कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेता पुगे, मतदाता शिक्षा पुगेन

भवानी भट्ट

कञ्चनपुर — दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा चुनावका लागि उम्मेदवार घर–दैलोमा पुगिसक्दा पनि मतदाता शिक्षा सामग्री नपुग्दा मत बदरको आशंका बढेको छ । नेता र कार्यकर्ता हुल बाँधेर चुनावी प्रचारमा व्यस्त हुँदा मतदाता भने कसरी मतदान गर्ने भनेर अलमलमै छन् ।

नेता पुगे, मतदाता शिक्षा पुगेन


निर्वाचन संघारमै छ । झन्डै महिना दिन बाँकी छ । अहिलेसम्म मतदाता शिक्षा कार्यक्रम भने सञ्चालनमा आउन सकेको छैन । यसपटक दुई/दुई निर्वाचन एकैसाथ भइरहेकाले पनि मतदाता बढी अन्योलमा देखिएका हुन् । प्रदेश र प्रतिनिधिसभा तथा समानुपातिकको मत छुट्टाछुट्टै वा एउटै, कता हाल्नुपर्ने हो, त्यसबारेमा केही थाहा नभएको मतदाताले बताए । ‘एकैपटक दुई/दुई निर्वाचन भनेका छन् तर कति मतपत्र हुने हो ? कसरी मतदान गर्ने ? केही थाहा छैन,’ महेन्द्रनगरका स्थानीय जनक धामीले भने, ‘मतदान गर्ने तरिका सिकाउन अहिलेसम्म कोही आएनन् ।’
महेन्द्रनगर बजार क्षेत्रमै बसोबास गर्ने र शिक्षितले समेत मतदान कसरी गर्ने भन्ने विषयमा अन्योल रहेको बताए । ‘आफू कुन निर्वाचन क्षेत्रमा छु भन्ने पनि थाहा छैन,’ निर्मला ठकुराठीले भनिन्, ‘मतपत्र र मतदानको कुरा त अझ बुझ्नै सकिएको छैन ।’ उनले मतदाता शिक्षाको अभावका कारण यसपटक बदर मत बढ्न सक्ने बताइन् ।
जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहको निर्वाचनका बेला एक/डेढ महिनाअगावै मतदाता शिक्षाको कार्यक्रम सुरु गरिसकेको थियो । यसपटक एक महिनाभन्दा कम समय मात्रै हँुदा पनि मतदाता शिक्षा स्वयंसेविका खटाउन सकेको छैन । अन्तिम समयममा मतपत्रको विषयमा देखिएको अन्योलका कारण मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुन नसकेको जिल्ला निर्वाचन अधिकारी केशव भण्डारीले बताए । उनले करिब दुई साताअघि मतदाता शिक्षा स्वयंसेविकाहरूलाई दिने भनिएको तालिम त्यही कारणले रोकिएको जानकारी दिए । ‘मतदाता शिक्षा स्वयंसेविकाहरूको नियुक्ति प्रक्रिया सकिएको छ,’ उनले भने, ‘अब एक/दुई दिनमै तालिम दिएर खटाउँछौं ।’
मतदाता शिक्षा सामग्री जिल्लामा आइनसकेका कारण पनि समस्या भएको भण्डारीले बताए । पोस्टर, मतपत्रको ढाँचा र हाते पुस्तिकालगायत सामग्री अझै जिल्लामा पुग्न सकेका छैनन् । उनले शुक्रबारसम्म मतदाता शिक्षा सामग्री पुग्ने बताए । ‘तालिम दिन र मतदातालाई जानकारी गराउन शिक्षा सामग्री नभई हुँदैन,’ उनले भने, ‘मतपत्रको ढाँचा पनि अनिवार्य हुन्छ, कति र कस्तो मतपत्र हुने भन्ने पनि यकिन नभई मतदाता शिक्षा उपलब्धिपूर्ण हुँदैन ।’
प्रतिनिधिसभामा ३ र प्रदेशसभामा ६ निर्वाचन क्षेत्र कायम गरिएको कञ्चनपुरमा २ लाख ६४
हजार ९ सय ३५ मतदाता छन् । जुन स्थानीय तहको भन्दा ३४ हजार बढी हो । जिल्लामा ३ सय २० मतदान केन्द्र कायम गरिएको छ । मतदान केन्द्र बराबर मतदाता शिक्षा स्वयंसेविका पनि खटाउने तयारी भइरहेको भण्डारीले बताए । ‘एक मतदान केन्द्रको जिम्मा एक स्वयंसेविकालाई दिइनेछ,’ उनले भने ।

प्रकाशित : कार्तिक २५, २०७४ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?