कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेटौंडा गोल्डकपमा मनाङ मर्स्याङदी सेमिफाइनलमा

प्रताप विष्ट

हेटौंडा — तनावपूर्ण खेलमा विजयी हुँदै साविकको विजेता मनाङ मर्स्याङदी क्लब हेटौंडामा जारी टुबोर्ग दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता–२०७३ को सेमिफाइनलमा प्रवेश गरेको छ । हेटौंडा–१० स्थित फरेष्ट्री खेल मैदानमा भएको अन्तिम आठको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबको चुनौती ३–२ गोल अन्तरले समाप्त गर्दै प्रतियोगिताको मनाङले उपाधी रक्षा अभियान सुरुवात गरेको हो ।

हेटौंडा गोल्डकपमा मनाङ मर्स्याङदी सेमिफाइनलमा

तनावपूर्ण खेलमा विजयी हुँदै साविकको विजेता मनाङ मर्स्याङदी क्लब हेटौंडामा जारी टुबोर्ग दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता–२०७३ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा–१० स्थित फरेष्ट्री खेल मैदानमा भएको अन्तिम आठको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबको चुनौती ३–२ गोल अन्तरले समाप्त गर्दै प्रतियोगिताको मनाङले उपाधी रक्षा अभियान सुरुवात गरेको हो ।

अफ्रिकन खेलाडी सिसकोले खेलको ३२ औं मिनेटमा गोल गर्दै मनाङलाई अग्रता दिलाए । उनले डोना थापाको कर्नर बलमा गोल गरेका थिए । ५५ मिनेटमा एपीएफका रञ्जन बिष्टलाई फाउल गरेबापत् मनाङका कप्तान सुजल श्रेष्ठलाई रेफ्री सुदिश पाण्डेले रेडकार्ड देखाएका थिए । दश खेलाडीमा सीमित भएपनि मनाङले सम्हालिएर खेलमा प्रस्तुत भएको थियो । मनाङका लागि अफ्रिकन खेलाडी हफिज ओलावालेले ६६ औं मिनेटमा गोल गरेका थिए ।

उनले ८४ औं मिनेटमा पनि थप गोल गर्दै टीमको अग्रतालाई बढाएका थिए । मनाङ दश खेलाडीमा सीमित भएको मौका छोप्दै एपीएफको डिफेन्स लाइन अगाडि बढेर खेल्न खोज्दा खेलमा पछाडि परेको हो । एपीएफका गोलरक्षक अमृत चौधरी दुवै गोल भएको समयमा ‘आउट अफ पोजिसन’ थिए ।

खेल सकिन दुई मिनेट बाँकी रहेको अवस्थामा एपीएफका अञ्जन बिष्टले गोल गर्दै खेलमा फर्किने संकेत गरेका थिए । बिष्टले नै अतिरिक्त समयको तेस्रो मिनेटमा गोल गरेपनि खेलमा फर्काउन भने सकेनन् । अञ्जनले ८५ औं मिनेटमा प्रहार गरेको सट बारमा लागेर फर्किएको थियो । मनाङका प्रशिक्षक छिरिङ लोप्साङले खेलाडीहरु फिटनेस अवस्था कमजोर भएको कारण खेलमा गाह्रो भएको बताए ।

‘तुलनात्मकरुपमा खेलाडीको फिटनेस कमजोर देखियो । वास्तविक खेल भने हाम्रा खेलाडीले खेल्न सकेनन् । पहिला नै स्कोर भएको कारणमात्र हामीले खेल जित्न सकेका हौं । नत्र, गाह्रो हुन्थ्यो,’ उनले भने । लोप्साङका अनुसार एपीएफले आफ्नो खेल मिलाउने भन्दा पनि मनाङको खेल बिगार्नेतर्फ लाग्दा आफूहरुको जीत भएको बताए ।

एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले धेरै खेलाडी घाइते भएको कारण खेलमा गाह्रो भएको बताए । सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेको भएपनि हेटौंडामा पहिलो खेलबाट बाहिरिनुमा खेलाडीको दोष नभएको उनको भनाइ थियो ।

‘दश दिनमा हामीले सात खेल खेलिसक्यौं । हाम्रा खेलाडीहरुले रिकभरी हुने मौका समेत प्राप्त गरेका छैनन्,’ महर्जनले दोस्रो हाफमा ढिलो स्कोर निस्किादा पछाडि परेको बताए ।

खेलमा एएफयु म्यान अफ दी म्याच मनाङका मिडफिल्डर डोना थापा घोषित भए । उनले ट्रफिसहित नगद तीनहजार रुपैयाा प्राप्त गरे । प्रतियोगिताअन्तर्गत् सोमबार संकटा क्लब काठमाडौं र डुकस्टार क्लब भुटानबीच खेल हुने आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित : पुस १७, २०७३ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?