कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘मतदान उत्साहपूर्ण’

काठमाडौं — राष्ट्रिय मानव अधिकार आयोगले दोस्रो चरणको निर्वाचन समग्रमा उत्साहपूर्ण भएको निष्कर्ष निकालेको छ । आयोगको ७ केन्द्रीय र ४५ जिल्लास्तरीय टोलीले मतदानअघि, मतदानको दौरान र मतदान पछिसमेत अनुगमन गरी तयार पारेको तथ्यांकका आधारमा दोस्रो चरणको निर्वाचन उत्साहपूर्ण पाएको हो ।

आयोगका अनुसार केही जिल्लामा छिटफुट झडप र केही जिल्लामा विस्फोटक सामग्री बरामद हुनुका बाबजुद पनि निर्वाचन शान्तिपूर्ण थियो । 
आयोगकी प्रवक्ता मोहना अन्सारीले बिहीबार साँझ जारी गरेको विज्ञप्ति अनुसार कञ्चनपुर, सर्लाही, मकवानपुर र भक्तपुरलगायत जिल्लामा विस्फोटक पदार्थ भेटिएका थिए । त्यस्तै, सर्लाही, अछाम र स्याङजालगायत जिल्लामा निर्वाचन क्रममा झडप भएको र त्यसको नियन्त्रणका लागि प्रहरीले हवाई फायरसमेत गर्नुपरेको आयोगको अनुगमनले देखाएको छ । आयोगका अनुसार अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ५ स्थित मथुरा माविको निर्वाचन केन्द्र ‘ख’ मा मतदान अधिकारीको हस्ताक्षरै नभएको मतपत्र पाएपछि मतदान स्थगित गरिएको छ । 
डडेलधुरा, नवलपरासी, ललितपुर, काठमाडौं, भक्तपुर, गुल्मी, सुनसरी, सल्यान, स्याङजा र धनकुटामा निर्वाचन क्रममा बम विस्फोट भएको थियो । आयोगका अनुसार पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित एक मतदान केन्द्रमा प्रदेशसभाको मतपत्र प्रतिनिधिसभामा खसेका कारण विवाद हुँदा केहीबेर मतदान रोकिएको थियो । पूर्वी नवलपरासीको देवचुली गाउँपालिकामा विस्फोटबाट केही व्यक्ति घाइते भएका पनि आयोगले जनाएको छ । यस्तै, अधिकांश जिल्लामा मतदाता शिक्षा कमजोर देखिएको पनि आयोगको अनुगमन टोलीको प्रतिवेदनमा उल्लेख छ । आगामी दिनमा मतदाता शिक्षा पूर्ण रूपमा लागू गर्न र मतदानकेन्द्र अपांगमैत्री बनाउन आयोगले निर्वाचन आयोगलाई सुझावसमेत 
दिएको छ । त्यस्तै, अपांग, अशक्त र वृद्धवृद्धाका लागि प्राथमिकतासाथ मतदानस्थलमा पुग्ने व्यवस्था नभएकाले मतदान गर्ने अधिकार प्रयोग गर्दा उनीहरूले निकै सास्ती खेप्नुपरेको पनि अनुगमन क्रममा पाइएको छ । 

 

प्रकाशित : मंसिर २२, २०७४ ०६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?