कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीरबलको खिचडी नबनोस् सरकार

लामो अड्कलबाजीबीच चुनाव सम्पन्न भयो । यहाँसम्मको यात्रा पनि नेताको दोषारोपण प्रवृत्तिलाई हेर्दा सहज थिएन । आफ्नो अस्तित्वका लागि होस् वा जनताको हितका लागि हुनैपर्ने र गर्नैपर्ने काम गरे, दलहरूले ।

 वीरबलको खिचडी नबनोस् सरकार

यसको नेतृत्व देउवा सरकारले गर्‍यो, भलै त्यसको परिणाम भने नेपाली कांग्रेसका लागि सुखद रहेन । जनप्रतिनिधि निर्वाचित भइसकेको र वाम घटकले स्पष्ट बहुमत ल्याइसकेको परिप्रेक्ष्यमा देउवा सरकारले विभिन्न बहानामा सरकारमा बसिरहनु पटक्कै सुहाउँदैन । आफ्नो
विगतका कमी–कमजोरीको समीक्षा गर्दै आगामी दिनका लागि राम्रो र उदाहरणीय कार्य गरेर आफ्नो साख जोगाउनुपर्ने बेलामा उल्टै जनादेश विरुद्ध कदम चाल्नु बेमौसमको बाजा बजाई अरुलाई हँसाउनु र आफ्नो खुट्टामा आफैँ बञ्चरो हान्नु हो । जिम्मेवार अभिभावकको भूमिका ग्रहण गर्दै आफैँ सत्ता हस्तान्तरण गरेर इमानदारीको राजनीति प्रस्तुत गर्नुपर्ने बेलामा कांग्रेस त्यसमा पनि देउवाका तर्फबाट गरिएको ढिलासुस्ती र बहानाबाजी सत्तालोलुपता र पराजित मानसिकताको भद्दा रूप हो । यस्तो कार्यले कांग्रेसकै भाषामा लामो र गरिमा बोकेको दललाई शोभा दिन्न । यस्तै चाला रहे न सरकार बेलैमा बन्छ,
न संविधानको कार्यान्वयन सम्भव छ र नत नयाँ नेपालको चाहना नै पूरा हुन्छ ।
एकातिर जितको दम्भ र अर्कातिर हारको पीडाबीच नेपाली राजनीति एकपटक फेरि अन्योलमा परेको छ । यो झट्ट हेर्दा क्षणिकजस्तो देखिए पनि दलहरू बीचको तिक्तताले कतिपय राष्ट्रिय गौरवका विषयमा प्रत्यक्ष असर पर्ने कुरामा शङ्का छैन । सहमतिको राजनीतिभन्दा विमतिमा बढी विश्वास कमाएका दलहरूको यस्तो अवस्था धमिलो पानीमा माछा मार्न पल्केकाहरूका लागि प्रतीक्षाको विषय हो । यस्तो अन्योल र बेमेल जति लामो रहन्छ, त्यत्ति नै देशले मूल्य चुकाउनुपर्छ । अत: राजनीतिक जिम्मेवारी बहन गर्दै समयमै सरकार गठन गर्न पक्ष र विपक्षले एकपटक सहमति र समझदारीको हात अघि नबढाउने हो भने सरकार गठन वीरबलको खिचडी बन्नेछ ।
– लक्ष्मीनारायण मिश्र
शिवसताक्षी–११, झापा

प्रकाशित : पुस ५, २०७४ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?