कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मतपरिणाम धमाधम

महोत्तरी — जलेश्वरमा राजपा र बर्दिबासमा माओवादी केन्द्र विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जलेश्वरको मेयरमा राजपाका रामशंकर मिश्र विजयी भएका हुन् ।

 मतपरिणाम धमाधम

उनले ५ हजार १ सय ८० मत प्राप्त गरे । निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक फोरमका सुरेश साह सोनारले ३ हजार ३ सय ६२ मत ल्याए । उपमेयरमा ४ हजार ५ सय ६६ मत प्राप्त गरी राजपाकै मुनचुन देवी विजयी बनिन् । उनकी निकटतम् प्रतिद्वन्द्वी अनिता शर्माले २ हजार ७ सय १७ मत ल्याइन् । 

यस्तै बर्दिबास नगरपालिकाको मेयरमा ९ हजार १ सय ८७ मत प्राप्त गरी माओवादी केन्द्रका विदुर कार्की विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी प्रह्लाद क्षत्रीले ८ हजार १ सय ७० मत प्राप्त गरे । उपमेयरमा माओवादी केन्द्रकै कृष्णमाया गौतम (सुशीला) विजयी बनिन् । उनले ८ हजार ८ सय ३५ मत ल्याइन् । कांग्रेसकी तारादेवी महतोले ७ हजार २९ मत प्राप्त गरेको निर्वाचन अधिकृत मणिराज न्यौपानेले बताए । १५ स्थानीय तह रहेको महोत्तरीमा १३ तहको मतपरिणाम घोषणा भइसकेको छ । राजपाले ५, माओवादी केन्द्रले ४, कांग्रेसले ३ र संघीय समाजवादी फोरमले १ तहमा जित निकालेका छन् । 
सप्तरीमा कांग्रेस र संघीय फोरम 
सप्तरीका १८ स्थानीय तहमध्ये १३ को नतिजा सार्वजनिक भएको छ । कांग्रेस र संघीय समाजवादी फोरम ४–४ स्थानमा विजयी बनेका छन् । राजपा नेपालले ३ स्थानमा जित हात पारेको छ । एमाले र नयाँ शक्तिले एक–एक स्थानमा जिते हात पारे । 
विष्णुपुर, बेल्ही चपेना र अग्निसाइर कृष्णासवरण गाउँपालिका तथा सुरुङ्गा नगरपालिकामा कांग्रेसले जित हात पारेको हो । सुरुङ्गा नगरपालिकाको मेयरमा कांग्रेसका मुक्तिनाथ चौधरीले ५ हजार २ सय ७९ मत पाए । प्रतिद्वन्द्वी एमालेका रामनारायण चौधरीले ५ हजार ६९ मत पाए । उपप्रमुखमा कांग्रेसकी बिन्दा पासवानले ५ हजार ३६ मत ल्याइन् । निकटतम् प्रतिद्वन्द्वी एमालेकी सविना डोटेलले ५ हजार ४ मत पाइन् । 
छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा नयाँ शक्ति पार्टीका सूर्यनारायण मण्डल कुरुड २ हजार ८ सय ५ मत पाएर विजयी भए । प्रतिद्वन्द्वी राजपाकी विमलदेवी यादवले १ हजार ३ सय ८५ मत पाइन् । उपाध्यक्षमा राजपाकी उषादेवी मण्डल १ हजार ७ सय १० मतका साथ विजयी भइन् । प्रतिद्वन्द्वी नयाँ शक्तिकी प्रमिला साहले १ हजार ५ सय ८० मत पाइन् । 
राजविराजको गणना अनिश्चित
राजविराज नगरपालिकाको मतगणना शुक्रबार रातिदेखि रोकिएको छ । वडा १ को गणना जारी रहँदा निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामभन्दा राति सार्वजनिक गरेको परिणाम कम भएपछि विवाद भएर गणना रोकिएको हो । मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले सूचना टाँस गरी अर्को सूचना नभएसम्म गणना स्थगित गरेको उल्लेख गरेका छन् । ‘अब राजविराजको मतगणना गराउन म सक्दिनँ,’ कोइरालाले भने,‘आयोगले छुट्टै टोली पठाएर गणना गराओस् । मैले आयोगलाई भनिसकेको छु ।’ 
धनुषामा मिश्रित परिणाम
धनुषा– आफ्नो प्रभाव क्षेत्र मानिएको लक्ष्मीनियाबाट कांग्रेसले पराजय भोग्नुपरेको छ । यहाँ संघीय समाजवादी फोरम विजयी भएको छ । पूर्वराष्ट्रपति रामवरण यादवका भतिजा समिर स्वतन्त्र उम्मेदवार भएपछि कांग्रेसका कुमरकान्त झाले हार व्यहोर्नुपरेको छ । कांग्रेसका झा ८ सय ४४ मत अन्तरले संघीय समाजवादी फोरमका विन्देश्वर यादवबाट पराजित भएका हुन् । 
नगराइन नगरपालिकामा भने कांग्रेसले जित हासिल गरेको छ । मुखियापट्टी पुसरनियामा असफल भएको छ । कांग्रेसको पकड मानिएको मिथिला नगरपालिकामा एमाले विजयी भएको छ । कांग्रेसबाट बागी भएर राजाराम महतो स्वतन्त्र उम्मेदवार बनेका थिए । कांग्रेसका राजकुमार महतो एमालेका हरिनारायणबाट पराजित भए । राजकुमार १ हजार ५ सय ६२ मतले पराजित हुँदा स्वतन्त्र उम्मेदवार राजरामले ३ हजार ५ सय ३ मत ल्याएका थिए । उनले कांग्रेसकै मत काटेका थिए ।
धनुषामा १८ स्थानीय तहमध्ये कांग्रेसले ७ तहमा चित्त बुझायो । पार्टीभित्रको गुट र कलहका कारण कांग्रेसका बलिया उम्मेदवारले पनि हारको सामना गर्नुपरेको विश्लेषण गरिएको छ । धनुषामा कांग्रेस ७, एमाले ४, संघीय समाजवादी फोरम २ र माओवादी केन्द्र २ तहमा विजयी भएका छन् । राजपाले एक तहमा जित हासिल गरेको छ । 
कलहले माओवादी पछि
राजविराज– दोस्रो संविधानसभा निर्वाचनमा सप्तरीका ६ क्षेत्रमध्ये १, २ र ३ मा माओवादी उम्मेदवारले प्रत्यक्ष रूपमा चुनाव जितेका थिए । तर, यसपालि स्थानीय तह निर्वाचनमा माओवादीको अवस्था शून्य छ ।
जम्मा १८ तहमध्ये शनिबार साँझसम्म घोषित १४ तहको नतिजामा माओवादी केन्द्रले एक स्थानमा पनि प्रमुख–उपप्रमुख जितेको छैन । बाँकी तहमा समेत कतै दोस्रो नम्बरमा पनि छैन । राजविराजको गणना रोकिएको छ । स्थानीय निर्वाचनमा माओवादी कमजोर हुनुको मूल कारण आन्तरिक कलह देखिएको छ । एक जिल्लास्तरका माओवादी नेताका अनुसार सांसदद्वय उमेशकुमार यादव र अशोककुमार मण्डलबीचको रस्साकसीका कारण माओवादीको अवस्था जिल्लामा कमजोर भएको हो । 
दोस्रो संविधानसभा निर्वाचनपछि संगठनको गतिविधि शून्यजस्तै हुनु, चुनावका बेला टिकट लिन अंशबण्डा खोज्नु, उम्मेदवार चयन गर्दा ध्यान पुर्‍याउन नसक्नु हारको प्रमुख कारण भएको यादवको विश्लेषण छ । ‘हाम्रो पार्टीको अनपेक्षित परिणाममा आन्तरिक कारण नै प्रधान छ, बाहिरी कारण त सहायक मात्र हो,’ उनले भने, ‘गुटगत प्रवृत्ति हाबी हुनुले चुनावमा अपेक्षाअनुरूप परिणाम आउन सकेन ।’ 
चुनाव अति नै महँगो भएका कारण पनि जितनजिक पुगेर सफलता प्राप्त गर्न नसकिएको माओवादी नेताको भनाइ छ । पूर्वमन्त्री यादवले भने, ‘चुनाव धेरै महँगो भयो, पुँजीपतिका लागि मात्र चुनाव लड्न सक्ने देखियो, हाम्रा उम्मेदवार गरिब समुदायका भएकाले पनि चुनाव जित्न सकेनन् ।’ अन्तर्घातका कारण पनि पार्टीले जित्न नसकेको उनले बताए । ‘आफनो पार्टीबाट वडाध्यक्ष नछोड्ने अर्को पार्टीमा वडा सदस्य भए नि हुने प्रवृत्तिका केही कार्यकर्ता पनि देखिए,’ उनले भने । 
माओवादी सप्तरीका इन्चार्जसमेत रहेका सांसद अशोककुमार मण्डल चुनावमा अन्य पार्टीले पैसाको प्रलोभनमा भोट किनेकाले माओवादीले जित्न नसकेको बताउँछन् । उनले भने, ‘अरू कारणभन्दा पनि आर्थिक चलखेलका कारण माओवादी पराजित भएको हो, स्वच्छ तरिकाले चुनाव भएन, जनतालाई आर्थिक प्रलोभनमा पारी मत किन्ने कार्य भयो ।’ 
नयाँ शक्तिलाई चिठ्ठा
नयाँ शक्ति पार्टीले जिल्लाको एक गाउँपालिका प्रमुख पद हात पारेको छ । भारतसित सीमा जोडिएको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा सूर्यनारायण मण्डल कुरुड विजयी भएका हुन् ।

प्रकाशित : आश्विन ८, २०७४ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?