कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला निर्णायक

‘गाईबस्तु र खेतबारी हेर्ने मात्र हैन, सांसद छान्ने काम पनि महिलाकै भागमा परेको छ’–जयनन्दा कनकासुन्दरी ६, सिंजा, जुम्ला

सिंजा (जुम्ला) — प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि मुख्य प्रतिस्पर्धी दलका उम्मेदवारहरू पुरुष मात्र छन् । तर मौसमी व्यापार र रोजगारीका लागि पुरुष मतदाता भने दिनहुँ जिल्ला छाडिरहेका छन् । त्यसैले जुम्लाको यसपटकको चुनावी नतिजामा महिलाको मत निर्णायक बन्दै छ ।

महिला निर्णायक

चुनाव आउन तीन साता पनि छैन । दिनहुँ सयौं मतदाता लर्को लागेर व्यापार र रोजगारीका लागि तराई झरिरहेका छन् । मध्यम वर्गका पुरुष कम्बल, ब्ल्यांकेट र गलैंचाको व्यापार गर्छन् भने निम्न वर्गीयहरू भारतमा ज्याला मजदुरीका लागि जाने गरेका छन् । सिंजा क्षेत्रका आधा पुरुष मतदाताले चुनावमा भाग लिने सम्भावना नै छैन ।

गोठीज्युलाका ४६ वर्षीय बिर्खबहादुर थापा मौसमी व्यापारका लागि शुक्रबार घरबाट निस्कँदै छन् । उनी सुरुमा काठमाडौं जानेछन् । त्यहाँ उनले झन्डै एक लाखको काम्लो, ब्ल्यांकेट र गलैंचा अर्डर गरिसकेका छन् । बिक्री गर्न यसपटक झापा जाँदैछन् । ‘१८/२० दिनमा त्यो बिक्न गाह्रै छ,’ उनले कान्तिपुरसित भने, ‘चुनाव भनेर काम छाडेर बस्न पनि भएन, भोट हाल्न आउन मुस्किलै छ ।’

थापा मौसमी व्यापारमा लागेको वर्षौं भइसक्यो । बर्खाभर गाउँमै बसेर खेतीपाती गर्ने र चाडपर्व मनाएपछि कात्तिक–मंसिरमा व्यापारमा जाने गर्छन् । ‘सिंजाको बेरोजगार मध्यम वर्गले यसै गरेर निर्वाह गर्दै आएको छ, हाम्रा लागि यो चुनाव बेमौसममा भयो,’ उनले भने ।

कनकासुन्दरी ६ साटवडाकी तिखु बुढाका पति नन्दबहादुर एक साताअघि नेपालगन्ज झरे । अब उनले जाडोभरि घरघरै पुगेर गलैंचा र ब्ल्यांकेट व्यापार गर्नेछन् । उनी कात्तिकमा खेती स्याहारेर घर छाडेपछि फागुनमा मात्र वर्षे खेती लगाउन फर्किने छन् ।

यसपटक मंसिर १० गते चुनाव परेकाले गाउँ फर्किन उम्मेदवार र तिनका आफन्तले उनलाई आग्रह गरे । तर बीचैमा व्यापार छाडेर फर्किने सम्भावना नरहेको तिखुले बताइन् । ‘घरमा रहेका हामी महिला भोट दिन्छौं,’ उनले भनिन्, ‘काममा गएका पुरुष भने फर्किन मुस्किलै छ ।’

तिखुका छिमेकीहरू माया बुढा र जयनन्दाका पति पनि रोजगारीका लागि बाहिरै छन् । जौ छर्ने बेला गाउँमा पुरुष नभएपछि खेतबारीमा महिला मात्र देखिन्छन् । ‘चुनाव भनेर कोही रोकिएनन्,’ जयनन्दाले भनिन्, ‘गाईबस्तु र खेतबारी हेर्ने मात्र हैन, सांसद छान्ने काम पनि महिलाकै भागमा परेको छ ।’

उम्मेदवार एक जना पनि महिला नभएको उनीहरूको गुनासो छ । ‘लोग्ने मान्छेहरू आफैं मात्र उठे । एकसेएक महिला छन् तैपनि कसैले देखेनन्,’ मायाले भनिन् । गाउँमा ६२ घरपरिवारको बसोबास छ । तीमध्ये स्थानीय जागिरे र विद्यार्थीबाहेक अधिकांश घरका पुरुष सदस्य व्यापार र रोजगारीका लागि तराई झरिसकेका छन् ।

श्रीमान्, बुबा र दाजुभाइ घरमा नभए पनि उनीहरूले उम्मेदवार छानेर भोट हाल्न अह्राएर गएको महिलाहरू बताउँछन् । कनकासुन्दरी २ की पञ्चरूपा रावतले भनिन्, ‘श्रीमानको भोट जता जान्छ, हामीले पनि उतै हाल्छौं । भोटका लागि किन घरबार बिगार्नु ?’ घर बाहिर रहेका पतिले फोन गरेर आफ्नो मन परेको पार्टी र उम्मेदवारलाई भोट हाल्न लगाउने गरेको उनले बताइन् । चुनावको मुखैमा घर छाड्नेहरूले उम्मेदवार छानेर गएको पञ्चरूपाकै सम्झना रावत बताउँछिन् । ‘अहिले गाउँमा पुरुषभन्दा महिला धेरै छन् । तर, भोट भने पुरुषले जहाँ भन्छन् त्यहीं दिने हो,’ उनले भनिन् ।

निर्णायक मतदाता महिला भएपछि राजनीतिक दल र उम्मेदवारले त्यसैअनुसार चुनावी रणनीति बनाएका छन् । कांग्रेसले चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवाललाई सिंजा क्षेत्रमा खटाउन लागेको छ । त्यस्तै, महिलाको भोट तान्न एमालेले प्रदेशतर्फ समानुपातिक सदस्य उम्मेदवार मेनुका पछाईलाई सक्रिय बनाएको छ भने माओवादी केन्द्रले समानुपातिक उम्मेदवार गोमा कुँवरलाई खटाएको छ । ‘उम्मेदवारी नदिए पनि जुम्लामा यसपटक महिला मतदाता निर्णायक भएका छन्,’ मेयर सेजुवालले भनिन्, ‘जसले महिलाको मत जित्छ, उसैले चुनाव जित्ने स्थिति छ । त्यसैले साथीहरूको आग्रहमा म सिंजामा प्रचारप्रसारमा जाँदै छु ।’

'४० प्रतिशत मतदाता बाहिरिए'
चुनावको मुखमा जुम्लाको सिंजा भेगसहित कनकासुन्दरी, हिमा, तिला, पाताराशीलगायतका गाउँपालिकाबाट झन्डै ४० प्रतिशत मतदाता बाहिरिएको अनुमान छ । जुम्लाबाट दैनिक २/३ सय जना कालिकोट नाका हुँदै तलतिर झरिरहेको प्रहरी चौकी नाग्मका इन्चार्ज मानबहादुर रेश्मी मगरले बताए । ‘दैनिक ६/७ गाडी खचाखच भरिएर गइरहेका छन्,’ उनले भने, ‘आउने बस खाली हुन्छन्, जाने भरिभराउ ।’

कर्णाली क्षेत्रमा साइत हेरेर र राम्रो तिथि पारेर यात्रामा निस्कने चलन छ । बुधबार र शुक्रबारलाई यात्राका लागि उत्तम बार मानिन्छ । प्रहरीका अनुसार, अरू दिनभन्दा ती बार धेरैले जिल्ला छाड्ने गरेका छन् । सिंजा भेगबाट दैनिक ४/५ वटा बस र जुम्ला बजार क्षेत्रबाट २/३ वटा भरिने गरेको छ । जिल्ला छाड्ने आधाभन्दा बढी पुरुष व्यापारका लागि जाने गरेको मगरले बताए । खेत जोतेर जौ छरेपछि भारतको कालापहाड जाने भएकाले कात्तिक अन्तिमसम्मै तल झर्नेको लर्को हुन्छ ।
इलाका प्रशासन कार्यालय सिंजाका प्रमुख मधुशंकर उपाध्यायका अनसार सिंजा क्षेत्रका पुरुष कात्तिक लागेपछि घर छाडेर कमाइ गर्न निस्कन्छन् । मंसिर १० मा चुनाव भए पनि दलहरूले मतदातालाई वास्ता नगरेको उल्लेख गर्दै उनले भने, ‘चुनावको महत्त्व बुझाउन पर्याप्त मतदाता शिक्षाको खाँचो देखिएको छ ।’

चुनावभन्दा पनि वर्षभरिका लागि घरपरिवारलाई लत्ताकपडा, खाद्यान्न कमाउनुपर्ने भएकाले सिंजा भेकका बासिन्दा धमाधम तलतिर झरिरहेको कांग्रेस कालिकोटका पार्टी उपसभापति शंकर उपाध्यायले बताए । ‘दैनिक हूलका हूल मतदाता गइरहेका छन्,’ उनले भने, ‘रोक्न गाहै्र छ । उम्मेदवारको विशेष आग्रहमा गाडी व्यवस्था गरे केही फर्किएलान् नत्र मुस्किलै छ ।’

५९ हजार ५८ मतदाता रहेको जुम्लामा पुरुष ३० हजार ७ सय ५७ र महिला २८ हजार ३ सय १ छन् । तीमध्ये प्रदेश (ख) क्षेत्र सिंजामा १४ हजार ८९ पुरुष र १२ हजार ९ सय ६५ महिला मतदाता छन् । स्थानीय तहको निर्वाचनमा ५४ हजार ६ सय ७७ मतदाता रहेको जुम्लामा यसपटक ४ हजार ३ सय ८१ थपिएको निमित्त निर्वाचन प्रमुख अभिनन्द चौलागाईंले बताए ।

प्रकाशित : कार्तिक २४, २०७४ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?