कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँ पुगेनन् बैंक

कान्तिपुर संवाददाता

हेटौंडा — गाउँपालिकामा बैंक नहुँदा स्थानीय तहलाई आर्थिक गतिविधि अघि बढाउन असहज भएको छ । सानोभन्दा सानो बैंकिङ कारोबारका लागि पनि जनप्रतिनिधि र कर्मचारी हेटौंडा नै पुग्नुपर्ने बाध्यता छ ।


मकवानपुरका कैलाश, राक्सिराङ, इन्द्रसरोवर, मकवानपुरगढी र बागमती गाउँपालिकामा एउटै बैंक छैनन् । बकैया र मनहरी गाउँपालिकामा एक–एक वटा निजी बैंक छन् । मनहरीमा स्थानीय निर्वाचनपछि बैंक राखिएको हो । ‘बैंक नहुँदा गाउँपालिकालाई आर्थिक कारोबार गर्न समस्या छ,’ कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले भने, ‘सानो कारोबार गर्न पनि हेटौंडा नै पुग्नुपर्छ ।’
गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी, स्वास्थ्य, कृषि र भेटेरेनरीका कर्मचारीलाई पनि मासिक तलब उपलब्ध गराउनुपर्छ । उनीहरूले हेटौंडास्थित राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकबाट आर्थिक कारोबार गर्ने गरेका छन् । सरकारले गाउँपालिका क्षेत्रमा साउन महिनाभित्रै बैंक स्थापना हुने जनाएकामा असोज बित्न लाग्दा पनि सुरसार छैन । ‘मासिक तलब होस् वा अन्य कारोबार गर्न, सदरमुकाम नै धाउनुपर्छ’ वाग्मती गाउँपालिकाका कार्यकारी अधिकृत भीम परियारले भने, ‘यसले गर्दा जनप्रतिनिधि र कर्मचारीलाई सास्ती छ ।’
गाउँपालिकाका केन्द्रमा सुरक्षा व्यवस्था, इन्टरनेट सेवा र भौतिक पूर्वाधार नभएकाले शाखा विस्तार गर्न नसकिएको हेटौंडास्थित एक बैंकका मेनेजरले भने, ‘कैलाश र मकवानपुर गढीमा शाखा स्थापना गर्न कोसिस गरिए पनि पूर्वाधार नहुँदा सम्भव भएन ।’ राक्सिराङको केन्द्रमा सुरक्षा, इन्टरनेट सेवा, बाटोघाटो र बैंक राख्ने भवनको अभाव छ मकवानपुर गढीमा सुरक्षा, इन्टरनेट सेवा र भवन छैन । कैलाश र वाग्मतीमा इन्टरनेट सेवा र भवन व्यवस्थापन गर्न समस्या छ । इन्द्रसरोवरमा इन्टरनेट र अरू पूर्वाधार छैनन् ।
पूर्वाधार अभावमा स्थानीय तहले संविधान प्रदत्त अधिकार प्रयोग गर्न नपाएको र ती सबै कागजमै सीमित हुन पुगेको कर्मचारी बताउँछन् । राष्ट्रबैंकले स्थानीय तहमा शाखा विस्तार गर्न बैंकहरूलाई निर्देशन दिइसकेको छ । हेटौंडामा मात्र चार दर्जनभन्दा बढी बैंकका शाखा छन् ।

प्रकाशित : आश्विन ३०, २०७४ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?