कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलायत बसेर क्रिकेट प्रवद्र्धन

दीपक परियार, बिना थापा

लेखनाथ (कास्की) — यू–१९ क्रिकेटमा नेपाल चम्किँदै थियो । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा यू–१९ टिमको सफलताले नेपाली दंग थिए । विभिन्न जातजाति र भूगोलका नाममा विभाजित मनलाई जोड्ने एउटै माध्यम बनेको थियो क्रिकेट ।

बेलायत बसेर क्रिकेट प्रवद्र्धन



क्रिकेटमा नेपालले पाइरहेको सफलताले त्यतिबेला देशभित्रका नेपालीलाई मात्रै खुसी पारेन, देश बाहिरका क्रिकेटप्रेमी नेपालीलाई त्यो भन्दा बढी खुसी मिल्यो । अध्ययनको सिलसिलामा बेलायतमा बस्ने पोखरेली युवा प्रशान्त कुँवरको छाती गर्वले भुक्क फुल्यो ।

ईएसपीएन र क्रिक इन्फो जस्ता चर्चित खेलकुद वेबसाइटको स्कोर बोर्डमा नेपाली क्रिकेट टिम देख्न पाउनु उनलाई जीवनकै सबैभन्दा खुसीको क्षण बन्न पुग्यो । प्रशान्त क्रिकेटका फ्यान मात्रै होइनन्, प्रवद्र्धक पनि हुन् । बेलायतको सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई नेपाल ल्याउने चाँजोपाँजो उनैले मिलाएका हुन् । उनकै पहलमा नेपालले गत वर्ष संसारकै सबैभन्दा पुरानो क्रिकेट मैदान लन्डनको लर्ड्समा गएर खेलेका थिए ।

पोखराको लेकसाइडमा जन्मिए पनि प्रशान्तको बाल्यकाल भारतमा बित्यो । उनी ४ वर्ष दार्जिलिङको डेसिस स्कुलमा पढे । त्यसपछि देहरादुनको क्याम्ब्रियन हलबाट विद्यालय जीवन सकाए । ‘भारतमा बसेपछि क्रिकेट र बलिउडमा मोह नहुने कमै हुन्छन्,’ क्रिकेटप्रति मोह बढ्नुको रहस्य उनले खोले, ‘मैले पनि विद्यालय जीवनदेखि नै क्रिकेट खेल्न र हेर्न थालें ।’ विद्यालयको अध्ययन सकेपछि उनी बेलायत हान्निए । पोखराको सम्पन्न परिवारका उनलाई विदेश जान रहर थिएन । नेपालमै बसेर केही गर्ने सोच थियो । तर नेपाल बस्दा इष्टमित्र, छरछिमेकले ‘किन विदेश नगएको’ भन्ने प्रश्नले उनलाई हैरानै पार्‍यो । बाध्य भएर उनले बेलायत रोजे । बेलायतमा युनिभर्सिटी अफ लन्डनबाट डेभलपमेन्ट स्टडिजमा स्नातकोत्तर गरे । अहिले बेलायतमा उनको आफ्नै व्यवसाय छ । उनी ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी) को उपाध्यक्ष भइसकेका छन् ।

सन् २०११ मा एक कार्यक्रममा प्रशान्तको भेट एमसीसीका तत्कालीन प्रमुख कार्यकारी किथ ब्राडसासँग भयो । उनले किथलाई नेपालको यू–१९ टिमले राम्रो गरिरहेको सुनाए । नेपालमा क्रिकेटको पूर्वाधार विकास र प्रशिक्षणका लागि एमसीसीसँग कसरी जोड्न सकिन्छ भन्ने छलफल उनले किथसँग गरे । दुवैको भिजिटिङ कार्ड आदानप्रदान भयो । उनले सन् २०१३ मा पुन: कुराकानी अगाडि बढाए । यसपटक एमसीसीका प्रमुख कार्यकारीमा डेरेक ब्रेवर आइसकेका थिए । ब्रेवरले एमसीसीको युवा विकास कार्यक्रममार्फत नेपाली क्रिकेटरलाई प्रशिक्षण दिलाउने वचन दिए । २०१३ मै प्रशान्त नेपाल आएर कप्तान पारस खडकासँग भेटे । तत्कालीन क्रिकेट संघ (क्यान) ले नेपाली ब्याट्सम्यान राजेश पुलामीमगर र नरेश बुढाऐरलाई प्रशान्तको जिम्मामा बेलायत पठायो । दुई खेलाडीलाई ६ साता लामो प्रशिक्षणमा एमसीसीसँग बस्ने अवसर जुर्‍यो । उनीहरूको सबै खर्च एमसीसीले नै बेहोरेको थियो ।

सन् २०१३ को जुलाईमा हालका स्वास्थ्यमन्त्री गगन थापा बेलायत पुगेका थिए । प्रशान्तले थापा र एमसीसी प्रतिनिधिबीच भेटघाटको चाँजोपाँजो मिलाए । थापाले अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ वा र एमसीसीका सेक्रेटरी एवं प्रमुख कार्यकारी डेरेक ब्रेवरसँग भेटे । भेटमा उनले नेपाली क्रिकेट र एमसीसीको सहकार्यलाई निरन्तरता दिन चाहेको बताए । उक्त भेटबाट नै नेपाल क्रिकेटको ‘मक्का’ मानिने लर्ड्समा जाने ढोका खुलेको प्रशान्त बताउँछन् । २०१४ को अगस्टमा प्रशान्तले पारस खडकालाई बेलायत बोलाए । त्यतिबेला एमसीसी अध्यक्ष माइक गेटिङ, हेड अफ दि क्रिकेट जोन स्टेफेनसन र बेलायत क्रिकेट बोर्डका पदाधिकारीसँग पारसको छलफल भयो ।

एमसीसीले २०१५ को मार्चमा युएईमा हुने इमिरेट्स एयरलाइन्स टी–२० टुर्नामेन्टमामा पारसलाई आफ्नो टिमबाट खेलाउने भयो । त्यही छलफलमा एमसीसीको टिमले नोभेम्बरमा नेपाल भ्रमण गर्ने तय भयो । जसको पहिलो जस जान्थ्यो प्रशान्तलाई । पारसले २०१५ मार्चमा एमसीसीबाट ससेक्सविरुद्ध खेले । उनीसँग भारतका अलराउन्डर युवराज सिंहसमेत खेलेका थिए ।

एमसीसीको टिम २०१५ कै नोभेम्बरमा नेपाल आयो । १५ जना युवा बेलायती क्रिकेटर सँगसँगै आए प्रशान्त । भूकम्प र नाकाबन्दीका बावजुद पनि एमसीसीले काठमाडौं, पोखरालगायत सहरमा ६ म्याच खेल्यो । काठमाडौंमा नेपालको टिमलाई जिते पनि पोखरामा भने स्थानीय टिमसँगै एमसीसीले हार बेहोर्‍यो । यद्यपि एमसीसीका खेलाडीले पोखराको क्रिकेट मैदानको खुब प्रशंसा गरे । अन्नपूर्ण हिमशृंखलाको काखमा क्रिकेट खेल्न पाउँदा उनीहरू निकै खुसी भएको प्रशान्त बताउँछन् । ‘उनीहरूले पोखरामा भरपूर मनोरञ्जन लिए,’ उनले भने, ‘क्रिकेटमार्फत खेलकुद पर्यटनमा पनि पोखराको सम्भावना राम्रो देखियो ।’

हरेक क्रिकेट खेलाडीको सपना हुन्छ विश्वकै पहिलो क्रिकेट मैदान लडर््समा क्रिकेट खेल्ने । पारस खडका २०१४ को अगस्टमा बेलायत जाँदा लडर््स पुगेका थिए र मनमनै मैदानमा खेलेको कल्पना गरेका थिए । उनको आफ्नो सपना प्रशान्तसँग सेयर गरे । अब त्यो सपना पारसको मात्रै बनेन, प्रशान्तको पनि बन्यो । एमसीसीसँग गतिलो दोस्ती जमाएका प्रशान्त सपना पूरा गर्न लागिपरे ।

सन् २०१६ मा नेपाल र बेलायतको कूटनीतिक सम्बन्ध कायम भएको २ सय वर्ष पुग्दै थियो । त्यही मौकामा उनले नेपाली टिम र एमसीसीबीचको खेल आयोजना गर्ने व्यवस्था मिलाए । अब भने सबैभन्दा पुरानो क्रिकेट मैदानमा पुरानो क्रिकेट टिमसँग नेपालको टिमले खेल्ने भयो । २०१६ जुलाई १९ मा ५ हजार दर्शकबीच नेपाली क्रिकेट टिमले एमसीसीलाई ४१ रनले पराजित गरेर सानदार जित निकाल्यो । लर्डसमा पहिलोपटक खेल्न पाउने एसोसिएट राष्ट्रमध्ये नेपाल पहिलो बन्यो । नेदरल्यान्ड्ससँग उसकै घरेलु मैदानमा हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत दुई खेलको तयारी स्वरूप पनि नेपाली क्रिकेट टिमले बेलायतमा खेलेको थियो । ‘लडर््समा यस प्रकारको इभेन्टमा त्यति धेरै दर्शक पहिले भएका थिएनन्,’ प्रशान्त सम्झन्छन्, ‘त्यसपछि एमसीसी अन्य इभेन्ट गर्न उत्साहित छ ।’ बेलायत छँदै प्रशान्तले क्रिकेटका हस्ती सचिन तेन्दुलकरसँग पारसको भेट गराइदिए । त्यतिबेला पारसले सचिनसँग भेट भएको फोटो फेसबुकमा पोस्ट गर्दै लेखेका थिए, ‘प्रशान्त जे पनि गर्न सक्छन् ।’

क्रिकेट प्रवद्र्धक प्रशान्त यतिबेला नेपालमा छन् । आफ्ना साथी वरुण चौधरीको बिहेमा सामेल हुन भारत आएका बेला उनी नेपाल आएका हुन् । स्थानीय तहको निर्वाचनले पनि उनलाई नेपाल तानेको हो । राजनीतिमा पनि चासो राख्ने यिनी खेलकुद पर्यटनलाई पोखरामा व्यापकता दिनुपर्ने पक्षमा छन् । ‘पूर्वाधारको विकास गर्न सके सम्भावना धेरै छ,’ उनी भन्छन्, ‘त्यसका लागि क्यान बलियो हुनु जरुरी छ ।’ उनले नेपालको तल्लो तहबाटै क्रिकेटमा सम्भावना खोज्न बेलायतको क्रिकेट बोर्डसँग समन्वय गर्ने तयारी गरेको सुनाए । भविष्यमा बेलायतको पहिलो रोजाइका खेलाडी ल्याएर काठमाडौं, पोखरा र लुम्बिनीमा प्रतियोगिता गराउन चाहेको पनि उनले सुनाए । उनले भने, ‘नेपालको सामाजिक तथा आर्थिक विकासका लागि पनि क्रिकेटले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।’

प्रकाशित : वैशाख ३०, २०७४ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?