कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई म्याड्रिडको भेट सेमिफाइनलमै

नियोन (एएफपी) — साबिक विजेता रियल म्याड्रिडले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा एट्लेटिको म्याड्रिडको सामना गर्ने भएको छ भने फ्रान्सेली आश्चर्य मानिने मोनाकोको भेट युभेन्ट्ससँग हुनेछ ।

दुई म्याड्रिडको भेट सेमिफाइनलमै

अल–म्याड्रिड भिडन्त युरोपेली शीर्ष प्रतियोगितामा सन् २०१४ र २०१६ फाइनलको पुनरावृत्ति हो । दुवैपल्ट क्रिस्टियानो रोनाल्डोप्रेरित रियलले कडा प्रतिस्पर्धाबीच सहरी प्रतिद्वन्द्वी एट्लेटिकोलाई हराएको थियो ।

रियलले मे २ मा एट्लेटिकोलाई सान्टियागो बेर्नाबेउमा निम्त्याउने छ भने मोनाकोले इटालियन च्याम्पियन युभेन्ट्सलाई मे ३ मा आतिथ्यता दिनेछ । दोस्रो लेग त्यसपछिको साता हुनेछ । फाइनल जुन ३ मा कार्डिफमा हुनेछ ।

नियोनस्थित यूईएफए मुख्यालयमा शुक्रबार भएको ‘ड्र’ मा सबै चार टोलीको आ–आफ्नै ढर्रा थियो । ३९ वर्षीय
युभेन्ट्स गोलरक्षक जियानलुइजी बुफोनले आफूले एट्लेटिको नपरोस भन्ने चाहेको बताए । ला लिगा दौडबाट बाहिरिएका कारण एट्लेटिकोले केही मुख्य खेलाडीलाई आराम दिएका कारण बुफोनले यस्तो भनेका हुन् ।

‘यी तीन टिमबीचको फरक के छ भने एट्लेटिकोको लिग स्टयान्डिङ प्रस्ट भइसकेको छ,’ उनले भने । उनले डिएगो सिमोनीको टिमलाई सेमिफाइनलको सबैभन्दा खतरनाक भनेका छन् । बाँकी तीनै टिमले आ–आफ्नो लिग उपाधिका लागि एकदमै निकटको संघर्ष गरिरहेका छन् ।

बेलायती बाजीगरहरूका लागि रियल सबैभन्दा प्रियकर टोली हो । युभेन्ट्सले पनि क्वाटरफाइलनमा बार्सिलोनालाई पन्छाएका कारण आत्मविश्वास बढाएको छ । बार्साका रक्षक जेरार्ड पिकेले यसपल्टको च्याम्पियन्स लिग युभेन्ट्सले जित्न सक्ने बताए । ‘उनीहरूले हामीलाई दुवै खेलमा पछि पारे त्यसकारण उनीहरू उपाधिलाई लायक छन्,’ उनले भने ।

फ्रान्सेली लिग लिगर मोनाकोले पनि बोरूसिया डर्टमन्डलाई हराएर अगाडि आएका कारण खतरनाक चुनौती प्रस्तुत गरेको छ । उसले डर्टमन्डअघि म्यानचेस्टर सिटी र टोटेनहमलाई पछि पारेको हो ।

युरोपा लिग
यसैबीच युरोपा लिगको सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब सेल्टा भिगो र अजाक्स एम्सर्टडमले ओलम्पिक लियोनलाई भेट्ने भएका छन् । जोसे मोउरिन्होको युनाइटेड यसपल्टको सबैभन्दा ठूलो युरोपा लिग दाबेदार हो । पहिलो लेग मे ४ र दोस्रो लेग मे ११ मा हुँदा फाइनल भने स्टकहोममा मे २४ मा हुनेछ । प्रतियोगिता विजेताले अर्को वर्षको च्याम्पियन्स लिग खेल्न पाउनेछ ।

प्रकाशित : वैशाख ८, २०७४ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?