कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एजेन्डामै प्रतिस्पर्धा

वीरेन्द्र केसी

अर्घाखाँची — प्रतिनिधिसभामा वाम गठबन्धनका उम्मेदवार टोपबहादुर रायमाझी र कांग्रेसका डा. रामबहादुर बीसी विकास योजना अघि सार्दै मतदाता रिझाउने दौडधुपमा छन् । दुवैजना समृद्ध जिल्ला बनाउने उद्घोष गर्दै भोट माग्न घरदैलो गरिरहेका छन् ।

 एजेन्डामै प्रतिस्पर्धा


पूर्वउपप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता रायमाझी अर्घाखाँची मुलुककै नमूना र समृद्ध जिल्ला बन्ने उद्घोष गर्दै प्रतिनिधिसभामा भोट माग्दै हिँडेका छन् । उनले सबै कोणसभामा पाँच वर्षभित्रमा जिल्लाका ६० हजार युवालाई स्वरोजगार बनाउने दाबी गरेका छन् । कृषि, पशुपालन, उत्पादन, उद्योग र पर्यटन विस्तार गर्ने बताए ।
कहाँ के उत्पादन हुन्छ त्यसको पहिचान गरेर कार्यक्रम भित्र्याउने उनले जनाए । एक घर एक स्वरोजगारमूलक कार्यक्रम भित्र्याएर उत्पादनमा आत्मनिर्भर बनाउने दाबी गरे । ‘महिनामा दस/बीस हजार कमाउन अब विदेश जानु पर्दैन,’ उनले भने, ‘जिल्लाबाट ६० हजार युवायुवती विदेशिएका छन् । ती सबैलाई यहीं काम गरेर जीवन निर्वाह हुन्छ । त्यो योजना मसँग छ ।’
२ सय ४५ मेगावाटको नौमुरे जलविद्युत् जिल्लावासीकै लगानीमा सञ्चालन गर्ने उनले बताए । ‘दुई पटक मन्त्री भएका बेला धेरै योजना भित्र्याएको छु,’ उनले भने, ‘मैले सुरु गरेको योजना पूरा गर्न र जिल्लालाई समृद्ध बनाउन पनि मैले जित्नुपर्छ ।’
आफू ऊर्जा मन्त्री भएको बेला शिलान्यास गरेको अर्घा भगवती विमानस्थल निर्माणलाई पनि उनले मुद्दा बनाएका छन् । उनले आफू मन्त्री भएका बेला सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडकमा बजेट पारेका थिए । एकै दिन हिमाल, पहाड र तराई घुम्न सकिने उक्त सडक र पोखरा–अर्घाखाँची–सुर्खेत सडकलाई मुख्य मुद्दा बनाएका छन् । पोखरा र लुम्बिनी आएका पर्यटकलाई अर्घाखाँची भित्र्याउने र डाँडाकाँडा घुम्ने, रमाउने पर्यटकीय पूर्वाधार र संरचना बनाउने आफ्नो योजना रहेको उनले बताए ।
‘सबै गाउँमा सडक सञ्जाल पुगेको कुन जिल्ला हो भन्दा अर्घाखाँची थियो,’ रायमाझीले भने, ‘अब सबै ग्रामीण सडक पिच र ग्राभेल भएको जिल्ला पनि अर्घाखाँची बन्छ ।’ कृषि, पर्यटन, पूर्वाधार विकासका मूल एजेन्डा हुन् । खोलाको पानी डाँडामा तानेर सबैका घर–घरमा धारा जडान गर्ने उनले बताए । ‘मलाई जिताउनुभयो भने पैसा जति पनि भित्र्याउँछु, केही कमी हुँदैन,’ उनले भने, ‘कृषि, पशुपालन, पर्यटन, सीपमूलक र उद्यमशीलता तालिम, उत्पादनमा आत्मनिर्भरसहित देशकै नमूना जिल्ला बनाउने मेरो सपना छ ।’
बिसीले पनि आफूले जितेमा सांसदको तलब सुविधा बिरामीको उपचारमा र क्यान्सर पीडितका लागि खर्चिने बताएका छन् । भोट माग्न मतदाताको घरदैलो र खेतबारीमा पुगेर उनले गाउँ टोलबस्तीलाई विकास निर्माणमा कमी बन्न नदिने उद्घोष गरेका छन् । सबै टोलसम्मका मोटरबाटो ग्राभेल, खानेपानी, शिक्षा, स्वास्थ्य, बिजुली र पूर्वाधार विकासका काम गर्ने आश्वासन दिएका छन् । ‘सामान्य बिरामी बाहिर जानुपर्छ,’ उनले भने, ‘अर्घाखाँची अस्पतालमा विशेषज्ञ डाक्टरसहित १५ बेडलाई ५० बेड बनाउँछु । वृद्धभत्ता पाउने वृद्धवृद्धालाई नि:शुल्क स्वास्थ्य सेवा दिने व्यवस्था गर्छु ।’
उनले पानीको स्रोत नभएको बस्तीमा लिफ्ट प्रविधिबाट घर–घरमा खानेपानी र सिचाइँ सुविधा उपलब्ध गराएर प्रत्येक घर र टोलबस्तीमा कृषि, फलफूल उत्पादन गराएर आत्मनिर्भर बनाउने योजना रहेको बताए । ‘तरकारी र फलफूल खेतीबाट सबैका घरमा आम्दानीको स्रोत भएपछि परिवार पाल्नकै लागि रोजगार खोज्दै विदेश जान पर्दैन,’ उनले भने ।
कांग्रेसको नेतृत्वमा शान्ति र संविधान बन्यो, अब विकसित नेपालको लागि समृद्धिको अभियान सफल पार्न आफूलाई भोट दिएर जिताउन भन्दै उनी मतदातालाई फकाइरहेका छन् । ‘स्वरोजगार, उत्पादनमा आत्मनिर्भरसहितको समृद्ध जिल्ला बनाउन मैले जित्नुपर्छ,’ उनले भने । सुपादेउराली, पाणिनिलगायत पर्यटकी स्थलको प्रबद्धन र नयाँ संरचना बनाएर धेरै पर्यटक भित्र्याएर होमस्टे सञ्चालन गर्ने पनि उनले बताए । हालसम्म निर्माणाधीन र अलपत्र रहेका योजनालाई पूरा गर्ने, पूर्वाधार बनाएर खेलकुदमा ५ नम्बर प्रदेशकै गन्तव्यस्थल बनाउने उनले दाबी गरे ।

प्रकाशित : मंसिर १८, २०७४ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?