देउवाको किल्लामा धावा बोल्दै वाम

कांग्रेसको आन्तरिक द्वन्द्व र वाम गठबन्धन प्रमुख चुनौती
बलराम बानियाँ, मोहन बुढाऐर

डडेलधुरा — प्रधानमन्त्री शेरबहादुर देउवाको २७ वर्षदेखिको एकछत्र किल्ला भत्काउने उद्घोषसहित वाम गठबन्धन चुनावी मैदानमा उत्रिएको छ । डडेलधुरामा देउवाले २०४८ यता चुनावी परिणाम अरूको पोल्टामा पर्न दिएका छैनन् । गठबन्धनले देउवाविरुद्ध प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य खगराज भट्टलाई उतारेको छ ।

कांग्रेसको दुई खेमामा विभाजित जिल्लाको पार्टी पंक्ति र एमाले–माओवादीबीचको गठबन्धन देउवाका लागि कडा चुनौती बन्ने देखिन्छ । विभाजित पार्टी पंक्तिका कारण स्थानीय तह चुनावमा कांग्रेसले जिल्ला सदरमुकाम रहेको अमरगढी नगरपालिकासहित ३ वटा स्थानीय तहमा पराजय बेहोरेको थियो । स्थानीय तहमा एमाले र माओवादीले ल्याएको मत कांग्रेसको भन्दा ८ हजार बढी छ । पार्टीको मत बढाएर जित्न देउवालाई यस पटक ठूलै कसरत गर्नुपर्ने यहाँका बुद्धिजीवी बताउँछन् । 
पछिल्लो संविधानसभा चुनावमा देउवाले आफ्ना प्रतिस्पर्धी माओवादीकै भट्टभन्दा साढे ८ हजार मत बढी ल्याएका थिए । भट्ट ०६४ र ०७० दुवै संविधानसभा निर्वाचनमा देउवाका निकटतम प्रतिस्पर्धी थिए । ०६४ मा भट्ट जम्मा १३ सय मतले पराजित भएका थिए भने ०७० मा साढे ८ हजार मतले । त्यतिबेला एमालेका तारा जोशीले ७ हजार मत ल्याएका थिए । ०७० मा एमाले र माओवादी दुवैको भन्दा देउवाले डेढ हजार बढी मत ल्याएका थिए । भट्ट देउवाविरुद्ध तेस्रो पटक मैदानमा छन् ।
गठबन्धनका उम्मेदवार भट्टले चार/चार पटक प्रधानमन्त्री भएका देउवाले जिल्लाको बेरोजगारी समस्या समाधान गर्न नसकेको र आवश्यक मात्रामा विकास निर्माणका कामसमेत नगरेकाले डडेलधुरावासीले यस पटक उनको विकल्प खोज्ने दाबी गरेका छन् । २७ वर्षसम्म सत्ताको शिखरमा रहँदा पनि जिल्लामा उद्योगधन्दा खोल्न नसकेको, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिने प्राविधिक शिक्षालय र अस्पताल ल्याउन नसकेको आरोप लगाउँदै वाम गठबन्धनले यस पटक डडेलधुरावासीले देउवालाई पराजित गर्ने दाबी गरेको छ । देउवाले २७ वर्षमा गर्न नसकेको विकास आफूले ५ वर्षमा गर्ने दाबीसमेत भट्टको छ ।
कांग्रेसले भने डडेलधुरामा मात्र नभई सिंगै सुदूरपश्चिममा जति विकास निर्माण भएको छ, त्यसमा देउवाको एकल योगदान रहेको दाबी गर्दै डडेलधुरावासीले देउवालाई फेरि पनि भारी मतले 
जिताउने दाबी गरेको छ ।
राष्ट्रियस्तरका नेता देउवाको अगाडि भट्टको ‘पुडको छवि’ नै आफ्नो जितको बलियो आधार बन्ने दाबीसमेत कांग्रेसको छ । कांग्रेसले भट्टले जिते सांसद मात्र हुने हो, देउवाले फेरि जिते प्रधानमन्त्री हुन्छन् र उनले नै जिल्लाको बेरोजगारी अन्त्य गर्न र आर्थिक समुन्नतिका लागि थप कार्यक्रम ल्याउन सक्छन् भनेर गठबन्धनको धावालाई मत्थर गर्ने प्रयास गरिरहेको छ ।
देउवालाई गठबन्धनको चुनौती चिर्नभन्दा पनि दुईतिर फर्केको पार्टी पंक्तिलाई एकताबद्ध बनाउनु ठूलो सकस परिरहेको छ । डडेलधुरामा बहालवाला पार्टी सभापति कर्ण मल्ल र पूर्वसभापति रघुवर भट्टका दुई गुट छन् । देउवासित आफू मात्र निकट हुन यी दुवै गुटका नेता एक–अर्कालाई सिध्याउने खेलमा थिए । यी दुई गुटबीचकै विवादले पार्टीको सबभन्दा मजबुत पकड भएका अमरगढी नगरपालिका, नवदुर्गा र अजयमेरु गाउँपालिकामा स्थानीय तह चुनावमा लज्जास्पद हार बेहोरेको थियो । कांग्रेसकै अन्तरद्वन्द्वका कारण अमरगढी र नवदुर्गामा एमाले तथा अजयमेरुमा माओवादी स्थानीय तहमा विजयी भएका छन् । स्थानीय चुनावपछि यी दुई गुटका नेता र कार्यकर्ताबीच बोलचाल बन्द भएको थियो । वाम गठबन्धन बनेर पार्टीमाथि चुनौती बढेपछि मात्र दुई गुटका नेताबीच बोलचाल सुरु हुनुका साथै सँगै राजनीतिक गतिविधि गर्न थालेका छन् ।
पार्टी विवादले अमरगढी, नवदुर्गा र अजयमेरुको स्थानीय तहमा पराजित भएका कांग्रेस नेताहरू यी दुई गुटबीचको एकताप्रति सन्तुष्ट हुन सकिरहेका छैनन् । उनीहरूमा गुटको विवादले आफू हारेको पीडा छ । देउवाले उनीहरूको पीडामा मलम लगाउन सके मात्र उनको पक्षमा माहोल बन्ने स्थानीय बुद्धिजीवी बताउँछन् ।
देउवाले दुवै गुटका नेतृत्वकर्ता भट्ट र मल्ललाई प्रदेशसभा सदस्यतर्फ क्रमश: ‘क’ र ‘ख’ को उम्मेदवार बनाएर पार्टीभित्रको विवाद मिलाउने प्रयास गरेका छन् । देउवाले दुवै गुटका अरू नेतालाई समेत प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक उम्मेदवार बनाएर सबैलाई समेट्न खोजेका छन् । दुवै गुटका नेतालाई उठाउँदैमा जिल्लाको सिंगो पार्टी पंक्ति एकढिक्का हुनेमा अझै आशंका छ । मल्ल र भट्ट समूहका स्थानीय नेता तथा कार्यकर्ताले सँगै प्रचारमा हिँडेर पार्टी एकजुट भएको सन्देश दिन खोजेका पनि छन् तर व्यवहारमा उनीहरू एकताबद्ध हुनेमा कतिपय कांग्रेसी नै विश्वस्त हुन सकेका छैनन् ।
वारेसमार्फत उम्मेदवारी दिएका देउवा आफ्नो प्रचार गर्न जिल्लामा आइसकेका छैनन् । कात्तिक ३० मा मात्र जिल्ला आउने उनको कार्यक्रम छ । जिल्ला आएपछि पार्टी पंक्तिलाई एकताबद्ध बनाएर वाम गठबन्धनतर्फको मतसमेत तान्ने वातावरण बनाउन सके मात्र देउवाको जित सुनिश्चित हुने डडेलधुरामा २० वर्षदेखि पढाइरहेका भुवनेश्वरी माविका शिक्षक चूडामणि जोशी बताउँछन् । ‘कडा टक्कर छ । दुईतिर फर्केको पार्टी पंक्तिलाई मिलाउन र वाम मतसमेत तान्न सक्नुभयो भने देउवाले जित्नुहुन्छ, नत्र भन्न सकिन्न,’ जोशीले भने ।
कांग्रेसका जिल्ला सभापति एवं प्रदेशसभातर्फ ‘ख’ का उम्मेदवार मल्लले डडेलधुरा र सिंगै सुदूरपश्चिमको विकास निर्माणमा देउवाको ठूलो भूमिका रहेकाले २७ वर्षदेखि रहेको देउवाको किल्ला यस पटक पनि कायम रहने दाबी गरे । ‘जिल्लामा सुरु भएका विकास निर्माण पूरा गर्न र आर्थिक समृद्धिका लागि पनि जनताले देउवाको विकल्प खोजेका छैनन् । उहाँले फेरि पनि भारी मतले जित्नुहुन्छ,’ मल्लले भने । उनले पार्टीभित्रको आन्तरिक द्वन्द्व पूर्ण रूपमा अन्त्य भइसकेको उल्लेख गर्दै प्रतिनिधिसभामा देउवालाई र प्रदेशसभामा दुवै उम्मेदवारलाई जिताउन कांग्रेस एकढिक्का भइसकेको दाबी गरे ।
शिक्षक जोशीले वाम गठबन्धनका कारण देउवासामु चुनौती बढेको र यस पटकको चुनावमा कडा टक्कर हुने बताए । ‘वाम गठबन्धनका कारण यस पटक देउवालाई कडा चुनौती थपिएको छ,’ उनले भने, ‘डडेलधुरावासीमा अरूले जिते सांसद मात्र हुने हो, देउवा जिते प्रधानमन्त्री हुन्छन् । जिल्लामा बढी विकास निर्माण ल्याउँछन् भन्ने बुझाइ छ । देउवाको जित्ने आधार पनि यही हो ।’

प्रकाशित : कार्तिक २७, २०७४ ००:३०
प्रतिक्रिया
पठाउनुहोस्

हराए जातीय र क्षेत्रीय मुद्दा

दुर्गा खनाल/लालप्रसाद शर्मा

पोखरा — जातीय पहिचान र अखण्ड नेपाल भन्दै परस्परविरोधी दुइटा आन्दोलनको केन्द्र बनेको कास्कीमा अहिले यी मुद्दा कसैले उठाएका छैनन् । विगतमा यी मुुद्दा उठाउनेहरू कांग्रेस–वाम गठबन्धनको हिस्सा बनेकाले यी दुईबीच सीधा टक्कर हुँदैछ

कास्कीमा जातीय पहिचानको मुद्दा उठाउने उम्मेदवारको बाक्लो प्रचार थियो, २०७० सालको चुनावताका । चोक र सडकमा अन्य दलको भन्दा जातीय, क्षेत्रीय मुद्दा उठाउने दलका पोस्टर, ब्यानर र माइकिङ बढी देखिन्थे । ‘तमुवान’ र ‘अखण्ड पश्चिम’ भन्ने दुई छुट्टाछुट्टै नारासहित आन्दोलन चर्किएको मुख्य केन्द्र कास्कीको दृश्य यो चुनावमा भने बदलिएको छ ।

यसपालि जातीय, क्षेत्रीय मुद्दा उठाउनेहरू मत्थर देखिएका छन् । कांग्रेस र वाम गठबन्धनमै उनीहरूको विलय भएको छ । ‘स्थानीय तह र यो निर्वाचनमा जातीय सवाल ओझेलमा परेको छ । त्यसैले जातीय मतको प्रभाव यो निर्वाचनमा पर्लाजस्तो मलाई लाग्दैन,’ पृथ्वी नारायण क्याम्पसकी उपप्राध्यापक शान्ताकुमारी खत्रीले भनिन्, ‘सबै क्षेत्र र वर्गका मतदाता आफ्नै मोर्चामा बाँधिइरहेका छन् । संगठित भइसकेका छन् ।’

बहालवाला मन्त्री यज्ञबहादुर थापा कांग्रेस र वाम गठबन्धनका युवा नेता रवीन्द्र अधिकारीसम्म यहाँ प्रतिस्पर्धामा छन् । कास्की १ मा मन्त्री थापासँग एमाले नेता पूर्वमन्त्री खगराज अधिकारी भिडदै छन् । २ मा दुई पटक लगातार सांसद जितेका एमालेका युवा नेता अधिकारीसँग पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् कांग्रेसका देवराज चालिसे । ३ मा एमालेका जगत विश्वकर्मासँग कांग्रेसका पुराना नेता शुक्रराज शर्मा प्रतिस्पर्धामा छन् ।

विगतमा मिश्रित परिणाम आउने गरेको कास्कीमा यस पटक पनि स्पष्ट तस्बिर देखिइसकेको छैन । ‘यस पटक जातीय मतले त्यति प्रभाव पार्दैन । ठूला पार्टीका आफ्ना भोट बैंक सुरक्षित नै हुन्छन्,’ राजनीतिकशास्त्रका प्राध्यापक पदमशरण रेग्मीले भने, ‘सहरी मत अस्थिर हुने गर्छ । त्यसैले नयाँ मतदातालाई आकर्षित गर्नेले परिणाम आफ्नो पक्षमा पार्न सक्छन् ।’

कास्कीमा सहरी मतदाता बढी रहेकाले उनीहरूलाई प्रभावित पार्न दुवै गठबन्धनको प्रचार बलियो छ । मत आफ्नो पक्षमा पार्न स्थानीयदेखि राष्ट्रिय राजनीतिका मुद्दासमेत उम्मेदवारहरूले प्रचार गरिरहेका छन् । ‘मुलुकलाई स्थिर सरकार दिएर कास्कीलाई प्रदेश ४ को केन्द्र र पर्यटकीय राजधानी बनाउन वामपन्थी गठबन्धनले मात्र सक्छ,’ एमाले युवा नेता अधिकारीले भने, ‘त्यसैले सबै क्षेत्रमा हामीलाई जनताले जिताउँछन् भन्ने विश्वास छ, विगतको परिणामका आधारमा पनि जित सुनिश्चित छ ।’

कांग्रेस गठबन्धनका नेताहरू पनि आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन् । कांग्रेस उम्मेदवारहरूले विकासका मुद्दासँगै वामपन्थी गठबन्धनले लोकतन्त्र ध्वस्त पार्छ भन्ने प्रचार गर्न छुटाएका छैनन् ।

‘भर्खरै हामीले संविधान जारी गरेका छौं, यो संविधान कार्यान्वयनकै लागि चुनाव हुन लागेको हो तर चुनावपछि यो व्यवस्था नै फेर्ने कुरा कम्युनिस्टहरूले गर्न थालेका छन्,’ कानुनमन्त्रीसमेत रहेका कास्की १ का उम्मेदवार थापाले भने । कम्युनिस्टहरूलाई जिताए लोकतन्त्र नै सुरक्षित नहुनेबारे आफूहरूले मतदातालाई बुझाउने कोसिस गरेको उनी बताउँछन् ।

संविधानसभाको दोस्रो निर्वाचनमा कास्कीमा कांग्रेस र एमालेले २/२ सिट जितेका थिए । पहिलो संविधानसभा निर्वाचनमा भने माओवादीले ३ र एमालेले एक गरी चारै सिट जितेका थिए । ०५६ को संसदीय निर्वाचनमा भने कांग्रेसले तीनै सिट जितेको थियो ।

०४८ देखि ०५६ सम्मका निर्वाचनमा कास्कीमा ३ क्षेत्र थिए । संविधानसभाका दुवै निर्वाचनमा ४ क्षेत्र कायम गरिएकोमा पछिल्लो संरचनाअनुसार ३ क्षेत्र कायम गरिएको छ ।

कास्की १ का दुवै उम्मेदवार पुराना अनुहार हुन् । मन्त्री थापा र पूर्वमन्त्री अधिकारी चुनावी मैदानमा छन् । ०६४ मा पराजित थापा दोस्रो संविधानसभाको निर्वाचनमा भने जितेका थिए । ०४८ को संसदीय निर्वाचनमा कांग्रेसका तारानाथ रानाभाटसँग हारेका अधिकारी ०५१ को मध्यावधि निर्वाचनमा उनै रानाभाटलाई हराए । ०५६ को चुनावमा पनि रानाभाटसँगै चुनावी मैदानमा उत्रिएर पराजित अधिकारीले ०६४ पनि जितेनन् । यस क्षेत्रअन्तर्गत प्रदेशसभा ‘क’ मा कांग्रेसका जीवन परियार, माओवादीका दीपक कोइराला र प्रदेशसभा ‘ख’ मा कांग्रेसका जिल्ला सभापति कृष्ण केसी र एमालेका मनबहादुर गुरुङ प्रतिस्पर्धामा छन् ।

यसैगरी २ नम्बरमा वाम उम्मेदवार अधिकारी एमाले केन्द्रीय सदस्य हुन् । उनले दुवै संविधानसभा निर्वाचन जितेका थिए । कांग्रेसका चालिसेको भने पहिलो अनुभव हो । यस क्षेत्रको प्रदेश ‘क’ मा कांग्रेसबाट गुरु बराल र एमालेबाट जिल्ला अध्यक्ष कृष्ण थापा प्रतिस्पर्धामा छन् । थापा ०७० को निर्वाचनमा कांग्रेसकी शारदा पौडेलसँग पराजित भएका थिए भने बराल पहिलो पटक चुनावी मैदानमा उत्रिएका छन् । प्रदेश ‘ख’ मा कांग्रेसबाट विन्दु थापा र वाम गठबन्धनबाट माओवादी केन्द्रका पोलिटब्युरो सदस्य राजकाजी गुरुङ भिडेका छन् । पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष थापा घरजग्गा र अटो व्यवसायी हुन् । दुई वर्षअघि मात्रै कांग्रेसको सदस्यता लिएका उनले टिकट पाएपछि असन्तुष्टि जनाउँदै नरेशशंकर पालिखेले बागी उम्मेदवारी दिएका छन् । पालिखेलाई कांग्रेसले कारबाही गरिसकेको छ ।

त्यस्तै, कास्की ३ मा कांग्रेसका पुराना नेता शर्मा र वाम गठबन्धनबाट एमाले पोलिटब्युरो सदस्य तथा पूर्वसमानुपातिक सभासद जगत विश्वकर्माबीच रस्साकसी छ । ०४८ र ०५१ मा कास्की २ बाट पराजित शर्मा ०५६ पछि राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए । विश्वकर्माका लागि भने यो पहिलो अनुभव हो । उक्त क्षेत्रको प्रदेश ‘क’ मा निवर्तमान सांसद शारदा पौडेल कांग्रेस र वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रामजी बराल तथा प्रदेश ‘ख मा कांग्रेसका सिकन्दर (भोजबहादुर) गुरुङ र वाम गठबन्धनका एमालेबाट युवा संघका केन्द्रीय अध्यक्ष राजीव पहारी उठेका छन् ।

पौडेलले ०७० को निर्वाचनमा एमालेका कृष्ण थापालाई पराजित गरेकी थिइन् भने बराल सोही निर्वाचनमा हारेका व्यक्ति हुन् । गुरुङ र पहारीका लागि निर्वाचन पहिलो अनुभव हो ।

४ गाउँपालिका र १ महानगर रहेको जिल्लामा नगरको मत नै निर्णायक हुने देखिन्छ । कास्की १ मा रूपा र मादी गाउँपालिका र पोखरा लेखनाथ महानगरका १०, ११, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ वडा पर्छन् । त्यस्तै २ मा महानगरका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१, र ३३ नम्बर वडा पर्छन् । ३ नम्बर क्षेत्रमा अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकासहित महानगरका १, २, ३, ५, ६, १८, १९, २२, २३, २४ र २५ वडा समावेश छन् । महानगरकै मतले उम्मेदवारलाई पल्लाभारी हुने देखिन्छ । यसले पनि उम्मेदवारहरू बढी मतदाता भएको स्थानमा केन्द्रित भएका छन् ।

स्थानीय तहको निर्वाचनमा महानगर, रूपा, मादी र माछापुच्छ्रे गाउँपालिका प्रमुखमा एमाले र अन्नपूर्ण गाउँपालिकामा कांग्रेसले जितेका थिए । उक्त निर्वाचनमा भन्दा अहिले करिब ३० हजार मतदाता संख्या बढेकाले त्यसले परिणामलाई तलमाथि पार्न सक्छ ।

प्रकाशित : कार्तिक २७, २०७४ ००:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्