कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्वाचन अवधिभर मदिरा प्रतिबन्ध

मुगु — प्रतिनिधि र प्रदेशसभाको मतदानदेखि मतगणनासम्म तीन साताका लागि मदिरा प्रतिबन्ध गर्ने निर्णय गरिएको छ । सोमबार जिल्ला प्रहरीमा राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय प्रतिनिधि, होटल व्यवसायी तथा नागरिक समाजका प्रतिनिधिको संयुक्त बैठकले जिल्लाभर मदिरा प्रतिबन्ध गर्ने निर्णय गरेको हो ।


मंसिर ४ गतेदेखि २५ गतेसम्म जिल्लाभर मदिरा बेचबिखन गर्न पाइने छैन । मदिरा सेवनका कारण झैझगडा हुने र शान्ति सुरक्षामा खलल पर्ने भन्दै प्रतिबन्ध लगाइएको सरोकारवालाले जनाएका छन् । मदिरा सेवनका कारण दलीय झडप हुन सक्ने उनीहरूको भनाइ छ । शान्ति सुरक्षामा मदिरा सेवनका कारण समस्या हुने भएकाले करिब तीन साताका लागि जिल्लाभर बिक्रीवितरण र सेवनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । उनका अनुसार सबै उम्मेदवारलाई मदिरा प्रतिबन्ध लगाइएकोबारे जानकारी गराइएको छ । उम्मेदवारलाई जानकारी गराउँदा त्यसको सन्देश कार्यकर्तासम्म पुग्ने उनको भनाइ थियो ।
निर्णय उल्लंघन गरेको पाइए जोकोहीलाई कानुनी दायरामा ल्याएर कारबाही गरिने प्रशासनले जनाएको छ । स्थानीय प्रशासनका अनुसार जिल्लामा मदिरा भित्रिने र बाहिरिने स्थानीय नाका चैन, ताल्चा, भट्टेचौर पुल, पूर्वी करान जाने बाटोलगायतमा सुरक्षाकर्मीको टोली परिचालन गरिने छ । टोलीले मदिरा ओसारपसारबारे निगरानी र आवश्यक जाँच गर्नेछ । प्रहरीले घरदैलो कार्यक्रम गरेर निर्वाचन अवधिभर मधिरा सेवन र बिक्री नगर्न जानकारी गराउने भएको जिल्ला प्रहरीले जनाएको छ । गमगढीका होटलहरूमा सुरक्षा निगरानी राखिनेछ । होटलमा मदिरा भेटिए जफत गरी नष्ट गर्न होटल व्यवसायी सहमत भएका छन् । निर्वाचन अवधिसम्म मदिरा प्रतिबन्ध लगाउनु नमुना काम भएको उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढाले बताए । मुगुमा तिब्बती रक्सी भित्रने गरेको छ । अन्नबाट उत्पादित घरेलु मदिराको समेत यहाँ बिक्री धेरै हुन्छ । निर्वाचन अवधिसम्म मात्र नभएर जिल्लालाई सधैं मदिरामुक्त घोषणा गर्नुपर्ने नागरिक सञ्जालका अध्यक्ष चित्रबहादुर मल्लले बताए ।
‘उम्मेदवार जिम्मेवार हुने’
टीकापुर– निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न उम्मेदवार जिम्मेवार रहने बताएका छन् । कैलाली क्षेत्र नं १ का उम्मेदवारसित शान्तिपूर्ण निर्वाचनका लागि भएको छलफलमा उनीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
संवाद समूह टीकापुरले गरेका उक्त कार्यक्रममा नेताहरूले सद्भाव बिगार्ने काम कसैले गर्न नहुनेमा जोड दिए । लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेले घरघर गएर सबै पार्टीलाई सम्मान गर्दै निर्वाचनमा होमिनुपर्ने बताइन् । उनले भनिन्, ‘निर्वाचन उम्मेदवारबीचको प्रतिस्पर्धा नभई जनतामा हुने भएकाले उनीहरूको मत लिनुपर्छ र उम्मेदवारले आपसी बैमनस्य राख्नु हुन्न ।’ वाम गठबन्धनबाट एमाले उम्मेदवार गरिमा शाहले सबै विचारको सम्मान गर्दै विचारको राजनीतिले निर्वाचनमा जानुपर्ने बताइन् । उनले भनिन्, ‘निर्वाचन विचारको लडाइँ हो । जनतासामु सबैले आआफनो विचार राखेर जनताको मत बटुल्ने हो । यसमा म प्रतिबद्ध छु ।’

प्रकाशित : मंसिर ५, २०७४ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?