कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काम खोज्दै भारततिर

कान्तिपुर संवाददाता

झुलाघाट (बैतडी) — नेपाल–भारतका अधिकांश सीमामा दसैंतिहार मनाउन घर फर्कनेको भीड छ । तर, त्यसको ठीक उल्टो पश्चिम पहाडका मानिस चाडपर्वका बेला झोलाझिम्टी बोकेर नेपाल–भारत सीमा पार गर्दैछन् ।

चाड पर्व मनाउन घर फर्कनेभन्दा दसैंतिहारको लामो बिदामा झुलाघाट नाकाबाट कामको खोजीमा भारत जानेहरूको भीड बढी छ । यो सिजनमा भारत जाने बढीजसो विद्यार्थी छन् । दसैंतिहार बिदामा पढाइ खर्चको जोहो गर्न दुर्गम गाउँका अधिकांश स्कुले भारतीय सहर पस्ने गरेका छन् ।
गाउँ छिमेकका १०/१२ जनाको समूह बनाएर विद्यार्थी भारततिर हिंडेका हुन् । उनीहरू भारतको झुलाघाट, पिथौरागढ, चम्पावत, गंगोलीहाट, बड्डा, मुनस्यारीलगायत क्षेत्रमा घरायसी र निर्माणका काममा जान्छन् । उनीहरू खर, घाँस काट्ने र निर्माणका काममा बढी संलग्न हुने गरेका छन् । आर्थिक स्थिति कमजोर हँुदा स्थानीय युवाहरू चाडको मुखमा कामको खोजीमा जान बाध्य छन् । गाउँमा खोजेका बेला काम नपाइने र अन्य आम्दानीको स्रोत नहुँदा चाडपर्व छाडेर कामको खोजीमा जाने बाध्यता रहेको उनीहरू बताउँछन् ।
गाउँका विकासे काम ढिलो सुरु हुँदा विद्यार्थीले बिदाका बेला खर्च जुटाउने अन्य माध्यम नभएको उनीहरू बताउँछन् । बिदामा खाली बसेर घर र खर्च जुटाउन धौधौ पर्दा चाडपर्व छाडेर तीन वर्षदेखि दसैं बिदामा मजदुरीका लागि भारत जाने बझाङको सुनकुडा माविमा १० कक्षा पढदै आएका रनबहादुर बोहराले बताए । ‘गाउँ नजिक काम पाइ्ने भए परिवारसँगै चाडबाड पनि मनाउन पाइन्थ्यो,’ रनबहादुरले भने, ‘बिदामा घर बसेर केही काम हुँदैन, खर्च जुटाउन सधैं जान्छौं ।’
केहीले परिवारका छोराछोरीलाई घरकुरुवा छाडेर अभिभावक जाने गरेका छन् । ‘परिवारका २ जनाले एक महिना भारतमा काम गरे ८/१० हजार बचत गर्न सकिन्छ,’ महिना दिन भारतीय गाउँमा काम गर्ने योजना बनाएका बैतडीको सिगास ४ का धौलसिंह साउदले भने ।
भारत पस्ने विद्यार्थीहरू बझाङ, बैतडी, बाजुरालगायत पहाडी जिल्लाका छन् । आफ्नो जिल्लामा काम नपाइने भएकाले दसैंको बीचमा भारततिर पस्नुपरेको उनीहरू बताउँछन । घाँस काट्ने र खेतीपातीको काम गरेबापत दैनिक ३ सय ५० देखि ४ सय भारु पाउने गरेको उनीहरू बताउँछन् । खेतबारीको ठेक्का लिएर धान र खर काट्ने काम सजिलो र आम्दानी राम्रो हुने उनीहरूको अनुभव छ ।
घर फर्कनेभन्दा भारत जानेको संख्या बढी रहेको सीमा बजारका व्यापारी बताउँछन् । भारतमा नियमित रोजगारी गर्नेहरू परिवारसहित पूजापाठ र दसैंका लागि फर्केको र विद्यार्थीहरू महिना दिन काम गर्न भारत गएको झुलाघाटका व्यापारी प्रयाग नारियालले बताए ।

प्रकाशित : आश्विन १२, २०७४ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?