कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी बन्दैछ नेपालकै ठूलो कभर्ड हल

राजु घिसिङ

काठमाडौं — पोखरा बहुउद्देश्यीय कभर्ड हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । तर, २०७४ असार मसान्तभित्रै निर्माण पूरा गर्न भने अझै निश्चित छैन । देशकै सबभन्दा ठूलो (३५ हजार वर्गफिट) कभर्ड हल दुई बर्षे योजनासहित २०७०/७१ मा निर्माण कार्य थालिएको थियो ।

यसरी बन्दैछ नेपालकै ठूलो कभर्ड हल

पोखरा बहुउद्देश्यीय कभर्ड हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । तर, २०७४ असार मसान्तभित्रै निर्माण पूरा गर्ने भने अझै निश्चित छैन ।

देशकै सबभन्दा ठूलो (३५ हजार वर्गफिट) कभर्ड हल दुई बर्षे योजनासहित २०७०/७१ मा निर्माण कार्य थालिएको थियो । त्यसअनुसार २०७३ असारमा निर्माण पूरा हुनुपर्ने थियो । तर, ठेकेदार कम्पनी डाँफे मुन्ना एन्ड आचार्य प्रतिष्ठा प्रालिले २०७२ वैशाखको महाभूकम्प र त्यसपछि भएको नाकाबन्दीको असर परेको भन्दै निर्माण अवधि लम्ब्याएको थियो ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलका अनुसार छाना हाल्ने, सिट राख्ने, पार्केटिङ र रंगरोगन गर्ने तथा झ्याल–ढोका राख्नेलगायत अन्तिम चरणको काम बाँकी छ । ‘अहिले ठेकेदार कम्पनीले दैनिक ८–१० मजदूरलाई मात्र निर्माण कार्यमा खटाइरहेका छन् । त्यसैले २०७३/७४ मा पनि कभर्ड हल पूरा हुन मुश्किल छ,’ उनले भने, ‘पर्याप्त मजदूर खटाउने हो भने मात्र असार मसान्तसम्म पूरा हुनसक्छ ।’

१३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालले सन् २०१९ मार्चमा आयोजना गर्ने निर्णय भइसकेको छ । त्यसैको लागि पूर्वाधार निर्माणअन्तर्गत चार हजार ५ सय दर्शक क्षमताको पोखरा बहुउद्देश्यीय कभर्ड हलको काम अघि बढेको हो । यसको कुल लागत १४ करोड ३० लाख रुपैयाँ रहेको छ ।

‘यसको निर्माण पूरा भएपछि खेलकुदको अन्तर्राष्ट्रिय प्रतियोगिता पोखरामा आयोजना गर्न सकिन्छ । त्यसले खेल पर्यटन विकासमा ठूलो फाइदा पुर्‍याउनेछ,’ अध्यक्ष पौडेलले भने । कराते, तेक्वान्दो, बक्सिङ, भलिबल, बास्केटबल, ह्यान्डबललगायत इन्डोर खेलका प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्नका लागि कभर्ड हल बनाइन्छ ।

प्रकाशित : चैत्र ७, २०७३ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?