कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुर हाफ म्याराथनले बढाएको प्रतिस्पर्धा

सुशीलनरसिंह राणा

काठमाडौं — कान्तिपुर हिरो हाफ म्याराथन आजका दिनमा एक प्रतिष्ठित प्रतियोगिताका रूपमा स्थापित हुन सफल भएको छ । सधैं एकै मिति (फागुन ७ ) मा हुँदै आएकाले खेलाडीहरूले यसको प्रतीक्षामा आफ्नो तयारी गरिरहेका हुन्छन् । वार्षिक क्यालेन्डर आउनुअघि नै प्रतियोगिताको मिति तय हुँदा खेलाडीलाइ त्यहीअनुसार तयारी गर्न सजिलो हुने गर्छ ।

कान्तिपुर हाफ म्याराथनले बढाएको प्रतिस्पर्धा

यो दौडले राष्ट्रको नतिजालाई पनि स्तरोन्नति गर्न योगदान दिइरहेको छ । धेरैजसो संस्थाले म्याराथन आयोजना गर्ने चलन चलाइरहेको अवस्थामा कान्तिपुरले बढी प्रतिस्पर्धा हुनसक्ने र बढीभन्दा बढी खेलाडी आकर्षित गर्न सक्ने इभेन्ट्सका रूपमा हाफ म्याराथन गराउने निर्णय नै सराहनीय छ । साथै यस विधालाई संस्थागत गर्दै लोकप्रिय बनाउने जमर्को पनि संस्थाले गरिरहेको छ । अहिलेको स्थितिमा यस प्रतियोगिताले राष्ट्रिय कीर्तिमानहरू सुधार्न, अन्तर्राष्ट्रिय पदकका लागि प्रतिस्पर्धा गर्न सक्ने सक्षम खेलाडी निकाल्न मद्धत पुर्‍याइरहेको देखिन्छ ।

उदाहरणका लागि यस कान्तिपुर हिरो हाफ म्याराथनका विजेता हरि रिमालले २०१४ मा मलेसियन ओपनमा ५ हजार र १० हजार मिटरमा स्वर्ण पदक जितेका थिए । गत वर्ष उनले १२ औं दक्षिण एसियाली खेलकुदमा ५ हजार मिटरमा व्यक्तिगत उत्कृष्ट नतिजा निकाल्दै कांस्य पदक जितेका थिए । त्यससँगै उनलाई रियो ओलम्पिकमा प्रतिस्पर्धा गर्न ढोका खुलेको थियो । त्यस्तै गोपीचन्द्र पार्कीले इन्चोन एसियाडमा १० हजार मिटरमा राष्ट्रिय कीर्तिमान बनाएका थिए भने मलेसियन ओपनमा दुई रजत पदक जितेका थिए । भूमिराज राईले काठमाडौं म्याराथनमा २ घण्टा २० मिनेटसाथ प्रतिस्पर्धामा उत्कृष्ट समय निकालेका थिए ।

कान्तिपुर हाफ म्याराथनको सुरुआत २०११ बाट भएको हो । अहिले सातौं संस्करण आयोजनाको संघारमा छ । हरिले दोस्रो र पाँचौं संस्करण जित्दै मलेसियन ओपन खेल्न गएका थिए । कान्छीमाया कोजुले २००१ को पहिलो, २०१३ को तेस्रो र २०१४ को चौथो संस्करण जितेकी थिइन् । कान्छीमायाले २०१४ मै मलेसियन ओपनमा १० हजारतर्फ स्वर्ण र ५ हजार मिटरमा रजत जितेकी थिइन् भने गत वर्ष काठमाडौं म्याराथनमा २ घण्टा ५६ मिनेटमा दौड पूरा गर्दै घरेलु प्रतियोगितामा उत्कृष्ट समय निकालेकी थिइन् । गतवर्ष कान्तिपुर हिरो हाफ म्याराथनको सफलतापछि गोपीचन्द्रलाई अगाडि बढ्न सजिलो भएको थियो । उनले धनगढी हाफ म्याराथनमा स्वर्ण, आर्मी म्याराथनमा कोर्स रेकर्डसहित स्वर्ण, सातौं राष्ट्रिय खेलकुदमा ५ र १० हजार मिटरमा स्वर्ण जितेका थिए ।

यसले बुझ्न सकिन्छ कान्तिपुर हिरो हाफ म्याराथनले प्रतिस्पर्धी माहोल बनाइदिएको छ । हाफ म्याराथनबाहेक यस प्रतियोगितामा ५ किमिको कर्पोरेट इभेन्ट र हिलचेयर इभेन्ट पनि हुनुले अरूलाई पनि उत्साहित पारेको छ । यसमा बर्सेनि सहभागिता संख्या बढ्दो छ । ४ सय ५० जना दौडाएर सुरु भएको कान्तिपुर हाफ म्याराथनमा यसपटक झन्डै २ हजारको हाराहारीमा प्रतिस्पर्धी दौड्ने छन् ।

अघिल्लो साता आर्मीको खुला म्याराथन सम्पन्न भयो । कान्तिपुर हिरो हाफ म्याराथनको सातौं संस्करण शनिबार आयोजना हुँदै छ । सोही दिन पोखरामा पोखरा म्याराथन पनि हुनेछ । अर्को शुक्रबार महिलाका लागि पिंकाथन हाफ म्याराथन र १० किमि दौड आयोजना हुँदै छ भने फागुन २९ गते लुम्बिनी म्याराथन हुने तय भएको छ । यस प्रकारले राष्ट्रिय स्तरमा लामो दूरीको प्रतियोगिताहरू एकपछि अर्को गर्दै एक महिनाभित्रै चार इभेन्ट हुँदा प्रतियोगीले आफ्नो स्तरअनुसार प्रतियोगिता चयन गर्नुपर्ने हुन्छ । थोरै अवधिमा धेरै प्रतियोगिता हुँदा सबैमा भाग लिँदा खेलाडीहरूले शारीरिक रूपमा समस्या सामना गर्नुपर्ने हुन्छ ।

यसै कारण खेलाडीले प्रतियोगिता चयन गर्दा पहिला छोटो दुरी त्यसपछि मात्र लामो दुरीको प्रतियोगितामा सहभागिता जनाउनु उपयुक्त हुन्छ । यस प्रकारको प्रतियोगिता तयारी कसरी गर्ने र आफ्ना खेलाडीलाई एक सिजनमा कति वटासम्म खेलाउने भन्ने कुराको तर्जुमा खेलाडीका प्रशिक्षकले तय गर्ने विषय हो ।

(राणा एथलेटिक्स प्रशिक्षक हुन्)

प्रकाशित : फाल्गुन ६, २०७३ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?