कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसियन युथ तथा जुनियर भारोत्तोलन नेपालमा

काठमाडौं — नेपाल भारोत्तोलन संघ फेरि एउटा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा जुटेको छ । दुई वर्षअघि महाभूकम्पका कारण एसियाली प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेर पनि नेपालमा आयोजना हुन सकेको थिएन । नेपालमा हुने भनिएको सिनियर महिला/पुरुष एसियन भारोत्तोलन च्याम्पियनसिप पछि थाइल्यान्डमा सारिएको थियो ।

एसियन युथ तथा जुनियर भारोत्तोलन नेपालमा

संघले आगामी साउन ६ देखि १४ गतेसम्म युथ तथा जुनियर एसियन भारोत्तोलन च्याम्पियनसिप गर्ने भएको छ । यो नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय स्तरको ठूलो स्पर्धा हुनेछ । युथतर्फ १९ औं, जुनियर महिलामा २४ औं र जुनियर पुरुषको ३१ औं संस्करणका रूपमा एसियन च्याम्पियनसिप आयोजना हुँदै छ । प्रतिस्पर्धा हुनेछ लगनखेलस्थित आर्मीको शारीरिक ट्रेनिङ तथा प्रशिक्षण सेन्टरमा ।

महिला/पुरुष दुवैको युथ र जुनियरमा प्रतिस्पर्धा हुनेछ । १३–१७ वर्ष उमेरसमूह युथ र १५–२० वर्ष उमेरसमूह जुनियरमा वर्गीकरण गरिएको छ । प्रतियोगिताबारे बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भारोत्तलनका संघका अध्यक्ष रतन टण्डनले नेपालले एसियन लेभलको प्रतियोगिता आयोजना गर्ने स्विकृति पाउनु एउटा ठूलो अवसरका रूपमा लिएको बताउँदै यसलाई राष्ट्रको गौरव र प्रतिष्ठासँग गाँसेर आयोजना गर्न संघ लागिपर्ने बताए ।

अध्यक्ष टण्डनले प्रतियोगितामा एसियाका झन्डै ३० भन्दा बढी राष्ट्रका ३ सय ५० युवा भारोत्तोलकले भाग लिने जानकारी गराएका छन् । महिलातर्फ युथमा ८ र जुनियरमा ८ तौल समूह तथा पुरुषतर्फ पनि युथमा ८ र जुनियरमा ८ तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।

संघका महासचिव पार्थ सारथी सेन गुप्तले दुई वर्षअघि अन्तिम तयारीमा पुगेर पनि सिनियर एसियाली प्रतियोगिता गर्ने अवसर गुमाउनुपरेको स्मरण गराउँदै जुयिनर आयोजनाले नेपाली भारोत्तोलनलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने अपेक्षा गरे । भारोत्तोलनले प्रतियोगिताका लागि १ करोड ७५ लाख ९६ हजारको अनुमानित बजेट रहेको जनाएको छ । त्यसमध्ये १५ प्रतिशत सहभागी खेलाडीको प्रवेश शुल्क, १५ प्रतिशत एसियाली भारोत्तोलन संघ, १५ प्रतिशत अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघ, २५ प्रतिशत राष्ट्रिय खेलकुद परिषद् र ३० प्रतिशत प्रायोजनबाट उठाइने लक्ष्य रहेको अध्यक्ष टण्डनले बताए ।

साथै प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघले ३६ हजार डलरबराबरको खेल सामग्री उपलब्ध गराएको छ । त्यो आउने क्रममा रहेको जनाइयो । दुई वर्षअघि पनि सिनियरका लागि एसियन र अन्तर्राष्ट्रिय भारोत्तोलनले खेल सामग्री उपलब्ध गराएका थिए ।

सोही अवसरमा परिषद् सदस्यसचिव केशवकुमार विष्टले प्रतियोगिताको लोगो सार्वजनिक गरेका थिए । उनले एसियाली स्तरको यो प्रतियोगिता आयोजनाले नेपाली भारोत्तोलन विकासमा दूरगामी प्रभाव छाड्ने बताए ।


नेपालको तयारी
गत नोभेम्बरमा जापानमा भएको युथ तथा जुनियर च्याम्पियनसिपबाट नेपालले आयोजना अधिकार पाएको थियो । जहाँ नेपालका प्रकाश केसी र कमला श्रेष्ठले जुनियरमा प्रतिस्पर्धा गरेका थिए । एसियन जुनियरमा नेपालले सुरुआती संस्करणदेखि नै फाट्टफुट्ट सहभागिता जनाउँदै आएको हो । युथ एसियनको तेस्रो संस्करण त नेपालमै भएको थियो १९८४ मा ।

युथ विधा भने नेपालका लागि नयाँ नै छ । आफैं आयोजक भए पनि युथमा नेपालले सहभागिता जनाउन सक्ने छैन । १३–१७ वर्ष उमेरका नेपाली खेलाडी भारोत्तोलनतर्फ आकर्षित नहुने भएकाले यसपालि सहभागिता नरहने भारोत्तोलनका मुख्य प्रशिक्षक सुनीललाल जोशीले बताए । उनका अनुसार जुनियरका लागि भने तयारी सुरु भइसकेको छ । सातौं राष्ट्रियमा देखिएका प्रतिभासहित अरुलाई समेटर झन्डै डेढ दर्जन खेलाडी क्याम्पमा राखिएको जोशीले बताए ।

प्रकाशित : वैशाख २९, २०७४ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?