कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खानेपानी हाहाकार

प्रदीप मेन्याङ्बो

धरान — उपमहानगर ७, शान्तिपथकी गंगा मास्केले ढलसँगै विस्तार गरिएको खानेपानी पाइपको टुटीबाट झरेको पानी प्लास्टिकको बोतलमा संकलन गरी गुजारा चलाएको दुई साता भयो ।

 खानेपानी हाहाकार

उनकै टोलका विनय गुरुङ, खुसी कार्की, सोनी खातुनलगायत उपभोक्ताले बिहानै यसैगरी पानी जोहो गरी गर्जाे टार्ने गरेका छन् । खानेपानी संस्थानले ४० वर्षअघि विस्तार गरेको पाइपबाट चुहिएको पानी संकलन गरी पानीको जोहो गर्नुपर्ने बाध्यता आएसँगै यहाँका बासिन्दा आक्रोशित बनेका छन् ।
ढलभित्र भएर विस्तार गरिएको पाइपबाट प्लास्टिकको बोतलमा पानी संकलन गरिरहेकी मास्केले भनिन्, ‘सुक्खा मौसम भए त ठीकै थियो । मुहानमै पानी कम भएपछि संस्थानले खानेपानी अभावले वितरण गर्न सकेन भनेर सहँदै बसेका थियौं । तर यसपटक त बिजोगै भयो ।’ यसपालिको बर्खामा मुहानमा केही क्षति पुगेको थिएन । कतै बाढी, पहिरोले पाइप बगाएको थिएन । तर पनि स्थानीयले सुक्खायाम सुरु हुनु ५ महिनाअघि नै खानेपानीको हाहाकार बेहोर्नुपरेको हो । स्थानीय विनय गुरुङले भने, ‘पानी अभावले खाना पकाउन पनि मुस्किल भएको छ । चाडबाड आउन लाग्यो, घर सफाइ गर्न, नुहाउन, लुगा धुन के गर्ने होला ?’
संस्थानले शान्तिपथमा पानी वितरण नगरेको साता नाघिसकेको छ । उपभोक्ताले पटकपटक कार्यालयमै पुगेर गुनासो गरेका छन् । तर, सुनुवाइ भएको छैन । संस्थानले पानी अभाव भएर वितरण नगरेको होइन । कतै दिनभर खेर गइहरेको देखे पनि चुपचाप नदेखेझैं गरिन्छ । दैनिक ४० प्रतिशत पानी चुहावट हुने गरेको रिपोर्ट संस्थानले पहिल्यै सार्वजनिक गरे पनि रोक्न कुनै पहल नभएको उपभोक्ताले बताए ।
संस्थानका प्रमुख शैलेन्द्र साहले यो सिजनमा पानी अभाव नहुने बताए । ‘भए पनि केही प्राविधिक समस्याले त्यस्तो भएको हो,’ उनले भने, ‘सदुखर्दुको मुहानबाट कात्तिकसम्म दैनिक अढाइ करोड लिटर पानी ल्याउने गरेका छौं । संस्थानको इन्टेक भएको क्षेत्रमा राति पानी पर्ने गरेको छ । त्यसले भल बाढी बगाएर इन्टेकमा जम्मा गरिदिने भएकाले सफाइ र वितरणमा समस्या आएको हो ।’ उनले समस्या समाधान चाँडै गर्ने आश्वासन दिए । 

 

प्रकाशित : भाद्र २९, २०७४ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?