कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोकतान्त्रिक गठबन्धन बन्ने

गठबन्धनमा कांग्रेस, राप्रपा, राप्रपा (प्रजातान्त्रिक), राजपा, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिक
कुलचन्द्र न्यौपाने

काठमाडौं — कांग्रेससहितका ६ दलले ‘बृहत् लोकतान्त्रिक गठबन्धन’ निर्माण गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा), संघीय समाजवादी फोरम, राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र फोरम लोकतान्त्रिकबीच बृहत् लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने सहमति भएको हो ।

लोकतान्त्रिक गठबन्धन बन्ने

गठबन्धनमा रहने दलबीच चुनावी तालमेल कहाँ कसरी गर्ने भन्नेबारे गृहकार्य गरी औपचारिक सहमति जुटाउन ७ सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलमा कांग्रेसका २ र अन्य ५ दलबाट १/१ सदस्य रहने छन् । कार्यदलमा रहने सदस्यको नाम सबै दलले बिहीबार बिहान ८ बजेभित्र दिनेछन् । ९ बजेका लागि कार्यदल बैठक बोलाइएको छ । 
राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कम्युनिस्ट गठबन्धन निर्माणपछि बृहत् लोकतान्त्रिक गठबन्धन बनाउन आफूहरू बाध्य भएको बताए । ‘चुनावी तालमेलका लागि कार्यदल बनाएका छौं, कार्यदलले बिहीबारदेखि नै काम थाल्छ, सकभर बिहीबारै नभए शुक्रबारसम्म सहमति जुटाएर अघि बढ्छौं,’ उनले भने । बैठकमा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहित सदस्यहरू महतो, महेन्द्र यादव, अनिल झा, शरदसिंह भण्डारी सहभागी थिए । संघीय समाजवादी फोरमबाट अध्यक्ष उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, राप्रपाबाट कमल थापा, दिलनाथ गिरी, राप्रपा (प्रजातान्त्रिक) बाट अध्यक्ष पशुपतिशमशेर जबरा, विक्रम पाण्डे, फोरम लोकतान्त्रिकबाट अध्यक्ष विजय गच्छदार, गोपाल दहितसहितका नेताहरू पनि सहभागी थिए । 

कांग्रेसबाट प्रधानमन्त्री देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, विमलेन्द्र निधिसहितका नेता थिए । महामन्त्री कोइराला भने बैठक सुरु भएको केहीछिनमै बाहिरिएका थिए । 
अपराहन ४ बजे सुरु बैठक साँझ ८ बजेसम्म चलेको थियो । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको गठबन्धनले ल्याएको चुनौती र त्यसले पार्ने असरका बारे समीक्षा गर्दै लोकतान्त्रिक गठबन्धन निर्माणका विषयमा बैठकमा छलफल भएको थियो । ‘६ दलबीच बृहत् लोकतान्त्रिक गठबन्धन बनाउने सैद्धान्तिक सहमति जुटेको छ,’ कांग्रेस नेता निधिले भने, ‘चुनावी तालमेल गर्दा कसरी कति/कति स्थानमा गर्ने भन्नेबारे कार्यदल स्तरमा सहमति जुटाएर चाँडै नै टुंगोमा पुग्छौं ।’ उनले अन्य दललाई पनि गठबन्धनमा सहभागी गराउन छलफल हुने बताए ।
एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको चुनावी तालमेल र पार्टी एकता गर्ने घोषणापछि कांग्रेस ‘लोकतान्त्रिक गठबन्धन’ बनाउन अघि सरेको हो । माओवादीले ‘धोका’ दिएको भन्दै प्रधानमन्त्री देउवा बिहानैदेखि लोकतान्त्रिक गठबन्धन निर्माणको दौडधुपमा जुटेका थिए । कांग्रेसले बुधबारै कार्यसम्पादन समितिको बैठक बसी गठबन्धन बनाउने निर्णय लिएको थियो । उक्त बैठकमा कांग्रेस नेताहरूले कम्युनिस्ट गठबन्धन ‘मुकाबला’ गर्न लोकतान्त्रिक गठबन्धन तत्काल बनाउनुपर्ने सामूहिक धारणा राखेका थिए । 
संविधान कार्यान्वयन भइनसकेको, शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगिनसकेको र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भइनसकेको अवस्थामा एमालेको पहलमा भएको वामपन्थी ध्रुवीकरणले मुलुकलाई संकटतर्फ धकेलेको निष्कर्ष कांग्रेसको छ । एमाले, माओवादी र नयाँ शक्तिबीच मंगलबार भएको चुनावी तालमेल र पार्टी एकता गर्ने घोषणाले लोकतन्त्रमाथि नै संकट निम्त्याएको बताउँदै कांग्रेसले त्यसविरुद्ध जुध्न लोकतन्त्रवादी, प्रगतिशील, राष्ट्रवादी शक्तिसँग मिलेर बृहत् लोकतान्त्रिक गठबन्धन बनाउने निर्णय लिएको जनाएको छ । तीन कम्युनिस्ट दलबाहेक सबै दलसँग कांग्रेसले छलफलको पहल गरे पनि बुधबारसम्म ६ दल मात्रै गठबन्धनमा सामेल हुने तय भएको छ । 
‘अहिले भएको गठबन्धन वामपन्थीको नभएर कम्युनिस्टहरूको एकता हो, यो एकता लोकतन्त्रको हितमा छैन,’ कांग्रेस नेता निधिले भने, ‘त्यसविरुद्ध अघि बढ्न बृहत् लोकतान्त्रिक गठबन्धन आवश्यक भएरै यो तयारी गरेका हौं ।’ कांग्रेस नेता प्रकाशशरण महतले साम्यवादी व्यवस्था स्थापना गर्ने उद्देश्यसहित तीन कम्युनिस्ट पार्टीबीचको एकताले संघीय लोकतान्त्रिक प्रणालीमाथि नै खतरा उत्पन्न गराएको निष्कर्ष बैठकले निकालेको बताए । ‘गठबन्धनका लागि देशभित्र रहेका लोकतान्त्रिक प्रगतिशील र राष्ट्रवादी दलसँग छलफल सुरु गरेका छौं,’ उनले भने, ‘वामपन्थी तालमेलबाट हामी विचलित भएका छैनौं, बरु उत्साहित भएर पार्टीलाई थप एकताबद्ध पार्दै चुनौतीको सामना गर्न अघि बढेका छांै ।’ उनले तोकिएकै मितिमा देउवा नेतृत्वको सरकारले चुनाव गराउने निर्णयसमेत केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको बताए ।
राजनीतिक एजेन्डाका आधारमा माओवादीसँग गठबन्धन भएको बताउँदै कांग्रेसले उक्त एजेन्डा पूरा नगरीकनै गठबन्धन छाडेर माओवादीले अवसरवादी चरित्र प्रदर्शन गरेको बताए । ‘शान्ति प्रक्रिया टुंगिनसकेको, संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भइनसकेको र संविधान कार्यान्वयन नभइसकेको अवस्थामा राजनीतिक ध्रुवीकरण नहोस् भन्ने हाम्रो चाहना थियो,’ कांग्रेस नेता अर्जुननरसिंह केसीले भने, ‘तीन कम्युनिस्ट मिलेर ध्रुवीकरण सुरु गरिसकेपछि अबको लडाइँ लोकतान्त्रिक गठबन्धन भर्सेस कम्युनिस्ट गठबन्धन हुनेछ ।’
बैठकमा अधिकांश सदस्यले माओवादी केन्द्रलाई सरकार छाड्न लगाउनुपर्ने बताएका थिए । सरकारको पक्षमा स्पष्ट बहुमत रहिरहेको अवस्थामा प्रतिपक्षसँग गठबन्धन गर्ने माओवादीलाई नैतिक रूपमा सरकारमा राख्न नमिल्ने तर्क उनीहरूको थियो । तर कांग्रेसले संघीय लोकतान्त्रिक गठबन्धन बनिसकेपछि मात्रै सरकारका विषयमा निर्णय लिने जनाएको छ । 
कतिपय नेताले पार्टी नेतृत्वले विगतका गल्तीलाई सच्याएर अघि बढ्नुपर्ने बताएका थिए । पार्टीभित्र एकलौटी ढंगबाट अघि बढेमा लोकतान्त्रिक गठबन्धन बनाए पनि त्यसले प्रभाव पार्न नसक्ने उनीहरूको निष्कर्ष थियो । वरिष्ठ नेता पौडेल पक्षीय नेताहरूले सभापति देउवाको पार्टी सञ्चालन शैलीको विरोधसमेत गरेका थिए । पूर्वमहामन्त्री प्रकाशमान सिंहले लोकतान्त्रिक गठबन्धनसँगै पार्टी सुधारमा नेतृत्व नलाग्ने हो भने अहिलेको चुनौतीको सामना गर्न नसकिने बताएका थिए । ‘अब विधानअनुसार सभापतिले पार्टी सञ्चालन गर्नुपर्छ, विगतको गल्ती स्वीकार गरेर सभापतिले काम गर्नु भयो भने अरूले पनि आस गर्लान्,’ सिंहले भने, ‘तदर्थवादबाटै पार्टी सञ्चालन गर्दैै जाने हो भने अहिलेको चुनौती सामना गर्न सकिँदैन । तेरो मेरो भन्दाभन्दै कांग्रेस कमजोर भएको छ । पार्टीलाई बलियो र सबैले आशा गर्ने बनाउन मुखबाट होइन, व्यवहारबाट देखाउन सक्नुपर्छ ।’

प्रकाशित : आश्विन १९, २०७४ ०६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?