कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बायर्नको स्तर

लगातार पाँचौं सिजन जर्मन बुन्डेस लिगामा च्याम्पियन भए पनि बायर्न म्युनिखको सिजन सार्थक भयो कि भएन ?
राजु घिसिङ

युरोपेली फुटबलमा रियल म्याड्रिड र बार्सिलोनासँग दाँजिने टिम हो बायर्न म्युनिख । यो जर्मन क्लबले घरेलु बुन्डेस लिगामा एकछत्र राज गर्दै आएको छ र महादेशीय च्याम्पियन्स लिगमा पनि शानदार प्रदर्शन गरिरहेको छ । त्यसैले बायर्नका लागि जुनसुकै प्रतियोगितामा पनि मुख्य लक्ष्य ट्रफी चुम्ने नै हुने गरेको छ ।

बायर्नको स्तर

यसपल्ट बायर्नले तीन खेल बाँकी छँदै बुन्डेस लिगको उपाधि कब्जा गर्‍यो । जर्मन महारथी लगातार पाँचौं सिजन घरेलु लिगमा च्याम्पियन भएको हो । च्याम्पियन भएपछि पहिलो खेलमा बायर्न डाम्र्सटाडलाई शनिबार १–० ले हरायो । अहिले बायर्नको हट–सिटमा इटालियन लिजेन्ड कार्लो एन्सेलोटी छन् । म्युनिखमा पहिलो सिजन नै ट्रफी चुमेका उनले प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीतर्फ लागेका पेप ग्वार्डिओलाको स्थान लिएका हुन् ।

एक सय १७ वर्ष पुरानो क्लब बायर्न कीर्तिमान २७ औंपल्ट बुन्डेस लिगा च्याम्पियन भएको हो । उसको रेकर्ड बराबरी गर्न पनि अरूले कम्तीमा १८ पल्ट उपाधि जित्नुपर्नेछ । बायर्नपछि सर्वाधिक सफल क्लब नुरेम्बर्ग हो । नौ पल्ट च्याम्पियन रहेको उसले अहिले दोस्रो डिभिजन लिग खेलिरहेको छ । जर्मनको घरेलु फुटबलका बायर्नलाई कडा चुनौती दिइरहेको बोरुसिया डर्टमुन्डले बुन्डेस लिगाको उपाधि आठपल्ट जितेको छ । यो सिजन बायर्नलाई पछ्याएको रेडबुल लेपजिग त उसका सामु बच्चा नै मान्नुपर्छ । पहिलोपल्ट उच्च श्रेणीका लिगमा सहभागी हुँदै उसले बायर्नलाई चुनौती दिने ‘दुस्साहस’ गर्‍यो ।

स्पेनी प्रशिक्षक ग्वार्डिओलाले बायर्नमा तीन सिजन बिताएका थिए । उनले तीनै सिजन बायर्नलाई बुन्डेस लिगा र जर्मन कप च्याम्पियन बनाएका थिए । र, तीनपल्ट नै बायर्नलाई च्याम्पियन्स लिगको फाइनल पनि पुर्‍याएका थिए । तर, यो सिजन एन्सेलोटीले सम्हालेको टिमलाई जर्मन कपको सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी बोरुसिया डर्टमुन्डले हराइदियो । बायर्न घरेलु मैदान आलियन्ज एरिनामा नै डर्टमुन्ड र रियल म्याड्रिडसँग हारेको थियो ।

बर्नाबाउमा ९० मिनेटमा जित हात पारेर पनि अतिरिक्त समयमा क्रिस्टियानो रोनाल्डो हिरो बनेपछि रियलले च्याम्पियन्स लिगमा बायर्नको यात्रा क्वाटरफाइनलमा टुंग्याइदिएको थियो । त्यसको आठ दिनभित्र बायर्नले बुन्डेस लिगाको उपाधि जितेको थियो । यो सिजन एउटा मात्र उपाधिमा सीमित भएपछि बायर्नका लागि त्यति राम्रो मानिएको छैन । क्लब फुटबलको विश्वकै सर्वाधिक लोकप्रिय प्रतियोगिता च्याम्पियन्स लिगमा अन्तिम आठबाटै बाहिरिनु र जर्मन कपमा उपाधि जोगाउने अवसर गुमाउनुले बायर्न फ्यानलाई चिन्तित बनाएको छ ।

युभेन्ट्स, एसी मिलान, चेल्सी पीएसजी, रियल म्याड्रिडको बागडोर सम्हालिसकेका एन्सोलोटीका लागि आउने सिजन अझ गाह्रो हुन सक्छ किनभने पाँचपल्टको युरोपेली च्याम्पियन टिममा यो सिजन मुख्य योगदान ‘बूढा’ खेलाडीहरूको रह्यो । कप्तान फिलिप लहाम ३४ र डिफेन्सिभ मिडफिल्डर जाभी अलोन्सो ३५ वर्षका छन् । दुवैले यो सिजनको अन्त्यसँगै संन्यास लिने घोषणा गरिसकेका छन् । दुवै खेलाडीलाई सजिलै विस्थापित गर्ने खेलाडी टिममा छैनन् । फ्र्यांक रिबेरी ३३, आर्जेन रोबेन ३४, गोलकिपर म्यानुएल नोय ३१ वर्षमा छन् । बढ्दो उमेरसँगै रिबेरी र रोबेनको खेल पनि घट्न सक्छ ।

अप्रिलमा नोय घाइते रहँदा बायर्नले पाँच खेल गुमाएको थियो । पोलिस फरवार्ड रोबर्ट लेवन्डोब्स्कीले पनि वार्षिक १ करोड ६३ लाख अमेरिकी डलर तलबलाई न्याय गरे । उनले बुन्डेस लिगामा यो सिजनकै सर्वाधिक २८ गोल गरेका छन् । डर्टमुन्डका पियरे–एमरिक अउबमेयाङले पनि उति नै गोल गरेका छन् । लेवन्डोब्स्कीले सबै किसिमका प्रतियोगितामा यो सिजन ४१ गोल गरेका छन् ।

अर्तुरो भिदाल, जेरोमे बोएटेङ, डेविड अलाबाको प्रदर्शन पनि उच्चस्तरको रह्यो । युवा खेलाडीहरू जोसुआ किमिच, किङ्सले कोम्यान, रेनाटो सान्चेजले भने अपेक्षाकृत राम्रो खेल देखाउन सकेनन् । उनीहरूसँगै जाभी मार्टिनेज, थियागो अल्कान्टारा, डगलस कोस्टा, राफिन्हमा बायर्नको सफलता निर्भर हुनेछ । एन्सोलिटीलाई कम्तीमा ग्वार्डिओलाको सफलता (डोमेस्टिक डबल) दिलाउने चुनौती छ । त्यसपछि मात्र उनीसँग जुप हेन्केसको सफलता दोहोर्‍याउने अपेक्षा गर्न सकिन्छ ।

प्रकाशित : वैशाख २९, २०७४ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?