कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीधा यातायातले उपभोग्य वस्तुको भाउ घट्यो

डम्बरसिं राई

खोटाङ — सहरसँग सीधा यातायात सुरु भएपछि जिल्लामा उपभोग्य वस्तु तथा निर्माण सामग्रीको भाउ घटेको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने जयरामघाटस्थित दूधकोसी नदीमा पुल सञ्चालनमा आएपछि सीधा यातायातले उपभोग्य वस्तुको भाउ घटेको हो ।

सीधा यातायातले उपभोग्य वस्तुको भाउ घट्यो

खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लयालुका अनुसार जयरामघाटस्थित दूधकोसी पुल नहुँदा त्यहाँको झोलुंगे पुलमा सामान लोड–अनलोड र भरिया खर्च गर्न नपर्ने हुँदा उपभोग्य वस्तुमा प्रतिकेजी करिब पाँचदेखि दस रुपैयाँसम्म मूल्य घटेको छ । ‘सीधा यातायात भएपछि उपभोग्य वस्तुको मूल्यमा प्रतिकेजी पाँचदेखि दस रुपैयाँसम्म भाउ घटेको छ ।’ लयालुले भने, ‘सडक पुल नहुँदा लोड–अनलोड र भरिया खर्च नपर्ने भएकाले उपभोक्तालाई आर्थिक रूपमा सहज भएको छ ।’ लयालुले थपे, ‘यसले गाउँ–गाउँमा समेत उपभोग्य वस्तुको भाउ घटेको छ ।’ व्यवसायी राजन आचार्यका अनुसार पहिलेकै सामान स्टक रहे पनि सीधा यातायातको प्रभावले मूल्य घटेको सुनाए । उनका अनुसार चिनी प्रतिकेजी ९५ रुपैयाँबाट ९०, नुन ३० बाट २५, तोरीको तेल प्रतिलिटर १ सय ४० बाट १ सय ३५, चामल प्रतिबोरा २ सय, ग्यास प्रतिसिलिन्डर २ सय ५० रुपैयाँ घटेको छ । 
यसबाहेक डिलरसिपबाट वितरण हुने पेय पदार्थलगायतका सामग्रीको समेत मूल्य घटेको छ । सीधा यातायात हुँदा कम्पनीहरूले नै ढुवानी गर्ने भएकाले मूल्य घटेको आचार्यले जनाए । अझै पनि अधिकतम खुद्रा मूल्यमा भने बिक्री हुन सकेको छैन । यसलाई मध्यनजर गरेर उपभोक्ताले सामान खरिद नगरेकाले उपभोक्ता थप मारमा परेको खोटाङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष खुसनारायण सैंजूले बताए । ‘उपभोक्ताहरूले सामान खरिद गर्दा एमआरपी हेर्दैनन् ।’ सैंजूले भने, ‘यसका लागि उपभोक्ता आफैं सचेत हुन जरुरी छ ।’ उनले थपे, ‘हरेक सामानको म्याद र मूल्य निर्धारण गरिएको हुन्छ तर उपभोक्ताले ख्यालै गर्दैनन् ।’
निर्माण सामग्रीमा पनि मूल्य घटेको छ । निर्माणसम्बन्धी सामग्री बिक्रेता नवराज जोशीका अनुसार सिमेन्टमा प्रतिबोरा दुई सय, रड प्रतिक्विन्टल पाँच सय रुपैयाँले घटेको छ । सीधा यातायात सञ्चालनले निर्माणका काममा समेत सहज भएको छ । निर्माणमा करिब २५ प्रतिशतले मूल्यमा सहज आउने निर्माण व्यवसायी संघका सचिव कृष्ण घिमिरेले बताए । ‘सीधा यातायातले समग्रमा करिब २५ प्रतिशतले मूल्यमा सहजता हुन्छ ।’ घिमिरेले भने, ‘यसले सम्पूर्ण निर्माणसम्बन्धी कामले 
दु्रतगति लिनेछ ।’
सीधा यातायातपछि जिल्लामा उत्पादित अलैंची, सुन्तला, अदुवालगायतका कृषिजन्य सामग्रीसमेत सहर जान सहज भएको छ । यद्यपि कति निकासी भयो भन्ने विवरण भने आउन बाँकी रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख श्यामप्रसाद घिमिरेले बताए । यातायातमा भने भाडा निर्धारण नहुँदा यात्रुले मार खेपिरहेका छन् । 

प्रकाशित : मंसिर २२, २०७४ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?