कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुक्खा पहिरोमा तीनको मृत्यु

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सडक खण्डमा शनिबार बिहान खसेको पहिरोले ट्रक र कार पुरिँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते छन् ।

 सुक्खा पहिरोमा तीनको मृत्यु

पहिरोमा पुरिएर मृत्यु हुनेमा लु१च ७९९४ नम्बरको कारका चालक गुल्मी बलेटक्सारका २४ वर्षीय यमबहादुर ज्ञवाली, ना३ख ६१९१ नम्बरका ट्रक चालक तिनाउ गाउँपालिका–५ का माधव राना र कारमा सवार रुरु गाउँपालिका गुल्मीका ५१ वर्षीय तिलकराम भण्डारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । रुरु गाउँपालिकाकी ४२ वर्षीया राधिका भण्डारी घाइते छिन् ।
राति १ बजे खसेको पहिरो हटाएर एकतर्फी सडक सुचारु भएको केहीबेरमै पुन: ठूला ढुंगासहित खसेको पहिरोले दुई सवारीसाधन पुरिनुका साथै तीन जनाको ज्यान लिएको हो । ठूला ढुंगा खसेकाले केही समय पुन: राजमार्ग अवरुद्ध भए पनि एकतर्फी खुलेको ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यले बताए ।
शनिबार मध्यरात दोभान बजार नजिकै सिद्धार्थ राजमार्गमा पहिरो खस्दा ९ बजेपछि मात्रै आवागमन खुलेको थियो । सडक अवरुद्ध भएपछि पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ र पर्वतलगायतका सवारीसाधन बुटवल जान सकेका थिएनन् । सवारीसाधनको अत्यधिक चाप भएकै बेला पुन: पहिरो खसेको हो । दसैंका बेला घर जान हिँडेका यात्रुहरू नौ घण्टादेखि बाटोमै अलपत्र परेका थिए ।
सिद्धबाबामा सधैं त्रास
सुक्खा होस् वा वर्षा कुनै पनि बेला सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्ड पहिरोले दैनिकजसो अवरोध हुने गरेको छ । सडक डिभिजन क्याम्प झुम्सा, तानसेन, बुटवलबाट डोजर गएर सडकको पहिरो र ढुंगा हटाएर सडक खुलाउने नियमित कार्य नै भएको छ ।
असारपछि कात्तिकसम्म यही अवस्था हुन्छ । दैनिक दुई/तीन घण्टा सडक अवरुद्ध नभएको दिन नै हुँदैन । असार, साउन, भदौ, असोजसम्म झुम्सादेखि चिडियाखोलासम्म कहाँ पहिरो खस्छ थाहा हुँदैन । सिद्धबाबा क्षेत्रमा अत्यधिक पहिरो खस्छ । सुक्खा र पानी पर्दा जतिबेला पनि यहाँ खतरा नै हुन्छ । ‘जतिबेला पनि त्रासमय यात्रा नै हुन्छ,’ तानसेन–बुटवल सडक खण्डका बस चालक दीपक न्यौपानेले भने, ‘सधैं डराउँदै डराउँदै चलाउनुपर्छ ।’
बिहान, दिउँसो, बेलुकी जुनसुकै बेला एक/दुई घण्टासम्म यात्रुले सास्ती पाउने गरेको उनले बताए । माथिबाट खस्ने ढुंगा र पहिरोले बस, जिप, साना सवारीमा क्षति पुग्ने गरेको छ । बर्सेनि यहाँ ढुंगा खस्दा १० जनाभन्दा बढीको मृत्यु हुने गरेको तथ्यांकले देखाउँछ । जेठयता तीन जनाले ज्यान गुमाइसकेका छन् । ‘डुम्रेबाट बुटवल नपुग्दासम्म रामराम भन्दै मनले भगवान् पुकारेर हिँड्नुपर्छ,’ मोटरसाइकल चालक विमल घिमिरेले भने । उनी मात्र होइन, हरेक मोटरसाइकल चालक, जिप, बस, ट्रक चालकले ज्यानलाई जोखिममा राखेर यात्रा गर्नुपर्छ ।
झुम्सादेखि चिडियाखोलासम्मको क्षेत्र ९ किलोमिटरमा ठूला घटना भएका छन् । विगत १५ वर्षको तथ्यांक हेर्ने हो भने तानसेन–बुटवल ३८ किलोमिटर सडकमा ३ सयभन्दा बढीले ज्यान गुमाएका छन् । ट्राफिक र प्रहरीका अनुसार ७ सयभन्दा बढी घाइते र अंगभंग भएका छन् । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यले भने, ‘सुरुदेखि नै सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र दुर्घटनाग्रस्त
क्षेत्र देखिन्छ ।’
कुनै वर्ष ठूलै दुर्घटना भएका छन् । प्राविधिकहरूका अनुसार माटोको पत्रले अड्याएको चट्टाने भीर खोस्रेर सडक बनाउनु नै समस्या हो । ढुंगा खसेर खाल्डाखुल्डी बढी हुन्छ । सवारी साधन तीव्र गतिमा गुडाउन सक्दैनन् । ‘विस्तारै गुडाउँदा माथिबाट खस्ने ढुंगा र पहिरोले च्याप्छ,’ चालक कृष्ण रानाले भने । सडकमा भएका खाल्डाखुल्डी, माथिबाट खस्ने पहिरो र उबडखाबडकै कारण यहाँ धेरैले ज्यान गुमाएका छन् । क्षमताभन्दा बढी भार बोकेका सवारी साधनहरू गुड्नु, भूक्षय तथा पहिरो नियन्त्रण हुन नसक्नु प्रमुख कारण हुन् । यातायात व्यवस्था कार्यालयले क्षमताभन्दा बढी भार भएका सवारी सञ्चालन गर्न दिन नहुने स्थानीय तिनाउ, २ दोभानका विष्णुप्रसाद पाण्डेयले बताए । सिद्धार्थ लोकमार्गको विकल्प नभएर सडक अवरुद्ध हुँदा अर्घाखाँची, गुल्मी, स्याङजा, कास्की, बागलुङ, पर्वत, मुस्ताङ र म्याग्दी जिल्ला प्रभावित हुन्छन् ।
डिभिजन सडक कार्यालयका सूचना अधिकारी पवित्रमणि आचार्यका अनुसार सम्भावित खतरालाई मध्यनजर गर्दै डोजर र स्काभेटरलाई पहुँचमै राखिएको छ । उनले भने, ‘बुटवलको चिडियाखोला र दोभानतर्फ पूर्ण तयारी अवस्थामा बाटो रोकिएमा सफा गर्ने साधन राखिएको छ ।’ सिद्धबाबा क्षेत्रको ट्राफिक व्यवस्थापन र डोजर अपरेटरलाई दोभान प्रहरीले परिचालन गर्छ । प्रहरी त्यस क्षेत्रमै हुने भएकाले पहिरो खस्न सुरु गरेको अवस्था वा जोखिम अनुभव भएमा तत्काल सवारी रोकिने दोभान प्रहरी चौकीले जनाएको छ ।

प्रकाशित : आश्विन ८, २०७४ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?