यस्तो होस् राज्य सञ्चालनको शैली

देशमा गणतन्त्र आएपछि नेपालीको मुहार फेरिएको होस् । शिक्षा, स्वास्थ्यजस्ता संवेदनशील क्षेत्र राज्य नियन्त्रित होस् । देशको जलसम्पदाको भरपुर उपयोग होस् ।

जल उत्पादनमा लगानी गरी उत्पादित विद्युत एसियाली मुलुकमा बेच्न पाइयोस् । देशको कृषिभूमि व्यावसायिक खेतीका लागि राज्यले लगानी गरी रोजगारीको सिर्जना गरोस् । वैदेशिक रोजगारीमा गएकाहरू देशमै स्वरोजगार बनुन् । देशमा भोकानाङ्गा कोही नहुन् । पूर्व–पश्चिम रेल दगुरोस् । पर्यटन क्षेत्रको विकास होस् । भ्रष्टाचारी र अपराधीले तत्काल सजाय पाओस् । न्यायसेवा जनताको पहुँच र द्रुत होस् । राष्ट्रसेवक कर्मचारी आफ्नो काम र दामप्रति सन्तुष्ट होउन् । देशको कार्यकारी प्रमुख ५ वर्षसम्म पदमा रहोस् । प्रत्यक्ष निर्वाचन प्रणाली होस् । जनतालाई ‘नो भोट’को अधिकार होस् । कोही कसैबाट नठगिउन् । सेवाग्राहीले तुरुन्त सेवा पाउन् । उपचार नपाएर कोही मर्न नपरोस् । वृद्धवृद्धा, अपाङ्ग, अशक्त, विधवा, विदुर आदिले दु:खानुभूति नगरुन् । देशमा प्राकृतिक प्रकोपका बेला सबैको सहयोग होस् र तुरुन्त राहत मिलोस् । दण्ड र पुरस्कारको व्यवस्था होस् । कर्मचारीको यथोचित बढुवा होस् । कृषिका लागि सिंचाइको व्यवस्था होस् । सडक, बिजुली, खानेपानी, सञ्चारको उचित व्यवस्था होस् । ढल–नलको उचित प्रबन्ध होस् । छिमेकीसँगको सम्बन्ध सन्तुलित होस् । न्याय पाउँ भनी अनशन बस्न नपरोस् । स्रोत र साधनको उचित संरक्षण र उपयोग होस् । प्रतिभावान व्यक्तिको सम्मान होस् । कानुनको पालना सबैबाट होस् । तर विडम्बना, राज्य यी सबै परिस्थितिको उल्टो हिँडिरहेको छ ।
– कुसुम न्यौपाने
मध्यबिन्दु–११, नवलपरासी

प्रकाशित : भाद्र २९, २०७४ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्

त्रिविको पुन:संरचना आवश्यक

‘त्रिविको पुन:संरचना आवश्यक’ सौगात भट्टराईले लेख्नुभएको प्रतिक्रियामा केही कुरा थप्न मन लाग्यो । राष्ट्रकै गौरव बोकेको विश्वविद्यालयको भौतिक पुन:संरचनाको साथै व्यवस्थापकीय सुधार पनि अति आवश्यक देखिन्छ ।

विश्वविद्यालयको व्यवस्थापकीय पक्ष कति कमजोर छ, त्यो यहांँ लेखिरहनु आवश्यक छैन । सबै प्राज्ञ वर्गलाई अवगत नै छ । यसमा त्रिवि नेतृत्वको ध्यान जानु आवश्यक छ । अझ मैले उठान गर्न खोजेको हालै हुनगइरहेको दीक्षान्त समारोहमा दीक्षित हुने विद्यार्थीले फर्म भर्दा पाएको सास्तीको विषय हो । देशकै पहिलो विश्वविद्यालयको यो व्यवस्थापन पक्षलाई हेर्दा हामी र हाम्रो प्राज्ञिक स्तर कहांँ रहेछ, सजिलै बुझ्न सकिन्छ । देशकै यति ठूलो संस्थामा अनलाइनबाट फर्म भरेर बुझाउने र जुनसुकै बैंकमार्फत रकम बुझाउने एउटा यति सानो पद्धतिको विकास त गर्न सकिन्छ नि ? एउटा जावो फर्म भर्न दिनभर माया मार्नुपर्ने के कसैको पनि काम हुँदैन ? त्यसै त विद्यार्थी वर्गलाई काठमाडौंमा बाँच्न धौधौ भइसक्यो । यो भदौको घाममा विद्यार्थीहरू कहिले यता लाइन बस कहिले उता लाइन बस । यो संस्थाप्रति विद्यार्थीले गौरव गर्ने ठाउँ खै ? हुन त त्रिवि नेतृत्व वर्गलाई कहाँ फाइदा हुन्छ, कुन नेताको पछाडि लाग्ने ? यिनीहरूलाई नेताको चाकडी गर्नै फुर्सद छैन । विद्यार्थीको सुविधा र त्रिविको सुधारको लागि सोच्ने समय पनि छैन । 
– उद्धव सापकोटा
काठमाडौं

प्रकाशित : भाद्र २९, २०७४ १०:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्