कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाहालले देउवालाई भने– ‘सत्ता गठबन्धन टुट्दैन’

कुलचन्द्र न्यौपाने

काठमाडौं — प्रमुख प्रतिपक्षी एमालेसँग चुनावी तालमेल गरेको माओवादी केन्द्रले तत्काल कांग्रेससँगको सत्ता गठबन्धन नतोड्ने बताएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार अपराह्न बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरूलाई ‘तत्काल सरकार परिवर्तन गर्ने उद्देश्य नरहेको’ भन्दै आश्वस्त पारेका हुन् ।

दाहालले देउवालाई भने– ‘सत्ता गठबन्धन टुट्दैन’


‘माओवादी अध्यक्ष दाहालले एमालेसँग तालमेल भए पनि सरकार नबदल्ने र यही सरकारबाट निर्वाचन गराउने धारणा राख्नुभएको छ,’ छलफलमा सहभागी कांग्रेस नेता एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने । कांग्रेस नेताहरू भने नयाँ सरकार गठनका लागि आवश्यक संख्या नपुगेकै कारण यस्तो आश्वासन आएको हुन सक्ने आशंकामा छन् । दाहालसँगको भेटलगत्तै प्रधानमन्त्री देउवाले राप्रपा अध्यक्ष कमल थापा र संघीय फोरम अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरे । उनले थापा र यादवसित सरकारको समर्थन र चुनावी तालमेलबारे छलफल गरेको स्रोतले बतायो ।
दाहालले देउवालाई नवमीका दिन नै एमालेसित चुनावी तालमेलको कुरा अघि बढेको संकेत दिएका थिए । स्रोतका अनुसार दाहालले देउवासित एमालेले आफ्नो पार्टीलाई प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा ५० प्रतिशत सिट दिन लागेको जानकारी गराउँदै कांग्रेस कति दिन तयार छ भनेर सोधे पनि देउवाले कुनै आश्वासन दिएनन् । कांग्रेससँग चुनावी तालमेलको सम्भावना नदेखिएपछि माओवादीले एमालेसँग निर्णायक वार्ता गरेको थियो ।

मंगलबारको छलफलमा कांग्रेस नेताहरूसँग करिब ४५ मिनेट कुराकानी गरेर दाहाल निस्केका थिए । त्यसअघि बिहान पनि उनले प्रधानमन्त्री देउवासँग छुट्टै भेटेका थिए । बिहानको भेटमा ‘एमालेसँग तालमेलको निर्णय लिएको र विस्तृत कुराकानी दिउँसो ३ बजे गर्ने’ भन्दै दाहाल निस्केका थिए । दिउँसोको भेटमा प्रधानमन्त्री देउवाका साथै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र विमलेन्द्र निधि, अर्थमन्त्री कार्की, पूर्वसहमहामन्त्री पूर्णबहादुर खडका, केन्द्रीय सदस्यहरू महेश आचार्य, प्रकाशशरण महत र मीनेन्द्र रिजाललगायत थिए । एक्लै बालुवाटार पुगेका दाहालले सुरुमै कांग्रेससँग कुनै असन्तुष्टि र गुनासोको कारण नभएर कार्यकर्ताको दबाबका कारण एमालेसँग तालमेल गर्ने निर्णय लिएको बताएका थिए । उनले कांग्रेसका मतदातालाई माओवादीमा र माओवादीका मतदातालाई कांग्रेसमा भोट हाल्न समस्या भएको र कार्यकर्ताको दबाब पनि एमालेसँगै मिल्दा सहज हुने भन्ने भएकाले यस्तो निर्णय भएको बताएका थिए ।
‘एमालेसँग अहिल्यै पार्टी एकता नभई चुनावी तालमेलमा सहमति भएको हो । एकताका लागि त समितिमात्रै बनेको छ,’ दाहालको भनाइ उद्धृत गर्दै कांग्रेस केन्द्रीय सदस्य महतले भने, ‘सरकार बदल्ने हाम्रो सोच छैन । यही सरकारले समयभित्रै चुनाव गराउँछ ।’
एमालेसँगको तालमेल र पार्टी एकताको निर्णय बाहिर आउनासाथ कांग्रेस नेताहरूको आन्तरिक छलफल बालुवाटारमा दिनभरजसो भएको थियो । ‘एमाले अध्यक्ष केपी ओलीसँगको कुराकानीबारे जानकारी थियो तर उसले यस्तो निर्णय लिइहाल्छ भन्ने हामीले कल्पनै गरेका थिएनौं,’ कांग्रेसका
एक नेताले भने, ‘तर एकैचोटि एमालेसित तालमेल गर्ने सहमति भएको खबर आउँदा आश्चर्यमा पर्‍यौं ।’
वामपन्थी एकता अघि बढेपछि कांग्रेस नेताहरूले लोकतान्त्रिक शक्तिहरूसँग बृहत् एकता गर्नेतर्फ छलफल थालेका छन् । उनीहरूले कमल थापा नेतृत्वको राप्रपा, संघीय फोरम र राजपालगायत राजनीतिक शक्तिहरूसँग चुनावी तालमेलबारे छलफल गरेका थिए ।
कांग्रेस नेता महतले पार्टीका सामुन्ने नयाँ चुनौती खडा भएको बताउँदै त्यसलाई सामना गरेर अघि बढ्ने बताए । ‘कांग्रेसका अगाडि चुनौती नहुँदा पार्टीभित्रै आलोचना र असन्तुष्टि हुन्थे,’ उनले भने, ‘अब पार्टी पूर्ण एकतासाथ अब आउने चुनौती सामना गरेर अघि बढ्छ ।’ अर्का नेता आचार्यले सरकार र प्रतिपक्ष दुवैतर्फ गठबन्धन गरेर माओवादीले राजनीतिक इमानदारी नदेखाएको बताए । ‘संविधान संशोधन गरेर मधेसी जनताको माग सम्बोधन गर्ने मुख्य दायित्वबाट माओवादी केन्द्र विमुख भएको छ,’ उनले भने, ‘यस्तो कार्यबाट माओवादीले राजनीतिक इमानदारी देखाएन ।’
एमाले र माओवादीबीचको चुनावी तालमेलसँगै पार्टी एकीकरण हुने सहमतिले ल्याएको नयाँ तरंगका विषयमा छलफल गर्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्दै छ । नेता आचार्यले पार्टीको बैठकबाट माओवादी केन्द्र र एमालेबीचको एकताका विषयमा पार्टीको औपचारिक धारणा आउने बताए ।
बालुवाटार बैठकमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए के गर्ने भन्नेबारे पनि कांग्रेस नेताहरूबीच छलफल भएको थियो । एमालेले माओवादीसँग सरकारसँग अलग हुनुपर्ने सर्त पनि राखेको थियो । कात्तिक ५ को उम्मेदवारी मनोनयनपछि संसदको हैसियत समाप्त हुने भएकाले त्यसअघि नै अविश्वासको प्रस्ताव आउन सक्ने भन्दै कांग्रेसले विपक्षमा बहुमत पुग्न नदिने कसरत थालेको छ ।

प्रकाशित : आश्विन १८, २०७४ ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?