कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालीगण्डकी करिडोरमा गाडी चल्यो

प्रकाश बराल

बागलुङ — कालीगण्डकी करिडोरको बागलुङ खण्ड निर्माण सम्पन्न भएर सवारी चल्न थालेको छ । दशैंको अवसर पारेर करिडोरमा सरर सवारी साधनहरू गुड्न थालेका हुन् ।

नेपाली सेनाले निर्माण गरेको मालढुगा टाकुरी हुदै गुल्मी सिमानाको ३६ र गुल्मी र पाल्पातर्फको गरी ८० किमी खण्डमा बुधवारदेखि सवारी चल्न थालेको निर्माण कार्यदलका प्रमुख सेनानी रेश्मीराज भट्टराइले बताए । दशक देखिको चर्चामा रहेर पनि कालीगण्डकी करिडोरको बागलुङ तर्फको मालढुंगा टाकुरी खण्डको ट्रयाक खोल्ने काम असम्भव जस्तै थियो । 

सेनाले जिम्मा लिएको दुई बर्षमा सबै सडकको ट्रयाक खुलाएको हो । अहिले ८० किमीखण्डमा सवारी गुड्न थालेका हुन् । बागलुङदेखि करिडोरको बाटो भएर बुटबल जाने सडक अब आधा छोटो हुनेछ । २०७२ असार १५ गते शिलान्यास गरेको सडक गत साउनदेखि खुलेको हो । बर्षातका कारण रोकिएको कामलाई नियमित सवारी चल्ने बनाएर प्रधानसेनापति राजेन्द्र क्षेत्रीले मंगलवार उद्घाटन गरेका थिए । 
धेरै स्थानमा बम पडाएर पहरा फोडै सडक बनाउनुपर्ने भएकोले सडक डिभिजन मार्फत संभव नभएपछि सेनालाई जिम्मा दिएको थियो । ‘राष्ट्रिय गौरवको आयोजना भएकोले देशभरको चासो र चिन्ता लाई समयमै पुर गरेर हस्तान्तरण गरेका हौं’ भट्टराईले भने, ‘यो सडकले भारत र चीन जोड्ने छोटो मार्गको पनि काम गर्नेछ ।’ सुनौली देखि कोरला नाका सम्म ४ सय १७ किमी खण्डमा यो सडकले दुई देश जोड्छ । यो सडक बनेपछि पुरै ट्रयाक खुलेको छ । ८० किमी खण्डको ट्रयाक खोल्न ९५ करोड खर्च भएको छ । 
गौरवको आयोजना भएकोले सरकारले छिटो ट्रयाक खोल्नकै लागि सेनालाई जिम्मा दिएको थियो । दुइ बर्ष अघि मुख्य सचिव लिलामणी पौडेलले यो सडक शिलान्यास गरेका थिए । बेनी देखि जोमसोम, कागबेनी सम्मको खण्ड सडक डिभिजन र उपल्लो मुस्ताङ तर्फको खण्ड निर्माण गर्न पनि सेनालाई दिएको छ । उक्त दुवै खण्डको डिपिआर बनिसकेकोले सडक चौडा पार्ने, स्तरउन्नती गर्ने र कालोपत्रे सम्मको काम समेत शुरु भैसकेको हो ।
भूकम्प र नाकाबन्दीको असरले निर्माणमा केही ढीला भएपनि काम भने नरोकी पुरा गरिएको हो । ‘दुइ महिना अघिनै काम सकिन्थ्यो’ भट्टराई भन्छन्,‘नेपाल विकासको मेरुदण्ड निर्माण गर्ने अवसर पनि पायौं ।’ उत्तरदक्षिण मध्येका अन्य प्रस्तावित करिडोरमा सवारी गुड्न अझै धेरै समय लाग्नसक्छ । ‘यो सडक निर्माणले भारतका पर्यटक मुक्तिनाथ पठाउने र चीनका पर्यटक लुम्बिनी पुर्‍याउन सहज बाटो भएको छ’ उद्योग बाणिज्य संघ बागलुङका अध्यक्ष जयराम भारीले भने, ‘निर्माणमा ढीलाई भएका आयोजना सेनालाई दिंदा राम्रो हुने देखियो ।’ 
व्यवस्थापिका संसदको विकास समितिले पनि करिडोरको अध्ययन अवलोकन गरेर राम्रो ट्रयाक खुलेको प्रतिक्रिया दिंदै स्तरउन्नतीकालागि सरकारलाई लगानी बढाउन निर्देशन दिएको छ । करिडोरमा नियमित सवारी चल्न थालेपछि आसपासका १० लाख ३० हजार जनसंख्यामा बसाइसराइ कम हुने, एकलाख ३३ हजार हेक्टर जमिनमा तरकारी तथा फलफूल लगाइ व्यवसाय गर्न सकिने, बार्षिक ४ लाख ४८ हजार मेट्रिकटन खाद्यान्न उत्पाद गर्न सकिने अनुमान करिडोर सरोकार समितिको अध्ययनमा उल्लेख छ । बागलुङको बलेवा, बिनामारे, जैदी, छिस्तीका फाँट, गुल्मी, पाल्पा र पर्वतका समेत बस्तीले आफ्नो कृषि उपजलाइ नारायणगढ, गैडाकोटसम्म सहज विक्रिका लागि पठाउन सक्छन् ।

धार्मिक पर्यटनको विकास
करिडोरले धौलागिरी सहित पाल्पा र गुल्मीका धार्मिक र ऐतिहासिक स्थानलाइ प्रवद्र्धनमा 
सहयोग पुग्नेछ । यो मार्गमा रिडी, रुद्रवेणी, सेतीवेणी, रानीघाट, राम्दी, मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, गुप्तेश्वर जस्ता धार्मिक स्थान पनि छन् । हवाइ सेवाको पहुँच नभएका भारतीले पनि सजिलै मुक्तिनाथ र अन्य धार्मिक स्थलको भ्रमण गर्न करिडोर बढी प्रयोग गर्ने आसा गरिएको छ ।

प्रकाशित : आश्विन १२, २०७४ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?