कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युनाइटेडमाथि चेल्सीको जित

एएफपी

लन्डन — फरवार्ड अल्भारो मोराटाको गोलमा डिफेन्डिङ च्याम्पियन चेल्सीले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गर्‍यो । हारसँगै युनाइटेड समस्यामा परेको छ । जोसे मोउरिन्होको टोलीले प्रिमियर लिगको पछिल्ला तीनमध्ये दुई खेलमा पराजय भोगेको छ ।

युनाइटेडमाथि चेल्सीको जित

मोउरिन्होले पछिल्लो सिजन चेल्सीविरुद्ध खेलेका लिगका दुवै खेलमा पराजय भोगेका थिए । सन् २०१२ को अक्टोबरपछि युनाइटेडले ब्रिजमा लगातार आठ खेलमा जित्न सकेको छैन । हारसँगै युनाइटेड शीर्षस्थानको म्यानचेस्टर सिटीभन्दा ८ अंकले पछाडि परेको छ ।
आइतबार स्ट्यामफर्ड ब्रिजमा विजय हात पारेपछि चेल्सी चौथो स्थानमा यथावत् छ । शीर्षस्थानको सिटीभन्दा ९ अंकले पछाडि रहेको चेल्सीले आइतबार लिगमा लगातार तेस्रो जित दर्ता गर्‍यो । रोमाविरुद्ध च्याम्पियन्स लिगमा ३–० को हार बेहोरेपछि टोली व्यवस्थापक एन्टोनिओ कोन्टेले डेबिड लुइज र एन्टोनियो रुडिगरलाई बेन्चमा झारेका थिए । चोटका कारण पछिल्लो ६ खेल गुमाएका फ्रान्सेली मिडफिल्डर एन्गोलो कान्टेले पुनरागमनको पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरे ।
पछिल्लो ६ खेलमा गोल गर्न नसकेका युनाइटेडका स्ट्राइकर रोमेलु लुकाकुले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । लुकाकुझैं खराब फर्ममा रहेका मोराटाले भने गोल गर्दै आफ्ना आलोचकहरूको मुख बन्द गरिदिए । उनले एज्पिलिक्वेटाको क्रसलाई हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
दिनको अर्को खेलमा एभरटनले घरेलु मैदानमा दुई गोलले पछाडि परेको स्थिति उल्टाउँदै वाटफर्डमाथि ३–२ को जित हात पार्‍यो । पहिलो हाफमा गोलरहित रहेको खेलको दोस्रो हाफमा भने गोलको वर्षा भयो । वाटफर्डले रिचार्लिन्सन र क्रिस्टियन काबासेलेको गोलमा २–० को अग्रता लियो । तर ओउमार नियासे, डोमिनिक काल्भर्ट लेविन र लेटन बेन्सको गोलमा अग्रता लियो ।
रियलको ३ गोल
म्याड्रिड– स्पेनिस ला लिगाअन्तर्गत आइतबार रियल म्याड्रिडले लास पाल्मासलाई ३–० ले पराजित गरेको छ । नियमित खराब प्रदर्शनका कारण आलोचना खेपिरहेको म्याड्रिडका लागि क्यासेमिरो, मार्को एसेन्सियो र इस्कोले गोल गरे । यस जितसँगै रियलको ११ भएको छ । अन्य खेलमा भिल्लारियलले मालागालाई २–० ले र रियल सोसिडाडले एइबारलाई ३–१ ले पाखा लगायो ।

प्रकाशित : कार्तिक २१, २०७४ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?