कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चाँदीको मूर्तिसहित पक्राउ

कान्तिपुर संवाददाता

मोरङ — इलाका प्रहरी कार्यालय रानीले चाँदीको मूर्तिसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेको मूर्तिसहित अररिया जिल्लास्थित जोगवनी ग्राम पञ्चायत १ का १९ वर्षीय दीपक साह पक्राउ परेका हुन् ।


उनको साथबाट २ किलो १ सय ६२ ग्रामको ८ थान लक्ष्मीको मूर्ति, ९ थान गणेशको मूर्ति र १० थान आचमनी लगायत पक्राउ गरिएको प्रहरी निरीक्षक सन्तोष निरौलाले बताए । साह गोजी नै गोजी भएको लुगाभित्र मूर्ति राखेर त्यसमाथि अर्को लुगा लगाएर आउँदै गरेको अवस्थामा विराटनगर १५ स्थित हुलास मेटल चोकबाट पक्राउ गरेको प्रहरी निरीक्षक निरौलाले बताए । तस्करहरूले अवैध रूपमा लुकाईछिपाई चाँदीका तयारी गहनालगायतका सामग्री यहाँका सुनचाँदी व्यवसायीलाई बिक्रीका लागि ल्याउने गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
साहलाई कारबाहीका लागि चाँदीसहित क्षेत्रीय राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको जिल्ला प्रहरी प्रमुख एसपी अरुणकुमार बीसीले बताए । ‘तस्करहरूले कुन पसलका लागि तयारी चाँदीका सामग्री ल्याएका हुन् ? त्यसबारेमा थप तथ्य अनुसन्धानबाट खुल्छ,’ उनले भने, ‘यस्तो कार्यमा संलग्न भएकाहरूलाई कारबाहीको दायरामा ल्याउँछौं ।’ तस्करहरूले अवैध रूपमा लुकाईछिपाई नेपालबाट काँचो चाँदी भारत लगेर ६० प्रतिशत मिसावट गरी गहना लगायतका सामग्री बनाएर नेपालस्थित सुनचाँदी पसलेहरूलाई दिँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । 

 

प्रकाशित : आश्विन २२, २०७४ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?