कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एफए कपमा फर्किएको सान

न्युयोर्क टाइम्स

लन्डन — अघि पनि, पछि पनि आतिशबाजी चल्यो । पटट गर्दै विभिन्न आकृति आकाशमा हराए । एफए कप फाइनलअघि जब आर्सनल र चेल्सीका खेलाडी लकर रुमबाट निस्कँदै थिए, वेम्बली फिल्ड वरपर राखिएका आधा दर्जन ठूला काला बक्सले ज्वालाको मुस्लो निकाले ।

एफए कपमा फर्किएको सान

फाइनलपछि जब आर्सनल खेलाडीहरूले इङलिस फुटबलको सबैभन्दा पुरानो ट्रफी खेलाउँदै थिए त्यसपछि ग्लिटर क्याननबाट राता–सेता फोयल दर्शकमाझ छरियो ।

साँच्चै आर्सनलका लागि २–१ को यो फाइनल विजय अभूतपूर्व र उल्लासका लागि लायक थियो । एफए कप फाइनल परम्पराका हिसाबले त्यसै पनि दर्शनीय हुन्छ । दशकौंसम्म यी परम्परा परिवर्तन भएका छैनन् । पुरानो वेम्बलीमा ३९ खुड्किला थिए, नयाँमा १ सय ७ । परम्पराले नै यो प्रतियोगितालाई विगतसँग जोडेको पाइन्छ । जसले गर्दा सन् १८७२ मा सुरु भएको प्रतियोगिता नयाँ किस्तामा थपिएको अनुभव हुन्छ । खेलाडी र फ्यानहरूले पनि यसमा उत्तिकै मजा लिएको पाइन्छ ।

आतिशबाजी (पाइरोटेक्निक) एफए कप फाइनल परम्पराको अभिन्न अंग मानिन्छ । टोलीलाई मैदान प्रवेश गराउँदा नै सबैतिर सुन्दर आतिशबाजीका दृश्य फैलन्छन् । ठूल्ठूला र हेरिरहुँ जस्ता । अनि खेल दौरान पनि दर्शकलाई मनोरञ्जनका लागि पृष्ठभूमिका रूपमा आतिशबाजी चलिरहन्छ । एफए कपको आकर्षण पछिल्ला वर्ष मलीन हुँदै गएको कुरा भनिहाल्न सकिन्न । प्रिमियर लिगमा ठूलो धनराशि थन्किएको छ ।

र, उच्च क्लबहरू च्याम्पियन्स लिगमा केन्द्रित हुन्छन् । जसका कारण धेरै वर्षसम्म यो प्रतियोगिता क्लबका लागि प्राथमिकताको विषयसमेत नबनेको पाइयो ।

एफए कपमा प्राय: क्लबका प्रशिक्षकहरू दोस्रो रोजाइका टोलीलाई खेलाउँछन् । कति त यो प्रतियोगिता नजिते पनि केही हुन्न भन्नेमा पुग्छन् । फ्यानहरूले पनि प्रिमियर लिग, च्याम्पियन्स लिगजस्ता गहन प्रतियोगिताका अगाडि यसलाई झमेला ठान्छन् ।

तर मध्य ९० को दशकभन्दा अगाडिको फुटबल सम्झनेका लागि यो अवस्था दु:खदायी छ । त्यतिबेलासम्म यो प्रतियोगिता जित्नु लिगै जिते बराबर हुन्थ्यो । कप फाइनल जतिबेला सिजनको एक मात्र टेलिभिजन प्रसारित घरेलु खेल थियो । र, यो हेर्न सारा देशै कुरेर बस्थ्यो ।

यस हिसाबले केही गुमेकै मान्नुपर्छ । कम्तीमा फुटबल संघ, यसका आयोजक र अन्य प्रसारका लागि यो घाटै हो जो टेलिभिजन राइटका लागि मोटो रकमको कारोबार गर्छन् । पक्कै पनि यो प्रतियोगितालाई युवापुस्ताका लागि आकर्षक, आधुनिक र महत्त्वपूर्ण बनाउन उनीहरूले निकै मिहिनेत गरेका छन् । उनीहरूले यसै उद्देश्यले एउटा साधारण तरिका अपनाएका हुन्– ठूल्ठूला मेसिनबाट आतिशबाजी फाल्नु । मान्छे जस्तो लाग्ने मेसिनबाट । तर यो कुराले पनि काम गरेन । आतिशबाजी निकै सस्तो तामझाम जो पर्‍यो । यसले मानिसलाई नयाँ कुनै रहस्यतिर डोर्‍याउँदैन ।
फुटबलप्रेमीहरू वास्तवमै मैदानकै सनसनीमा रम्न चाहन्छन् । आतिशबाजीले उनीहरूलाई कसो–कसो दिक्कै पनि पार्छ ।

एफएले नै यसबारे बोल्दा राम्रो हुने हो । यसलाई त्यसै हरेक वर्ष नयाँ–नयाँ तरिकाले आतिशबाजी गर्नैपर्ने दबाब खेप्नुपर्ने अवस्था छ । खेलमात्रैले पनि रमाइलो हुने हो । यो वर्ष यही नै प्रमाणित भयो । यो पटक प्रतियोगिताको वास्तविक संस्करण भएजस्तै देखियो । आतिशबाजीले जति प्रतियोगिताको इज्जत थामेको थियो त्योभन्दा धेरै बढी मैदानकै शक्ति देखियो ।

यसपटक एफए कपमा थुप्रै चित्ताकर्षक कथा लेखिए । इङलिस फुटबलको पाँचौं डिभिजनबाट उठेर लिंकन सिटीले क्वाटरफाइनलसम्म खेल्यो । सुटोन युनाइटेडका वाइने शले बेन्चमा बसेर मिट पाइ खाएको टेलिभिजन दृश्य पनि निकै चर्चामा रह्यो । एफए कपको मुख्य आकर्षक भनेकै कसले कसलाई ढाल्छ भन्ने हो । फुच्चे क्लबहरूले मै हुँ भन्ने सशक्त क्लबहरूलाई पछार्छन् । वुल्भरहयाम्पटनले लिभरपुललाई हरायो । सुटोनले लिड्स युनाइटेडलाई माथ खुवायो । एफए कपको सदावहार सनसनी मिलवालले प्रिमियर लिगकै साविक विजेता लेस्टर सिटीलाई हावा खुवायो ।

एफए कपको उत्तराद्र्ध चरणमा कसले खेल्छन् भन्ने चासो हुन्छ । यसपटक सेमिफाइनलमा इंग्ल्यान्डमा ६ सबैभन्दा राम्रो टोली भिडे । दुई चिरप्रतिद्वन्द्वीबीचको फाइनल निकै घम्साघम्सी थियो । मात्रै २ गोलले खेलको छिनोफानो भयो ।

यो त दशकभरकै सबैभन्दा गजब फाइनल थियो । र, यसले इतिहास पनि बनायो । आर्सनल प्रशिक्षक आर्सेन वेंगरले आफ्नो सातौं र क्लबको १३ औं एफए कप उपाधि हत्याए । साँच्चै वेन्गरले आर्सनल छाडे भने यो एउटा युगको रोमाञ्चक अन्त्य पनि हुनेछ ।

प्रकाशित : जेष्ठ १५, २०७४ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?