बेलचौर (सुर्खेत) — कस्तो गाउँलाई खुसी भन्ने ? केके भयो भने सिंगै गाउँ खुसी बन्न सक्छ ? पश्चिम सुर्खेतको बराहताल गाउँपालिका ८ बेलचौरका आमा पछिल्ला दुई वर्षयता गाउँलाई नै खुसी बनाउन होमिएका छन् । यसका लागि उनीहरू आफैंले दर्जनभन्दा बढी सूचक बनाएका छन् । तीनै सूचक पूरा भएपछि चैत महिनाभित्रै बेलचौर ‘खुसी गाउँ’ हुनेछ ।
बेलचौरमा ५६ घरधुरी छन् । तीमध्ये ५३ घरका महिला बेलचौर स्वावलम्बन आमा समूहमा आवद्ध छन् । समूहकै पहलमा बेलचौर गाउँ खुसी बन्न लागेको हो । हरेक सदस्य व्यवसायमा लागेको हुनुपर्ने, बालबालिकालाई स्कुल भर्ना गरेको हुनुपर्ने, महिला हिंसा, जातीय विभेद शून्य हुनुपर्ने, बालविवाह, वहुविवाहमुक्त हुनुपर्ने, हरेक घरले पूर्ण सरसफाइका सबै सूचक पूरा गरेको हुनुपर्ने, सहकारी आवद्ध भएकोजस्ता मापदण्ड छन् । ‘जति सूचक बनाएका छौं । तीमध्ये पूरा भएका छन्,’ समूहकी उपाध्यक्ष कृष्णा बोगटी भन्छिन्, ‘चैतभित्रै खुसी गाउँ घोषणा गर्ने तयारीमा छौं ।’
बेलचौरमा एउटा नारा छ, ‘खुसियाली घर, खुसियाली गाउँ ।’ घरघरका भित्तामा यही नारा लेखिएको छ । बालविवाहविरुद्ध आमाहरूले यति आक्रामक अभियान चलाएका छन् कि हुनै लागेको विवाहसमेत रोकिदिन्छन् । यस्ता थुप्रै उदाहरण छन्, उनीहरूसँग । ‘यस वर्षमात्रै दुई जोडीको बालविवाह रोक्न सफल भयौं,’ कृष्णा भन्छिन्, ‘बेलचौरमा त कसैले बालविवाह गर्ने आँट गर्दैन ।’ जुवातास, रक्सीविरुद्धको अभियान पनि सशक्त छ ।
प्रहरी चौकी कुनाथरीका अनुसार बेलचौरमा मदिराकै कारण कुटपिटका घटना शून्य भएका छन् । यसले पारिवारिक सम्बन्ध मजबुत बनेको आमाहरूको दाबी छ । प्रहरी हवल्दार कर्ण सिंह भन्छन्, ‘केही वर्षअघि झैझगडाले गावै अशान्त हुन्थ्यो । पतिपत्नीदेखि गाउँलेबीचको झगडा प्रहरी चौकीमा नआएको दिनै हुन्थेन । अहिले शान्तिपूर्ण छ ।’
आमा समूहले ३५ वर्षदेखि हुन नसकेको विद्यालय र वन उपभोक्ता समितिको सार्वजनिक लेखापरीक्षण गर्यो । वन उपभोक्ता र स्कुल व्यवस्थापन समितिलाई गाउँलेसमक्ष हिसाबकिताब झर्लंग पार्न बाध्य पारे । ‘सार्वजनिक लेखापरीक्षणले हाम्रो विश्वास झन् बढ्यो,’ समूहका अर्का सदस्य सुमित्रा सिञ्जाली भन्छिन्, ‘आजभोलि गाउँपालिकाले कुनै काम दिनुपर्यो भने हाम्रै समूहलाई दिन्छ ।’ बेलचौरका सबै बालबालिका नियमित स्कुल जान्छन् । पछिल्ला वर्ष त्यहाँका कसैले पनि स्कुल छाडेको तथ्यांक छैन ।
विद्यालय भर्ना अभियानताका आमा समूहकै प्रयासमा गाउँका शतप्रतिशत बालबालिका स्कुल पठाउन सम्भव भएको हो । घरमा पढ्ने, होमवर्क गर्ने वातावरण नभएका बालबालिकाका लागि होमवर्क सेन्टर सञ्चालनमा ल्याइएको छ । जहाँ बसेर विद्यार्थीले सहजकर्ताको निगरानीमा होमवर्क गर्छन् ।
स्ट्रोमा फाउन्डेसनको आर्थिक तथा किर्डाक नेपालको प्राविधिक सहयोगमा सञ्चालित सिड्स कार्यक्रमले समूहको सशक्तीकरणमा सहयोग पुर्याउँदै आएको छ । कार्यक्रमकै पहलमा आमा समूहले गरेका अनुकरणीय कामको फेहरिस्त लामै छ । एक घर दुई लिची अभियान चलाए । हाल सिंगै गाउँमा ८ सय लिचीका बोट हुर्किरहेको देख्न सकिन्छ । ग्रामीण सडक, झोलुंगे पुल निर्माणमा तोकिएको श्रमदानका अतिरिक्त थुपै्र काममा सघाए ।
समूहकी सदस्य चन्द्रा गौतम दुनाटपरी उद्योग सञ्चालन र अर्गानिक गाउँ निर्माणका लागि गाउँपालिकामा प्रस्तावना पेस गरेको बताउँछिन् । दुनाटपरीबाट रामै्र कमाउन सकिने उनीहरूको अपेक्षा छ । वीरेन्दनगर नजिकै भएकाले बजारको समस्या नहुने चन्द्राले सुनाइन् । बेलचौरका आमाहरू कति सशक्त छन् त्यति बुझ्नै पर्दैन, त्यहाँको वन उपभोक्ता समिति, स्कुल व्यवस्थापन, सरसफाइ समिति, सडक निर्माणलगायत स्थानीय संयन्त्रमा उनीहरूकै नेतृत्व छ ।
०६५ मा स्थापना भएको समूहमा १ लाख ४४ हजार ६ सय २३ रुपैयाँ बचत छ । त्यस्तै, समूहले २ लाख २९ हजार ४ सय ७३ रुपैयाँ ऋण लगानी गरेको छ । समूहको आफ्नै भवन छ । मासिक ५ बाट सुरु गरेर अहिले प्रतिसदस्य ५० रुपैयाँ बचत गर्छन् ।
पोसाकमा पनि एकरूपता अपनाएका छन् । सबैले सामूहिक काममा मगर पोसाक लगाउँछन् । समूहकी सचिव निर्मला दर्लामी पारिवारिक विकास योजना बनाएर आयआर्जनको क्रियाकलाप सञ्चालन
गरेको बताउँछिन् ।