिइरहेका छन् । महिनौंदेखि बारम्बार पहिरोले बन्द भइरहेको राजमार्गमा यात्रुबस सञ्चालनमा ल्याउन सकिएको छैन । बोलेरोलगायत साना सवारी चलाइए पनि भाडा महँगो भएकाले स्थानीय मारमा छन् । ‘हिजो पनि त्यसै फर्किनुपर्‍यो, काठमाडौं हिँडेको आज पनि बाटो नखुल्लाजस्तो छ ,’ भोटेकोसी गाउँपालिका तातोपानीकी पेमाडोल्मा शेर्पाले भनिन्, ‘हिँडेर बस भेटिने ठाउँ पुग्न तीन–चार घण्टा लाग्छ ।’ सडक अवरुद्ध भएपछि बिरामी र पर्यटक अलपत्र छन् ।

वर्षाले अवरुद्ध सडक अझै खुलेनन्
दैलेख– हिउँदभर गाडी चल्ने यहाँका ग्रामीण सडक वर्षासँगै सुनसान बनेका छन् । २ महिनादेखि जिल्लाका विभिन्न स्थानमा चल्ने यातायातका साधन अझै ठप्प छन् । सदरमुकामसँग जोड्ने सडकहरू यतिखेर गाडी त परै जाओस्, मानिससमेत हिँड्न नमिल्ने भएको छ ।
सडक विस्तार नभएका नगर या गाउँपालिका छैनन् । तर, वर्षा सुरु भएसँगै सडक हिलाम्मे भएका छन् । वर्षाका बेला हतारमा योजना सिध्याउन काम सुरु गरिन्छ । नाला नभएका अधिकांश कच्ची सडक हिउँदमा मर्मत हुन्छन् । गाडी पनि चल्छन् । जब बर्खा लाग्छ, कच्ची ग्रामीण सडक हिलाम्मे र खाल्डाखुल्डी बन्छन् । वर्षाले बिगारेका सडक मर्मत नहुँदा अवरुद्ध भएका हुन् ।
सदरमुकाम दैलेख बजारबाट खरिगैरा, बाँसी, डाँडापराजुल, लाँकुरी, काशीकाँध, टाटामाखु, चौराठालगायत क्षेत्र पुग्छ, ठाउँ–ठाउँमा यात्रुले धकेलेरै भए पनि सवारीसाधन चलाउने गरेको चालकहरू बताउँछन् । कति सडक वर्षा सुरु भएसँगै कुलोमा परिणत भएका छन् ।
जिल्लाका ११ स्थानीय तहमध्ये महाबु, ठाँटीकाँध, डुंगेश्वर, नौमुले गाउँपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिकाका सडक वर्षाले हिलाम्मे बनेका छन् । डुंगेश्वर २, लाँकुरीको देउलीबजार जोड्न ४ सडक खनिएका छन् । वर्षायता ती कुनै सडक सञ्चालनमा छैनन् । दुल्लु नपाभित्रैको मुख्य सडक जेठ सुरुसँगै बन्द भएको छ । खड्काबाडाको सेप्टीदेखि तल्लोडुंगेश्वरसम्म र सिँगौडीको जाक्सीदेखि राकम कर्णालीसम्मको सडकमा साना सवारीसाधन सञ्चालन हुन हम्मे पर्छ । दैलेख–नौमूले जोड्ने सडकको अवस्था पनि नाजुक छ ।

प्रकाशित : भाद्र ५, २०७४ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?