ग्यास कि सिलिन्डर बम ?

वीरगन्जमा भीषण आगलागी
अग्नि नियन्त्रककै मृत्यु
भूषण यादव

वीरगन्ज — वीरगन्ज महानगरपालिका–२२ सुखचैनामा रहेको सुपर ग्यास उद्योगमा बुधबार भीषण आगलागी हुँदा निभाउन पुगेका दुई अग्नि नियन्त्रककै जलेर मृत्यु भएको छ । अरू दुई अग्नि नियन्त्रक घाइते छन् । ग्यास लिक हुँदा भएको आगलागीमा उद्योगमा रहेका सिलिन्डर निरन्तर पड्किएका थिए ।

वीरगन्ज महानगरपालिका–२२ सुखचैनामा रहेको सुपर ग्यास उद्योगमा बुधबार भीषण आगलागी हुँदा निभाउन पुगेका दुई अग्नि नियन्त्रककै जलेर मृत्यु भएको छ । अरू दुई अग्नि नियन्त्रक घाइते छन् । ग्यास लिक हुँदा भएको आगलागीमा उद्योगमा रहेका सिलिन्डर निरन्तरपड्किएका थिए । स्थानीय र आसपासकाआधा दर्जनभन्दा बढी गाउँका बासिन्दा ज्यान जोगाउन बस्तुभाउ लिएर घर छाडेका थिए ।

बिहान ५ बजे ग्यास लिक भएपछि लागेको आगो दिउँसो १ बजे मात्र केही कम भएको थियो । आगलागी ३ बजेमात्र पूर्ण नियन्त्रणमा आएको थियो । ठूलो क्षति हुन नदिन सुरक्षाकर्मीले घटनास्थलभन्दा एक किमि वरैबाट सर्वसाधारणलाई जान दिएका थिएनन् । आगो कम भएपछि भित्र छिरेका अन्य उद्योगका प्राविधिक र सुरक्षाकर्मीले फायर एक्सटिनग्युजर (अग्नि नियन्त्रक), भिजेको बोरा, माटो र बालुवाको सहयोगले स्थिति नियन्त्रणमा लिएका थिए ।
क्षति रोक्न प्रशासनले वरिपरिको बस्ती खाली गराएपछि अब के हुने हो भनेर स्थानीयवासी झनै डराएका थिए । सबैले घर छाडेकाले उद्योग आसपासका आधा दर्जनभन्दा बढी गाउँमा बिहान चुलो बलेन । राज्यले उद्योग सञ्चालनको अनुमति दिने तर त्यसबाट उत्पन्न हुन सक्ने जोखिम रोक्न नसकेकामा स्थानीयले आक्रोश पोखेका थिए ।
सुखचैनास्थित गण्डक नहर छेउमै रहेको उद्योगमा भारतीय बुलेटबाट भण्डारण ट्यांकीमा अनलोडिङ गर्ने क्रममा ग्यास लिक भएको उद्योगका प्रबन्धक दिवाकर झाले बताए ।
लिक नियन्त्रण गर्न नसकेपछि प्राविधिकले बरुणयन्त्रलाई फोन गरेका थिए । उद्योगबाट करिब ५ किमि टाढा रहेको वीरगन्ज महानगरपालिकाको बरुणयन्त्र पुगुन्जेल वरिपरि ग्यास फैलिसकेको थियो । उद्योगका कामदार एव प्रत्यक्षदर्शी सन्तोष पटेलका अनुसार मुख्य गेट अगाडि बरुणयन्त्र पुगेको केहीबेरमै आगलागी भयो । ‘अग्नि नियन्त्रक उद्योगभित्र प्रवेश गर्नसमेत भ्याएनन्,’ उनले सुनाए, ‘आगो लाग्नासाथै ग्यासका सिलिन्डर पडकन थाले, बरुणयन्त्रको पाइप झिक्न तल झरेका अग्नि नियन्त्रक आगोको मुस्लोमा परे ।’ बरुणयन्त्रसमेत पूर्ण रूपले जलेको छ । पटेलका अनुसार अग्नि नियन्त्रक मधुसूदन मिश्रा र यादवप्रसाद अधिकारी सडक तल रहेको खेततर्फ दौडिए । अर्का अग्नि नियन्त्रक सन्जीव नेपाल सडक हुँदै भागे । चालक अरुणकुमार महतो नहर पार गरेर पूर्वको खेततर्फ दौडिए । घाइते भएका महतो र नेपालको वीरगन्जमा उपचार हुन नसकेपछि सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ । मिश्रा र अधिकारीको खेतमै जलेको अवस्थामा शव बरामद भएको प्रहरीले जनाएको छ ।
खबर पाएपछि बिहान गण्डक चोकबाट पश्चिम हुँदै कान्तिपुर संवाददाता घटनास्थलतर्फ जाँदा बाक्लो धूवाँको मुस्लो उडिरहेको थियो । सेना, सशस्त्र र प्रहरी टोलीले उद्योग परिसरभन्दा एक किलोमिटरको दूरीमा स्थानीयलाई रोकेका थिए । उद्योग वरिपरिको जगरनाथपुर, सुखचैना, भवानीपुर, मनियारी, बहुअरीका स्थानीय घर छाडेर सुरक्षित ठाउँतर्फ गइरहेका थिए । चारैतर्फ त्रासको वातावरण थियो । अधिकांश विद्यालयले आइसकेका विद्यार्थीलाई घर फिर्ता पठाए । उच्च अदालतको वीरगन्जस्थित अस्थायी इजलासको बार एसोसिएसनले बेन्च स्थगित गर्ने निर्णय लिएको थियो । आगलागीले भीषण रूप लिएपछि स्थानीय प्रशासनले बारा, रौतहट, सिमरा विमानस्थल, अमलेखगन्जस्थित आयल निगमको डिप्पो र सीमावर्ती रक्सौलस्थित आईओसीको डिप्पोबाट बरुणयन्त्र मगाएको थियो । आईओसीबाट पेट्रोलियम पदार्थमा आगलागी हुँदा प्रयोग गरिने उपकरण तथा केमिकल पनि मगाइयो । तर ग्यास लिकबाट भएको आगलागी नियन्त्रण गर्ने यन्त्र उपलब्ध नहुँदा नेपाली र भारतीय प्राविधिकले उद्योगभित्र छिर्ने आँट गर्न सकेनन् ।
पछि उद्योगभित्रबाट धूवाँको मुस्लो कम हुँदै गयो । धेरैबेर कुर्दा पनि ग्यास सिलिन्डर विस्फोट नभएपछि करिब एक बजेतिर अन्य ग्यास उद्योगका प्राविधिक र सुरक्षाकर्मीको टोलीले फायर एक्सट्युनगिजर, भिजेको बोरा, बालुवा लिएर उद्योगभित्र प्रवेश गरे । ‘आगो सल्किरहेको ठाउँमा फायर एक्सट्युनगिजर स्प्रे गर्‍यांै,’ एक निजी ग्यास उद्योगका प्राविधिक साह नयन साहले भने, ‘लिक भइरहेको ग्यासको भल्भ टाइट गरी भिजेको बोराले बेर्‍यौं ।’ यसअघि पनि ग्यासबाट भएको आगलागी नियन्त्रणको अनुभव बटुलेका साहले भने, ‘उद्योगका प्राविधिकले ग्यास लिक नियन्त्रण गर्न नसक्दा ठूलो दुर्घटना भयो ।’ करिब ३ बजे आगो पूर्ण रूपले नियन्त्रणमा आएको थियो । उनका अनुसार एलपीजी बुलेटबाट उद्योगको ट्यांकीमा ग्यास डिक्यान्टिङ (अनलोडिङ) गर्ने क्रममा यदि पाइपबाट ग्यास लिक भएमा बुलेटको दुवै भल्भ, स्टोरेज ट्यांकको भल्भ र डिक्यान्टिङ मेसिनको भल्भ बन्द गर्नुपर्छ । ‘एक जनाले मात्रै यी भल्भहरू बन्द गर्न सकिन्न,’ उनले भने, ‘कम्तीमा ३ प्राविधिक आवश्यक पर्छ ।’ प्रमुख जिल्ला अधिकारी विनोदकुमार सिंहले ग्यास लिकबाट भएको आगलागी नियन्त्रणका लागि विशेष फोमयुक्त यन्त्र नभएकाले कठिनाइ भएको बताए ।
उद्योग परिसरमा रहेका चारवाट भारतीय नम्बरका एलपीजी बुलेटका चक्का र क्याबिन जलेर नष्ट भएका छन् । सिलिन्डर लोड गरेको गाडी पनि जलेको छ । आगलागीबाट भएको क्षति हालसम्म यकिन नभएको उद्योगका प्रबन्धक झाले बताए ।

Yamaha


९० प्रतिशत ग्यास उद्योग मापदण्ड बाहिर
-राजु चौधरी
काठमाडांै– मुलुकमा रहेका ५५ ग्यास उद्योगमध्ये ९० प्रतिशतले मापदण्ड पूरा गरेका छैनन् । ‘अनुगमनका क्रममा १० प्रतिशतले मात्रै मापदण्ड पालना गरेको देखिन्छ,’ गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘उद्योगहरू भगवान् भरोसामा चलेका छन् ।’
सिलिन्डर फुट्ने र ग्यास चुहिएर आगो लाग्ने जस्ता घटना पटक–पटक दोहोरिए पनि उद्योगहरूको अनुगमनमा सरकारी निकाय उदासीन छन् । अनुगमन नहुँदा व्यवसायीको लापरबाही झनै चरम भएको छ । बजार अनुगमन, नियमन र मूल्य हस्तक्षेप गर्ने जिम्मा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, गुणस्तर विभाग र आयल निगमको हो । विभागले छिटपुट अनुगमन गरे पनि निगमले गरेको छैन ।
यस क्षेत्रलाई व्यवस्थित बनाउन ‘एलपी ग्यास बोटलिङ प्लान्टका लागि मापदण्ड’ बनाइएको थियो । उक्त मापदण्ड नेपाल गुणस्तर परिषद्ले २०७० पुसमा अनुमोदन गरेपछि २०७३ कात्तिक २९ मा राजपत्रमा प्रकाशित भएको थियो । ‘मुलुकमा २०४८ देखि ग्यास उद्योग सञ्चालनमा छन् र तिनले धेरै पुराना सिलिन्डर प्रयोग गरिरहेका छन्,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘उद्योगीहरू नयाँ संरचनामा नजानु र पुरानो सिलिन्डरमै ग्यास वितरण गरिरहँदा लिक हुने, पड्कने घटना बढेका छन् ।’ अनुगमन नगर्ने सरकारी निकाय र मापदण्ड पूरा नगर्ने उद्योगलाई कानुनी दायरामा नल्याए अझ भयावह दुर्घटना निम्तिन सक्ने उनले बताए ।
मापदण्डअनुसार ग्यास उद्योगले सिलिन्डरमा अनिवार्य एनएस चिह्नराख्नुपर्छ । तर हालसम्म ४ उद्योगले मात्र यस्तो चिह्न लिएका छन् । आठवटा उद्योग एनएस चिह्न लिने क्रममा छन् । ‘उपभोक्ताको हकहित र सुरक्षालाई ध्यान राखेर एनएस चिह्न लागू गरिएको थियो, तर उद्योगीले धेरै कुरामा खेलबाड गरेका छन्,’ उनले भने, ‘चिह्न लिन पनि नटेर्नुभन्दा गैरजिम्मेवारी के हुन्छ ?’
हाल आयल निगमले ग्यासको पीडीओ जारी गरेपछि उद्योगीले आयात गरी रिफिलिङ मात्र गरेर बजारमा पठाउँदै आएका छन् । नेपाल भित्रिएपछि निगमले सुरक्षाका विषयमा अनुगमन नगर्दा पनि समस्या भएको पुडासैनीको भनाइ छ ।
विभागका अनुसार ग्यास लिकेज हुन नदिन हाइड्रोलिक परीक्षणलगायत सुरक्षाका प्रावधान दैनिक जाँच गर्नुपर्छ । तर अधिकांश उद्योग मनोमानी रूपमा सञ्चालन हुँदै आएका छन् । ग्यास क्षेत्रलाई व्यवस्थित गर्न निगमले एलपी ग्यास विनियमावली २०६५ र एलपी ग्यास ढुवानी विनियमावली २०७३ समेत जारी गरेको छ । तर, उद्योगीले कार्यान्वयन गरे/नगरेको अनुगमन गरिएको छैन । निगमका प्रवक्ता वीरेन्द्र गोइतले अस्पष्ट तर्क गरे ।
‘पम्पहरू अनुगमन भएका छन्,’ उनले भने, ‘ग्यास उद्योग पनि अनुगमन भएको हुनुपर्छ ।’ गोइतले उद्योगमा अनुगमन भएको हुन सक्ने दाबी गरे पनि निगमकै एक अधिकारी भने अनुगमन नभएको बताउँछन् । ‘अनुगमनको नाममा एउटा छुट्टै शाखा छ,’ ती अधिकारीले भने, ‘तर, अनुगमन भएको कुनै तथ्यांक छैन ।’ विनियमावलीअनुसार निगमसँग आबद्ध भई प्रोडक्ट डेलिभरी अडर (पीडीओ) प्राप्त गरी कारोबार गर्न चाहने उद्योगले सेवा, सुविधा र सुरक्षाको प्रत्याभूतिको ग्यारेन्टी गर्नुपर्ने, उद्योग स्थापना नभएका जिल्ला/क्षेत्रमा उद्योग सञ्चालन गर्नुपर्ने, गाउँबस्तीभन्दा ५ किमि दूरीमा स्थापना गर्नुपर्ने उल्लेख छ ।
प्रस्तावित उद्योग हाल सञ्चालनमा रहेका उद्योगभन्दा कम्तीमा ५ किलोमिटरको दूरीमा भएको हुनुपर्ने उल्लेख छ । तर, संसदीय समितिले समेत थप ग्यास उद्योग नथप्न दिएको निर्देशन उल्लंघन गर्दै निगमले १७ उद्योगलाई शाखा थप्न अनुमति दिएको थियो । एक वर्षको अवधिमा १७ वटा ग्यास उद्योगले शाखाको अनुमति दिइएको थियो । १७ वटामध्ये ८ वटा शाखा धादिङका लागि अनुमति पाएका छन् ।
विनियमावलीअनुसार उद्योगले प्रयोगमा ल्याउने ग्यास सिलिन्डरको आवश्यक जाँच तथा परीक्षण गराई जाँच पासको प्रमाणपत्र प्राप्त गरेका भल्भसहितको सिलिन्डरमा मात्र ग्यास भर्नुपर्ने उल्लेख छ । कम्पनीले ग्यास लिलिन्डर बिक्री गर्दा हाइड्रोलिक परीक्षण गरेको, सिलिन्डर परीक्षण गरिएको मिति, अर्को पटक पुन: जाँच गराउने मिति उल्लेख गर्नुपर्ने जनाएको छ । मापदण्डमा सिलिन्डर नकुच्चेको, रङ नखुइलेको, सिलिन्डरको मार्किङ लेबल स्पष्ट देखिनुपर्ने, ग्यासको तोकिएको तौल १४ दशमलव २ केजी हुनुपर्नेलगायत बुँदा उल्लेख छ । यी प्रावधान उद्योगीहरूले कार्यान्वयन गरेको पाइँदैन ।
ग्यासमा समय–समयमा हाइड्रोलिक परीक्षण अनिवार्य गर्नुपर्छ, सिलिन्डरमा सेफ्टी क्याप अनिवार्य हुनुपर्छ । मुख्यत: ग्यास भल्भका कारण जोखिम हुन्छ । ग्यासको भल्भ पुन: प्रयोगले जोखिम बढ्दै जान्छ । ग्यासको भल्भ एक पटक प्रयोग गरेपछि पुन: प्रयोग गर्न हुँदैन । ‘तर, बजारमा सफा गरेर पुन: प्रयोग गरिएको पाइन्छ, भल्भ मर्मत गर्दा जोखिम बढी हुन्छ,’ अध्यक्ष तिमिल्सिनाले भने । गुणस्तर विभागका अनुसार नयाँ बनेको सिलिन्डरको आयु करिब ४० वर्ष हुन्छ । सिलिन्डर बनेको १० वर्षमा हाइड्रोस्टाटिक टेस्ट गर्नुपर्छ । प्रत्येक ५/५ वर्षमा पुुन: गर्नुपर्छ । त्यसपछि ३/३ वर्षमा गर्नुपर्छ ।
विनियमावलीअनुसार तोकिएको स्ट्यान्डर्ड तौलभन्दा बढी वा घटीमा ग्यास बिक्री गर्नु नहुने र बिक्रेताले चाहेमा हरेक सिलिन्डर तौल गरेर मात्र डेलिभरी दिने व्यवस्था मिलाउनुपर्छ । ग्यास सिलिन्डर स्टोर गर्ने ठाउँलगायत बिक्री स्थलहरूमा सबैले सजिलै देखिने ठाउँमा आफूसित भएको स्टक अनिवार्य रूपमा राख्नुपर्छ । बिक्रीस्थलको वातावरण र प्रदूषण नियन्त्रणका साथै सुरक्षाको समेत व्यवस्था गर्नुपर्छ । उद्योग एवं बिक्रीस्थलको सुरक्षालाई मध्यनजर राखी निर्माताको स्पेसिफिकेसनबमोजिम पर्याप्त संख्यामा अग्नि नियन्त्रण उपकरण चालु अवस्थामा राख्नुपर्ने, उद्योगमा रहेको ट्यांकको क्षमताअनुसार ग्यास र पम्प, ट्यांक/बुलेट) को बिमा गराउनुपर्ने उल्लेख छ । आपूर्ति सचिव अनिल ठाकुरले प्राविधिक छानबिन गर्न समिति गठन गरेको बताए । ‘उद्योगले सुरक्षाको मापदण्ड अपनाएका छन् कि छैनन् समितिले अध्ययन गर्छ र सोही अनुरूप कानुनी प्रक्रिया अगाडि बढाइनेछ,’ उनले भने ।
निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले उद्योगीले लापरबाही गरेको बताए । ‘आईओसीले जसरी फिटिङ गरिदियो, त्यसपछि व्यवसायीले कुनै पनि खालेको ‘मेन्टेन’ गरेका छैनन्,’ उनले भने, ‘आयात गरेको ग्यास परीक्षणसमेत नगरी रिफिलिङ गरी घरघरमा पुर्‍याउने काम मात्र भएको छ । त्यो भनेको घरघरमा सिलिन्डर बम पुर्‍याउनु हो ।’ उनले अनुगमन गरेर लापरबाही गरिरहेका उद्योगलाई सिल गर्न बुधबार नै निगमअन्तर्गतको एलपीजी विभागलाई निर्देशन दिइएको बताए ।

प्रकाशित : पुस ६, २०७४ ०६:३३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

२८.५ प्रतिशत नेपाली गरिबीको रेखामुनी

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो अध्ययनका अनुसार प्रदेश नम्बर २ र ६ मा सबैभन्दा बढी लगभग आधा मानिस बहुआयामिक रुपले गरिब छन् । प्रदेश नं २ र ६ मा ५५ प्रतिशत जनता गरिबीको रेखामुनी रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

स्वास्थ्य, शिक्षा, जीवनयापन, पोषणको अवस्था, लगायतको बहुआयामिक पक्षलाई समेटेर तयार पारिएको अध्ययनले प्रत्येक हजारमा २ सय ८६ व्यक्ति गरिब रहेको जनाएको हो। यसअघि केन्द्रीय तथ्यांक विभागले एकल प्रणालीका आधारमा २१ दशमलब ६ प्रतिशत नेपाली गरिबीको रेखामुनी रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो। पछिल्लो अध्ययनका अनुसार प्रदेश नम्बर २ र ६ मा सबैभन्दा बढी लगभग आधा मानिस बहुआयामिक रुपले गरिब छन्।

प्रदेश नं २ र ६ मा ५५ प्रतिशत जनता गरिबीको रेखामुनी रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ। यस्तै प्रदेश नं ३ र ४ मा १५ प्रतिशतभन्दा कम तथा प्रदेश नं ५ र ७ मा ३० प्रतिशत जनसंख्या गरिबीको रेखामुनी छन्। उमेर समुहका हिसावले सबैभन्दा बढी ९ वर्षसम्मका बालबालिका गरिबीको रेखामुनी छन्।

तथ्यांक विभागका महाप्रबन्धक सुमनराज अर्याल र अक्स्फोर्ड युनिभर्सिटीका गरिबी र मानव विकास अभियानका निर्देशक सविना अल्किरेको सहयोगमा प्रतिवेदन तयार पारिएको थियो। प्रतिवेदन सार्वजनिक गर्दै आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लले सन् २०३० सम्म विकसित मुलुकको सूचीमा जाने लक्ष्य राखेको नेपालका लागि यो प्रतिवेदनले सहयोग पुर्‍याउने दाबी गर्नुभयो।

नेपालमा मौद्रिक तथा गैर मौद्रिक दृष्टिबाट गरिबी घटाउने कार्य प्रभावकारी भएपनि पोषण र शिक्षा क्षेत्रमा सुधार गर्न नीतिगत चूनौती रहेको उहाँको भनाई थियो। कार्यक्रममा अक्सफोर्डका निर्देशक अल्किरेले राष्ट्रिय गरिबी निवारणमा उत्साहजनक रुपमा कमी आएकामा नेपालको प्रशंसा गर्दै आगामी दिनमा तीब्र परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो।

प्रकाशित : पुस ६, २०७४ ०३:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT