कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसको क्षमाशीलता

१० वर्षे सशस्त्र द्वन्द्वका बेला कांग्रेस नेता–कार्यकर्ताको सफायमा लागेका तत्कालीन माओवादीका डा. बाबुराम भट्टराई अन्तत: गोर्खा २ नम्बरबाट कांग्रेसकै समर्थनमा प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने खबरले यतिबेला प्रमुखता पाएको छ ।

यसबाट के बुझिन्छ भने बीपीदेखि चलिआएको कांग्रेसको क्षमा र करुणा मरेको छैन । त्यसो त किशुनजीले एमाले र गिरिजाबाबुले एमाओवादीलाई सुनपानी छर्केर सत्ताको धुरी नचढाएको भए आज यी कम्युनिस्ट दलहरू जंगलमा हुन्थे या सकिन्थे होला तर पनि उनीहरूले कांग्रेसको उदारताको कहिल्यै प्रशंसा गरेनन्, बरु उल्टै कांग्रेसलाई गाली गर्दै आएका छन् । उनीहरूका दिन नै कांग्रेसले यो गरेन, ऊ गरेन भन्ने टिप्पणी गर्दैमा बितेका छन् । बितेका ९ वर्षमा ७ वर्ष कम्युनिस्टले शासन गरे । तर यो बेथितिको दोष भने उनीहरू कांग्रेसका काँधमा हालेर आफू पानीमाथिको ओभानो बनिरहेका छन् । 
नेपालका कम्युनिस्टहरूमा मनमोहन अधिकारीबाहेक आजसम्म कसैले राम्रो काम गरेको मलाई थाहा छैन । तर तिनै कम्युनिस्टहरूले कसैलाई गाली नगरेको मलाई थाहा छैन । यसबाट के बुझिन्छ भने गाली गर्नेले काम गर्दैन र काम गर्नेले कसैलाई गाली गर्दैन । कांग्रेसले काम मात्र गर्छ, कसैलाई गाली गर्दैन । विसं २००७ को आन्दोलन होस् वा २००१७ पछिको पञ्चायतविरोधी संघर्ष होस् वा २०३६, ०४६ र २०६२ को आन्दोलन, २०४७ र २०७२ को संविधान पनि कांग्रेसकै नेतृत्वमा बनेको कतैबाट छिपेको छैन । आजसम्म देशको परिवर्तनमा सहयोगी मात्र बनेका छन् कम्युनिस्टहरू । अब उनीहरूले २ तिहाइ मत ल्याए पनि खासै परिवर्तन आउनेछैन । समाजवाद भन्ने त हात्तीको देखाउने दाँत मात्र हो । कांग्रेसमा बरु समाजवादी व्यक्तिहरू पाइन्छन् । मैले धेरै वर्ष कम्युनिस्ट संगठनहरूमा रहेर काम गरें तर त्यहाँभित्र सामान्य प्रगतिशील मानिस पिन भेटिनँ र छाडिदिएँ । आज पनि कांग्रेस नै बढी प्रगतिशील पार्टी लाग्छ । कांग्रेस थिएन भने गणतन्त्र पनि आउने थिएन । जे भए पनि कांग्रेसले बाबुरामलाई क्षमादान दिएको छ, यो उदाहरणीय काम हो । यसले राजनीतिमा सहिष्णुता वा उदारता कस्तो हुन्छ भन्ने देखाउँछ । कम्युनिस्टहरूले यति उच्चस्तरको संस्कृति देखाउन सक्लान् त ? 
– ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ 
महाकवि देवकोटा आश्रम, काठमाडौं 

प्रकाशित : कार्तिक १२, २०७४ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?