कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पारस जमेपछि टिम चौराहको सान

धनगढी — कप्तान पारस खड्काको सानदार ब्याटिङ र सौरभ खनालको अलराउन्ड प्रदर्शनमा टिम चौराह धनगढी बिहीबार सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल पुगेको छ । धनगढीले क्वालिफायर्स–२ मा रूपन्देही च्यालेन्जर्सलाई ९२ रनले पराजित गर्‍यो ।

पारस जमेपछि टिम चौराहको सान

पहिलो तीन खेल हारेयता चार खेलमा सफलता पाएको धनगढीले शनिबार हुने फाइनलमा विराटनगर किंग्सको सामना गर्नेछ । विराटनगरले क्वालिफायर्स–१ मा रूपन्देही च्यालेन्जर्सलाई ३० रनले पराजित गरेको थियो ।

बिहीबार एसएसपी कार्यालय मैदानमा टस जितेको धनगढीले ५ विकेट गुमाई १ सय ७२ रन बनायो । यो प्रतियोगिताको दोस्रो ठूलो उच्च स्कोर हो । यसअघि काठमाडौं गोल्डेन्सले विरानगरविरुद्ध १ सय ७३ रन बनाएको थियो ।

कप्तान पारसले ६७ रन बनाए । जारी प्रतियोगितामा यो व्यक्तिगत उच्च स्कोर हो । यसअघि दुई अर्धशतक सम्भव हुँदा सीवाईसी अत्तरियाका योगेन्द्रसिंह कार्कीले ५७ र धनगढीका आरिफ शेखले ५८ रन बनाएका थिए । दुवै काठमाडौंविरुद्ध थियो । पहिलो चार खेल जित्दा सबैमा पहिला ब्याटिङ गरेको रूपन्देही विजय लक्ष्य पछ्याउँदा फेरि अर्को हार भोग्न बाध्य भयो । टोली १५.२ ओभरमा ८० रनमै अलआउट भयो । धनगढीको ठिक विपरीत रूपन्देहीले पछिल्ला ३ खेलमा हार बेहोरेको छ ।

सुरुका चार खेलमा पारसले २५ रनमात्र बनाएका थिए, त्यसमा उनी पछिल्लो दुई खेलमा पहिलो बलमै आउट भए । पछिल्ला ३ खेलमा भने पारसले १ सय २१ रन बनाइसकेका छन् । विहीबार उनले ३२ बलमा ५० रन पूरा गरी प्रतियोगिताकै छिटो अर्धशतक बनाए । पारसलाई साथ दिन आएका सौरभले ८ बलमा २ चौका र २ छक्का प्रहार गरी अविजित २४ रन बनाएपछि धनगढीले पछिल्लो १० ओभरमा १ सय १२ रन जोडेको थियो । पारस र सौरभले १९ बलमा ४३ रनको साझेदारी निभाए । पारसले ४१ बलको इनिङ्समा ६ चौका र ४ छक्का प्रहार गरे । धनगढीबाट ओपनरद्वय अनिल मण्डल १३ र राजु रिजालले २८ बलबाट ४ चौका प्रहार गरी २५ रन बनाए । राजुको पनि यो उच्च स्कोर हो । पृथु बाँस्कोटा ४, आरिफ शेख ७ र अमरसिंह राउटेला १६ रनमा आउट भए । रूपन्देहीका कृष्णले ४ ओभरमा ४० रन खर्चेर २ तथा शाह आलम र विक्रम भुसालले १–१ विकेट लिए ।

‘यो कन्डिसनमा भाग्य पनि चाहिन्छ, तर राम्रो नखेलेसम्म केही हुँदैन । यस्तो विकेटमा सकारात्मक रूपमा खेल्नुपर्छ,’ पारसले भने, ‘१ घण्टा ढिला सुरु भएकाले टस जितपछि फिल्डिङ गर्ने निर्णय गरेका हौं, त्यतिखेरसम्म विकेट पनि सुकिसकेको थियो । बिहान ९ बजे नै खेल सुरु भएको भए हामी पनि फिल्डिङ रोज्थ्यौं । रूपन्देही चेजका लागि राम्रो टिम देखिएको थिएन, त्यही भएर पनि हामीले ब्याटिङ रोजेका हौं ।’ प्राविधिक समस्या आएपछि खेल १ घण्टा ढिलो सुरु भएको थियो । पारसले आफू फेरि लयमा आएको बताउँदै फाइनल खेल्ने दुवै टिम उत्तिकै राम्रो भएकाले कस्ले दबाब झेल्न सक्छ त्यसमा सबै भरपर्ने जनाए ।

रूपन्देहीको ब्याटिङ प्रतियोगिताभर नै कमजोर थियो । बिहीबार त्यो फेरि एकपल्ट देखियो । पहिलो तीन ब्याट्सम्यान क्रमश: शंकर राना, हरिशंकर शाह र विक्रम सोब ९, ४ र ५ रनमा आउट भए । टोलीबाट राजेश पुलामी र कृष्णले समान १४, पुष्प थापाले १३ र प्रकाश केसीले ८ रन बनाए ।

धनगढीका ललित राजवंशी र सौरभले ३–३ विकेट लिए । ललितले ४ ओभरमा १२ र सौरभले २६ रन खर्चे । आरिफ शेखले ओपनरद्वय शंकर र हरिशंकरलाई बोल्ड गरेका थिए । अन्तिम विकेट सुसन भारीले लिए ।

प्रकाशित : वैशाख ८, २०७४ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?