कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्तव्यस्त सिद्धार्थ राजमार्ग

प्रतीक्षा काफ्ले

स्याङ्जा — बारम्बार पहिरो खसिरहने भएपछि अवरुद्ध बनेको नारायण–मुग्लिङ सडक खण्डमा चल्ने सवारी साधनहरू यतिबेला बुटवलदेखि स्याङ्जा हँुदै हिंड्ने गरेका छन् । यही बाटो हुँदै पोखरा र काठमाडौसम्म जाने भएपछि सवारीको संख्यामा पनि चाप बढेको छ ।

जोखिम मोलेर यात्रा गर्नुभन्दा लामो दूरीको यात्रा ठीक भन्दै पूर्व पश्चिम चल्ने लामा बसहरू पनि यही बाटो चल्ने गरेका छन् । नियमित चल्ने सवारी साधनभन्दा बेमौसमी चल्ने सवारीका कारण सिदार्थ राजमार्गको स्याङजा सडक खण्ड यतिबेला अस्तव्यस्त बनेको छ । बढी व्यस्त बन्न थालेपछि यो सडक खण्ड धुलाम्मे र हिलाम्मे समेत उस्तै बनेको छ ।

स्याङजा पाल्पाको सिमाना राम्दीदेखि स्याङ्जा कास्कीको सिमाना कुभिन्डेसम्म ८२ किमि सिद्धार्थ राजमार्गको यो सडक खण्डमा पर्छ । बढी खाल्डाखुल्डी, घुमाउरो र साँघुरो रहेको यो सडक खण्डमा यात्रु बोक्ने मात्र नभई मालबाहक सामान बोक्ने ट्रकहरूको पनि संख्यामा वृद्धि आएको छ । जुन समय पनि शान्त रहने यो सडक यतिबेला चौबिसै घण्टा व्यस्त रहेपछि धुलो र हिलो खान बाध्य छन् जिल्लावासीहरू । खाल्डाखुल्डी भएको सडक खण्डमा सवारी साधनको चाप बढेसंगै जोखिम बढेको गल्याङ नगरपालिका–३ निवासी कृष्ण बस्याल बताउँछन् ।
‘एक त यो सडक खण्ड जोखिम छ’ उनले भने, ‘मुग्लिङ–नारायणगढको सडकखण्ड बिग्रिए देखि नै यही बाटो हुँदै चल्ने लामा दूरीका ठूला गाडीले थप जोखिम निम्त्याएको छ ।’ उनले साँघुरो र घुमाउरो सडक खण्डमा अनियमित चल्ने सवारी साधनहरू लापरबाही तरिकाले चल्दा जोखिम थपिएको बताए ।
‘साँघुरो र घुमाउरो सडकमा बढी घुम्ती भएका कारण बिहान बेलुका हिंडडुल गर्न पनि जोखिम बढ्यो,’ पुतलीबजार नगरपालिका–१ का ३७ वर्षीय अशोकबहादुर क्षेत्रीले भने, ‘काठमाडौंदेखि पोखरा हुँदै बुटवल भैरहवा साथै पूर्वपश्चिमसम्म यो बाटो सवारी साधन चल्ने भएपछि सिमित मात्रमा चल्थे । क्षमताअनुसार चल्ने सवारीले त्यति जोखिम निम्त्याउँदैन । अहिले त जस्ता जत्रा सवारी पनि जबरजस्ती यही बाटो हिंडाएका छन् । भत्किएको बाटो भासिने पो हो कि भन्ने चिन्ता छ ।’ उनले क्षमताभन्दा ठूला सवारी साधनहरू चल्न रोक लगाउनुपर्ने बताए ।
ठूला सवारी साधनहरूको भार थेक्न सक्ने क्षमता नभएका कारण बढी जोखिम निम्तिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले बताएको छ । कार्यालयका अनुसार यतिवेला सिदार्थ राजमार्ग स्याङजा सडक खण्डमा दैनिक ५ सयको हाराहारीमा सवारी साधन चलेका छन् । जसका कारण पछिल्लो समय दुर्घटना पनि बढेको छ । यसभन्दा पहिलो २ सयको हाराहारीमा सवारी चल्ने गरेको कार्यालयका प्रहरी जवान हेम मल्ल बताउँछन् । उनका अनुसार नियमित चल्ने सवारीको संख्या ह्वात्तै बढेसँगै सिदार्थ राजमार्ग छियाछिया बनेको छ । ‘सडकले गाडी थेग्नै सकेको छैन, जसका कारण जोखिम निम्तिएको छ,’ उनले भने ।
सवारी चालकहरूको पनि समस्या उस्तै छ । सानो सडकमा थोरै सवारी चल्दा आफूखुसी चलाउन पाएकामा हाल जबरजस्ती चलाउनुपर्ने बाध्यताले आफूहरूलाई पनि जोखिम थपिएको चालकहरूको गुनासो छ । माइक्रो बसका चालक सुमन अधिकारी भन्छन्, ‘गाडीको संख्या कम हुँदा आफूखुसी चलाउन पाइन्थ्यो । अहिले भीडभाड थपिएको छ । प्रतिस्पर्धामा चलाउनुपर्छ । एकपछि अर्को गाडीले लखेटेपछि दुगुर्नपर्छ । गाडीका प्यासेन्जरलाई चढाउन र ओरालन पनि हतार गर्नुपर्छ । यसले पनि हामीलाई जोखिम निम्त्याएको छ ।’ यात्रुहरूमा पनि तँछाड र मछाड भएपछि जिल्लामा चल्ने र बाहिरबाट आउने सवारी साधनहरूबीच रिक्स मोलिएको उनले बताए ।

प्रकाशित : आश्विन १२, २०७४ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?