कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाहालले भने– ‘तालमेल सबै शक्तिसँग’

कान्तिपुर संवाददाता

काठमाडौं — शान्ति प्रक्रियामा आउँदै गर्दा र शान्ति सम्झौतामा हस्ताक्षर गर्दा मैले भनेको थिएँ, निरन्तरतामा क्रम भंग । प्रकृतिको मानव सभ्यताको एउटा चिन्तन हो । नियम हो । आज एकचोटि फेरि निरन्तरतामा क्रमभंग गरिएको छ ।

दाहालले भने– ‘तालमेल सबै शक्तिसँग’

पार्टी एकताका लागि नयाँ पहल अघि आएको छ । शान्ति प्रक्रियालगत्तै पछि हामीले यो देशमा अब एउटै कम्युनिस्ट पार्टी हुन आवश्यक छ । त्यसले मात्रै नेपाली जनताको परिवर्तन र समृद्धिको आकांक्षालाई पूरा गर्न सक्छ भनेर त्यतिबेला हामीले पहल गरेका थियौं । तत्कालीन एकीकृत नेकपा माओवादी र नेकपा एमालेबीचमा त्यतिबेला पनि एकताको छलफल भएको थियो र हामीले केही दस्ताबेज तयार पारेर पार्टीहरूका केन्द्रमा आवश्यक निर्णय लिएर तत्काल एउटै कम्युनिस्ट पार्टी बनाउने प्रयास गरेका थियौं । तर सायद परिस्थिति परिपक्व बनिसकेको थिएन । सायद वस्तुगत आवश्यकता र हाम्रो मनोगत चाहनाबीचमा राम्रो तालमेल भइसकेको थिएन । इतिहासको यो बीचमा १० वर्षअघिको यो काम हामी पूरा गर्दै छौं । 
यो एउटा ऐतिहासिक आवश्यकताद्वारा निर्देशित छ । केही समय पहिले मैले संसद्मा भनेको थिएँ राजनीति केही हदसम्म सम्भावनाहरूको खेल हो । कहिलेकाहीं राजनीतिमा असम्भव देखिएका कुरा पनि सम्भव हुन्छन् । कहिले सम्भव देखिएका पनि हुँदैनन् । अहिले हामी निकै ठूलो प्रयासपछि यो ऐतिहासिक क्षणमा आएका छौं । 
यो पार्टी एकताको प्रयास र निर्वाचनमा तालमेल गराउने प्रयास कसैका विरुद्ध लक्षित छैन । नेपाली जनताका पक्षमा छ । कोही भ्रमित हुन आवश्यक छैन । यो प्रक्रिया खालि कम्युनिस्टहरूका बीचमा मात्रै तालमेल पनि होइन । पार्टी एकता कम्युनिस्टहरूबीचमा गर्ने निर्णय गरेका छौं । चुनावी तालमेलमा कम्युनिस्ट मात्र भनेका छैनौं । लोकतान्त्रिक शक्ति र परिवर्तनका पक्षधर सबै शक्तिसँग पनि तालमेलका लागि अपिल गरेका छौं । 

 

प्रकाशित : आश्विन १८, २०७४ ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?