कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘आयोग प्रतिवेदन त्रुटिपूर्ण’

महेन्द्रनगर — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचन क्षेत्र निर्धारण आयोगले पेस गरेको प्रदेशसभा र संसद्को क्षेत्र निर्धारण कार्यविधि त्रुटिपूर्ण रहेको बताएका छन् ।

‘आयोग प्रतिवेदन त्रुटिपूर्ण’

उनले क्षेत्र निर्धारण गर्दा जनसंख्या र भूगोललाई सन्तुलित आधार बनाउन नसकेको आरोप लगाए । ‘क्षेत्र निर्धारण गर्दा भूगोल गौण हुन पुगेको छ,’ महेन्द्रनगरमा आइतबार उनले भने, ‘प्रतिवेदन अवैज्ञानिक र संविधानको मर्मअनुसार छैन ।’ उनले सुदूरपश्चिमका बझाङ र बैतडीजस्ता कतिपय ठूला जिल्ला जनसंख्याको कमीले गर्दा प्रतिनिधित्वविहीन हुन पुगेको तर्फ आयोगको ध्यान नगएको उल्लेख गरे । 
अध्यक्ष थापाले एकै चरणमा मंसिर १० गते प्रदेश र संसद्को निर्वाचन गर्ने पूर्वनिर्णयलाई ९ दिनमै बदलेर २ चरणमा गर्ने निर्यणप्रति आपत्ति प्रकट गरे । ‘दुई चरणमा निर्वाचन गर्दा ११ दिनसम्म मतपेटिकाको सुरक्षा कसरी गर्ने र स्वतन्त्र तथा निष्पक्ष निर्वाचनको विश्वसनीयता कसरी कायम गर्ने भन्नेबारे निर्वाचन आयोगले विचार पुर्‍याउनुपर्छ,’ उनले भने । एक फरक प्रसंगमा उनले मुलुकमा भएका घटनाक्रमहरूलाई हेर्दा देश दुई राजनीतिक ध्रुव र कित्ताका बीचमा देखिएको बताए । उनले आगामी निर्वाचन पनि आत्मसमर्पणवादी मानसिकताका पक्षधर र राष्ट्रवादी विचारका बीचमा हुने दाबी गरे । 

 

प्रकाशित : भाद्र १९, २०७४ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?