चक्रपथ यातायातमा ठगी !

काठमाडौंं बाहिर जाने सिलसिलामा बस टिकट खरिद गर्न भदौ २७ मा नयाँ बसपार्क जाँदै थिएँ । ललितपुरको ग्वार्कोबाट महानगर बससेवा लेखिएको तर पुरानो बा.२.ख.४६५३ नंं.को चक्रपथमा चल्ने बसमा यात्रा गरी बिहान ६.३० बजे नयाँ बसपार्क पुगेंँ ।

बस भाडा तिर्न मेरो ज्येष्ठ नागरिकको प्रमाणस्वरूप परिचयपत्रका साथ २० रुपैयाँ दिएँ । हुन त ९ रुपैयाँमात्र लिनुपर्ने भए तापनि १० रुपैयाँ नै लिने प्रचलन छ क्यारे । केही बेरसम्म प्रतीक्षा गरी मलाई १० रुपैयाँ फिर्ता खोइ त भनी माग्दा बसका सहचालकले आँखा तर्दै झर्केर कार्डसहित २० रुपैयाँ नै हो भनी पैसा फिर्ता गर्न मानेनन् । मैले पुन: फिर्ता रकम माग गर्दा गालीगलौज गर्दै गयो । मलाई साह्रै उदेक लाग्यो र तुरुन्तै १०३ नंंं.मा फोन गरी सबै वृत्तान्त बताएँ र कारबाही गरी मेरो मोबाइलमा जानकारी गराउन अनुरोध गरेंँ । तर बेलुकासम्म कारबाही भए/नभएको खबर नपाएपछि पुन: ट्राफिक प्रहरीलाई कारबाहीको अनुरोध गर्दै टेलिफोन गरेंँ । त्यसको पृष्ठपोषण प्राप्त भएको छैन । कुरो अर्थात रकम २० रुपैयाँ थोरै हो, तर नियत कति खराब हो ? म जस्तो सचेत नागरिकलाई त यसरी ठगी गर्ने बसले सोझासिधा यात्रीलाई कति ठग्लान् ? त्यसकारण रकम थोरैभन्दा पनि खराब आचरण र अन्यायलाई निरुत्साहित गर्नैपर्ने देख्छु ।
– गंगाराज अर्याल
ग्वार्को, ललितपुर–१७ 

प्रकाशित : भाद्र २९, २०७४ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्

ढुक्कसँग घर जाने कसरी ?

छिनछिनमा नारायणगढ–मुग्लिन सडक बन्द भयो र खुल्यो भन्ने समाचार पढ्दै गर्दा दसैंमा घर जाने सपना कतै तुहिने त होइन भन्ने डर कताकता पलाइरहन्छ ।

मंगलबार बेलुका सुख्खा पहिरो खसेपछि अवरुद्ध बनेको सडक केही छिनमै फेरि सुचारु भएको छ भन्ने खबर सुन्दा खुसी हुनुपर्ने कुनै ठाउँ त छैन, तर पनि दसैंमा घर जान पाइने भयो भन्ने खुसी हुने रै’छ मन । चितवन जिल्ला प्रहरी कार्यालयमा फोन गरेर बुझेपछि बल्ल ढुक्क भइयो । प्रहरीले रातभरि पहिरो पन्छाएर राति १ बजेदेखि सडक सुचारु गरेछन् । मंगलबार साँझ ७:४० बजे चट्टानसहितको पहिरो खसेर सडकमा गुडिरहेको ट्रकमा सामान्य क्षति पुगेको थियो । वर्षौंदेखि लगातार बनिरहेको उक्त सडकमा काम पूरा नहुने हो कि पूरा गर्न नचाहेको हो, केही बुझ्न सकिएन । पानी पर्दा हिलो, पहिरो, पानी नपर्दा सुख्खा पहिरो खसेर ज्यानको बाजी लगाएर घर जानुपर्ने समस्या कहिलेसम्म हो, सरकार ?
– लक्ष्मण आचार्य
बर्दघाट–१३, नवलपरासी

प्रकाशित : भाद्र २९, २०७४ १०:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्