कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

ग्रामीण सडक अवरुद्ध

डोटी — वर्षायामभरि अवरुद्ध ग्रामीण सडक दसैंतिहारलाई मध्यनजर गरी खोलिएको केही दिनमै पुन: वर्षा हुँदा यातायात रोकिएका छन्। बिहीबारदेखि लगातार परेको पानीले पुन: सडक अवरुद्ध हुँदा ग्रामीण भेगतिर आउजाउ असहज भएपछि स्थानीय निराश छन्।

दसंैतिहारका लागि घर फर्किएका गाडी नचल्दा सास्ती भइरहेको दु:खेसो गरिरहेका छन्। सहजपुर–बीपीनगर–बागछेडा र बुडर–बीपीनगर सडकमा सातायता बस गुड्न सुरु भए भए पनि अहिले आउन जान सकेका छैनन्। वर्षाले पहिरो गएको, ठाउँ–ठाउँमा हिलाम्य भएकाले सवारी चल्न नसकेका हुन्। बड्डीकेदार गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दले गाउँपालिकाको लगानीबाट सडक मर्मत तथा सरसफाइ गरी सहजपुर–बीपीनगर–बागछेडा सडकमा बस ल्याइपुर्‍याए पनि पानीका कारण पुन: अवरुद्ध भएको बताए। ‘फेरि मर्मत र सरसफाइ गर्नुपर्छ, केही दिनमा गाडी गुडाउँछु,’ अध्यक्ष चन्दले भने, ‘दसंै आउन केही दिनमात्र बाँकी छ, धेरैले दु:ख पाउँछन् कि भन्ने पीर छ।’ बुडर–जोरायल सडकमा पनि बस गुडेका छैनन्। जोरायल बस दुर्घटनापछि सडकलाई चौडा पार्ने काम भइरहे पनि हिलो र पहिरोका कारण जोरायल जान सकेका छैनन्। यात्रुहरूको बढी आवतजावत हुने राजपुर–तिखात्तर–चवराचौतारा सडक पनि ठप्प छ। साना जिप गुड्ने उक्त सडकमा सवारी नगुडेपछि दसंै मान्न घर फर्किएकालाई निकै सास्ती भएको छ। भारतबाट फर्किंदा ल्याएका सामान बोक्न नसकिने भएकाले तीन दिनदेखि दिपायलमै थन्किएर बसेको सातफरीका अर्जुन कुँवरले बताए। उनले दिनभरि हिँडेर घर पुग्न सक्ने अवस्थामा नरहेकाले दिपायलमै बस्न बाध्य भएको बताए।

प्रकाशित : आश्विन ९, २०७४ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?