कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बार्सिलोना र पीएसजीको जित

च्याम्पियन्स लिग
एएफपी

पेरिस — बार्सिलोनाले युभेन्ट्सलाई ३–० ले पराजित गर्दै युरोपेली च्याम्पियन्स लिग फुटबलमा सुखद सुरुआत गरेको छ । मंगलबार खेलमा बार्साका फरवार्ड लियोनल मेसीले दुई गोल गरे ।

 बार्सिलोना र पीएसजीको जित

बार्सासँगै युरोपका अन्य ठूला क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी), म्यानचेस्टर युनाइटेड र चेल्सी पनि विजयी रहे ।
समूह ‘डी’ मा रहेको बार्सिलोनाको जितमा मेसीले दुवै हाफमा १–१ गोल गरेका थिए । इभान राकेटिचले पनि बार्सिलोनाका लागि एक गोल थपे । उक्त समूहको अर्को खेलमा पोर्चुगलको स्पोर्टिङ लिस्बनले ग्रिसको ओलम्पियाकोसमाथि ३–२ को नतिजा निकाल्यो ।
बार्सिलोनाबाट पीएसजी पुगेका ब्राजिली स्टार नेयमर चम्किएपछि फ्रान्सेली टोलीले स्कटिस च्याम्पियन सेल्टिकलाई ५–० ले पराजित गर्‍यो । नेयमरको गोलमा अग्रता लिएको पीएसजीका लागि पहिलो हाफमै किलियन एमबाप्पे र एडिन्सन काभानीले गोल गरेका थिए । दोस्रो हाफमा पनि काभानीले एक गोल थप्दा सेल्टिकका मिकेल लुस्टिगले आत्मघाती गोल गरे । पीएसजीसँगै समूह ‘बी’ को जर्मन च्याम्पियन बायर्नले बेल्जियन क्लब आन्द्रेलेक्टलाई ३–० ले हरायो । उसको जितमा रोबर्ट लेवान्डोस्की, थियागो अलाकान्ट्रा र जोसुआ किमिचले गोल गरे ।
समूह ‘ए’ मा इङलिस क्लब म्यानचेस्टर युनाइटेडले बासेललाई ३–० ले हरायो । मिडफिल्डर पाउल पोग्बा घाइते भएपछि उनको स्थानमा मैदान छिरेका मराउने फेलानीले युनाइटेडलाई अग्रता दिलाए । दोस्रो हाफमा मार्कस रसफोर्ड र रोमेलु लुकाकुले गोल थपेका थिए । सोही समूहमा रसियाली सीएसकेए मस्कोले १ गोल पछि परेको स्थिति उल्टाउँदै पोर्चुगलको च्याम्पियन बेन्फिकालाई २–१ ले पराजित गर्‍यो ।
मंगलबार फराकिलो जित हात पर्ने क्रममा प्रिमियर लिग च्याम्पियन चेल्सीले काराबागलाई ६–० ले हरायो । पहिलो हाफमा पेड्रो रोड्रिग्वेज र डाभिड जापाकोस्टाले चेल्सीलाई दुई गोलको अग्रता दिलाएका थिए । दोस्रो हाफमा सेजार एज्पिलिक्वेटा, टिमोए बाकायोको र मिसी बासुआईले गोल गर्दा माक्सिम मेदभेदेभले आफ्नै पोस्टमा गोल छिराए । उक्त समूहका अन्य दुई टोली एएस रोमा र एटलेटिको म्याड्रिडले गोलरहित बराबरी खेले ।

 

प्रकाशित : भाद्र २९, २०७४ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?