कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भवितव्यको सारथि

दुर्घटना, चोरीलगायत भवितव्यबाट सवारीसाधनमा क्षति पुगेपनि सम्पूर्ण नोक्सानी सवारीधनीले व्यहोर्नुपर्ने अवस्था अब हट्दै गएको छ । त्यस्ता सम्भावित नोक्सानीको जोखिम बहन गर्नकै लागि बिमा कम्पनी तयार छन् ।
यज्ञ बञ्जाडे

काठमाडौं — तपाईंले आफ्नो सवारीको बिमा गर्नु भएको छ ? कुन वा कस्तो प्रकारको बिमा गर्नुभएको छ ? तपार्इंले गरेको बिमाले केकस्ता जोखिम बहन गर्छन्? यस्ता धेरै विषयमा सबै सवारीधनीलाई जानकारी नहुन सक्छ । तर, यी पक्ष निकै महत्त्वपूर्ण हुन् ।

भवितव्यको सारथि

बिमा दुई पक्षबीचको सम्झौता हो । यसमा एक पक्ष बिमितले निश्चित रकम अर्को पक्ष बिमकलाई भुक्तानी गर्छ । यसकारण बिमालाई दुई पक्षबीचको करार पनि भनिन्छ । यस्तो करारबापत् बिमकले बिमितलाई आकस्मिक संकटबाट उत्पन्न हुने आर्थिक क्षतिबापत्को रकम भुक्तानी गर्छ । बिमामा एउटा पक्षको जोखिम अर्को पक्षलाई हस्तान्तरण गरिन्छ । त्यसैले यसलाई जोखिम हस्तान्तरण व्यवसाय पनि भनिएको हो । जीवन र निर्जीबन गरी बिमा दुई प्रकारका छन् ।

जीवन बिमाले मानवीय क्षतिबापत्को जोखिम सुरक्षण गर्छ भने निर्जीवन बिमाले बाँकी सबै प्रकारका सम्पत्ति, वस्तु तथा सेवालाई समेट्छ । उदाहरणका लागि तपाईंसँग गाडी छ । कुनै कारणबस गाडी दुर्घटनामा पर्‍यो । गाडीको क्षतिको मूल्यांकन गर्दा मर्मत गर्न ५० हजार रुपैयाँ लाग्ने भयो । यस्तो अवस्थामा गाडीको बिमा भएको छ भने उक्त क्षति सम्बन्धित बिमा कम्पनीले व्यहोर्छ । तर गाडीको बिमा गर्नु भएको छैन भने सम्पूर्ण नोक्सानी तपाईं आफैले व्यहोर्नुपर्छ । उल्लिखित घटनामा बिमा कम्पनीले क्षतिको ९० प्रतिशत हिस्सा व्यहोर्‍यो भने तपाईंलाई ५ हजार रुपैयाँ मात्र भार पर्छ । यो त दुर्घटनाको मात्र कुरो भयो । चोरी, प्राकृतिक प्रकोप, भवितव्यलगायत जुनसुकै कारणले सवारीसाधनमा क्षति पुगेको अवस्थामा पनि नोक्सानी कम्पनीले बहन गर्छ । यही कारण बिमा अपरिहार्य भएको हो । बिमा गर्दा त्यसले समेट्ने जोखिमबारे सबै सेवा तथा सर्तहरु राम्रो बुझी तिनको फाइदा–बेफाइदाबारे विश्लेषण गरेर मात्र अन्तिम निर्णय लिनु बुद्धिमानी हुनेछ ।

कहिले र कसरी गर्ने बिमा ?
बिमा गर्न बिमा कम्पनी वा तिनले तोकेका बजारमा धेरै एजेन्ट (सम्पर्क व्यक्ति) हुन्छन् । ती एजेन्टमार्फत् सवारी बिमा गर्न सकिन्छ । ग्राहकको सुविधाका लागि सवारीसाधन बिक्री गर्ने कम्पनीले पनि बिमा कम्पनीसँग ग्राहकको सम्पर्क गराइदिन्छन् । कुनै एक बिमा कम्पनीमा गएर आफ्नो सवारीसाधनको बिमा गर्न सकिन्छ । बिमा यही समयमा गर्नुपर्छ भन्ने निश्चित मिति हुँदैन । तपाईंले सवारीसाधन खरिद गरेपछि बिमा गर्नैपर्छ । सामान्यत: कम्पनीले पूर्ण र तेस्रो पक्ष गरी दुई प्रकारका बिमा गरेको पाइन्छ । विद्यमान कानुनले तेस्रो पक्ष बिमा अनिवार्य गरेको छ । यसकारण सबै सवारीधनीले तेस्रोपक्ष बिमा गर्नैपर्छ । बिमा समितिले भने धेरै वर्षअघि यो व्यवस्था गरेको थियो । तर त्यसको प्रभावकारी कार्यान्वयन भएको थिएन । पछिल्ला केही वर्षयता यातायात कार्यालयमा राजस्व बुझाउँदा बिमा गरेको कागजात अनिवार्य गरिएको छ । यस कारण बहुसंख्यक सवारीसाधनको तेस्रो पक्ष बिमा भएको पाइन्छ । तर पूर्ण बिमा अनिवार्य छैन, यो सवारीधनीको इच्छामा भर पर्छ ।

के हो तेस्रो पक्ष बिमा ?
बिमा गरिएको सवारीसाधनसँग सम्बन्धित तथा त्यस्तो सवारीसाधनमा यात्रा गर्ने व्यक्तिबाहेक अन्य बाहिरी व्यक्ति वा सम्पत्तिलाई समेटिएको बिमालाई तेस्रो पक्ष बिमा भनिन्छ । जस्तो, सडकमा गुडिरहेको सवारीसधानको दुर्घटना भएर अन्य मानिसको मृत्यु भएमा वा घाइते भएमा वा सम्पत्तिको क्षति भएमा त्यसको क्षतिपूर्ति उपलब्ध गराउन हुने प्रयोजनका लागि गरिने बिमा तेस्रो पक्ष बिमा हो ।नेपालमा यो बिमा हरेक सवारीधनीका लागि अनिवार्य गरिएको छ ।

शुल्क र आवश्यक कागजात
सवारीसाधन बिमाका लागि यति नै खर्च लाग्छ भन्ने निश्चित छैन । बिमा कम्पनीअनुसार बिमा शुल्क पनि फरक–फरक छ । बिमा योजना (पोलिसी)ले समेट्ने जोखिमअनुसार बिमा शुल्क निर्धारण गरिएको हुन्छ । यसकारण कति रकमको बिमा गर्ने भन्ने कुरा त्यसले समेट्ने जोखिममा आधारित हुन्छ । शुल्क निर्धारण भएपछि आफूलाई कहिले र कसरी भुक्तानी गर्दा सुविधा हुन्छ, त्यही अनुसार भुक्तानी विधि तय गर्न सकिन्छ । यसको अर्थ ग्राहकले आफ्नो सुविधाका आधारमा मासिक त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा बिमा शुल्क भुक्तानी गर्न सक्छन् । बिमा गर्न त्यति धेरै कागजात आवश्यक पर्दैन । सवारीसाधनको खरिद कागजात र सवारीधनीको आधिकारिक परिचयपत्रका आधारमा यस्तो बिमा गर्न सकिन्छ ।

नोक्सानी दाबी र भुक्तानी
कुनै कारणले सवारीसाधन वा तेस्रो पक्षमा क्षति पुग्यो भने दाबी भुक्तानीका लागि यथाशीघ्र बिमा कम्पनीलाई सूचना दिनुपर्छ । सूचना पाएपछि कम्पनीका प्रतिनिधिले दाबी भुक्तानीको प्रक्रिया सुरु गर्छन् । यस्तो समयमा कम्पनीले मागेका सबै कागजात पेस गर्नुपर्छ । सबै प्रक्रिया पूरा भएपछि कम्पनीले दाबी भुक्तानी दिन्छन् । बिमा गरिसकेपछि पोलिसीले समेट्ने जोखिमबापत्को क्षति नपाउने भन्ने हँुदैन । दाबी भुक्तानी भनेको बिमा कम्पनीको खर्च हो । जुनसुकै कम्पनीले पनि सकेसम्म खर्च कम गर्नै चाहन्छ । यसकारण कम्पनीले विभिन्न बाहनामा कम भुक्तानी गर्ने, ढिलो मात्र भुक्तानी गर्ने, कागजात नपुगेको बाहना गर्नेलगायत व्यवहार देखाउन सक्छन् । यस्ता समस्या आउनै नदिनका लागि ग्राहक सचेत बन्नुपर्छ । बिमा गर्नुअघि आफूले गरेको बिमाले के–कस्ता जोखिम समेट्छ ? यसका लागि के–कस्ता कागजात चाहिन्छ ? नोक्सानी भएको कति समयभित्र कम्पनीले सूचना गर्नुपर्छ ?यीलगायत सबै कागजात सुरक्षित र व्यवस्थित तरिकाले पेस गर्नुपर्छ । यसो भएमा कम्पनीले दाबी भुक्तानीमा आनाकानी गर्न सक्दैन । सबै प्रक्रिया पूरा भएपछि पनि आनाकानी गर्‍यो भने नियामक निकाय बिमा समिति तथा कानुनी प्रक्रियाका लागि अदालत पनि जान सकिन्छ ।

यात्रुलाई ५ लाखको बिमा
बिमा समितिले सवारीसाधनमा यात्रा गरिरहेका यात्रुको प्रतिसिट ५ लाख रुपैयाँ बराबरको बिमा हुने व्यवस्था गरेको छ । समितिले ‘मोटर बिमा दरसम्बन्धी निर्देशिका २०७३’ मार्फत् गत वर्षदेखि उक्त व्यवस्था लागू गरेको हो । यसअघि प्रतिसिट १ लाख रुपैयाँ बराबरको बिमा हुने व्यवस्था थियो । उक्त बिमांकको सीमाभित्र रहेर दुर्घटनामा मृत्यु भएका यात्रु, चालक परिचालहकहरुले किरिया खर्चबापत् ५० हजार रुपैयाँ पाउने व्यवस्था छ । यसैगरी, तेस्रो पक्षको दुर्घटनाबाट मृत्यु भएमा बिमांक ५ लाख रुपैयाँ र औषधोपचार गर्नुपरेमा ३ लाख रुपैयाँको सीमाभित्रको वास्तविक औषधोपचार खर्च कायम गरिएको छ ।

दुर्घटनाबाट चोटपटक लागेमा
दुर्घटनाबाट चोटपटक लागेमा औषधि उपचारका लागि अधिकतम बिमांक सीमा ३ लाख रुपैयाँ कायम गरिएको छ । बिरामी कुरुवाका लागि सम्बन्धित पक्षले प्रतिदिन ५ सयका दरले ४५ दिनसम्मको रकम भुक्तानी गर्नुपर्ने व्यवस्था समितिले गरेको छ । अंगभंग तथा औषधि उपचार दुवैको अवस्था सिर्जना भएमा माथि उल्लिखित सीमाभित्र छुट्टाछुटै रही दाबी कायम हुने कानुनी व्यवस्था छ ।

एम्बुलेन्स खर्च पनि
नयाँ व्यवस्थाअनुसार चोटपटक लागेर अंगभंग भई अस्पताल पुर्‍याउनुपर्ने अवस्था भएमा एम्बुलेन्स खर्च १० हजार रुपैयाँसम्म बिमा कम्पनीले व्यहोर्नुपर्छ । यसका लागि ‘एम्बुलेन्स’ भन्नाले सवारीसाधन दुर्घटना भई सोमा सवार यात्रु, चालक, सहचालक, हेल्पर तथा तेस्रो पक्ष व्यक्ति घाइते, अंगभंग तथा मृत्यु भई अस्पताल पुर्‍याउन प्रयोग हुने एम्बुलेन्सको नाममा दर्ता भएको साधन वा सो तत्कालउपलब्ध हुन नसकेमा अन्य कुनै सवारीसाधन वा अन्य यस्तै अस्पताल पुर्‍याउने साधन भनी परिभाषित गरिएको छ ।

प्रकाशित : भाद्र १३, २०७४ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?