कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिटी र लिभरपुल बराबर

एएफपी

म्यानचेस्टर — सर्जियो अगुइरोले ६९ औं मिनेटमा गरेको गोलबाट म्यानचेस्टर सिटीले आइतबार लिभरपुलसँग १–१ को बराबरी गरेको छ । यो नतिजाले सिटीको प्रिमियर लिगको शीर्ष ४ टोलीमा पर्ने लक्ष्य जीवित बनाएको छ ।

सिटी र लिभरपुल बराबर

लिभरपुलले सिटीलाई उछिन्दै तेस्रो स्थानमा पर्ने उद्देश्य राखेको थियो । जेम्स मिल्नरले दोस्रो हाफको सुरुमै पेनाल्टी गोलबाट लिभरपुललाई अग्रता दिलाए । सिटी उनको पूर्वक्लब हो । समर्थकले उनलाई हतोत्साहित गर्न पनि खोजेका थिए । तर अगुइरोको गोलले प्रतिद्वन्द्वीमाथि १ अंकको अग्रता कायम भएको छ । लिभरपुलले सिटीभन्दा १ खेल बढी खेलेको छ । सिटीका लागि यो विजय एकखाले सान्त्वना हो । सिटीसँग गत साता च्याम्पियन्स लिगबाट मोनाकोसँग हार्दै बाहिरिनुपरेको पीडा थियो ।

‘च्याम्पियन्स लिगपछि हाम्रा केटाहरू उदास थिए । मानिसहरू धेरै बोल्नै छाडे,’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने ।

च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा ३–१ ले हार्दै सिटी बाहिरिएपछि ग्वार्डिओलाको आलोचना हुँदै आएको छ । अब उनको टोलीले लगातार चेल्सी र आर्सनलको सामना गर्दै छ । लिगमा चाहिँ टोलीले पछिल्ला ७ खेलमा हार्नुपरेको छैन ।

योर्गन क्लोपले ग्वार्डिओलामाथि लिग डबल गर्ने पहिलो प्रशिक्षकको मौका गुमाए । तर उनको टोली यो सिजनमा शीर्ष ६ टोलीविरुद्धका १० खेलमा हार्नुपरेको छैन ।

‘सिटीसँग १ अंक लिनु पनि ठीकै हो,’ उनले भने । पानी परेर भिजेको मैदानमा २ आक्रामक टिम खेल्दा इतिहाद रंगशालामा सनसनी फैलिएको थियो ।

सिटीले खेलै जित्ने थुप्रै मौका पाएको थियो । अगुइरोले दुई सुन्दर मौका गुमाए । केभिन डी बु्रएनेले पोस्टमा हिर्काए । एडम लालानाले मुखमै आएको गाँस गुमाए जसरी मौका खेर फाले । सिटी शीर्ष टोली चेल्सीभन्दा १२ अंक पछि छ । तर लिभरपुलभन्दा १ अंक माथि छ ।

प्रकाशित : चैत्र ८, २०७३ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?