कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालको कठिन परीक्षा एसियन कप २०१९ छनोट

राजु घिसिङ

काठमाडौं — वैशाख १२, २०७२ सालको महाभूकम्पले देशको एकमात्र रंगशाला (दशरथ) लाई पनि जीर्ण बनाइदियो । भूकम्पले ध्वस्त गाउँहरू अझै आँसु झार्ने स्वरुपमै छन् ।

नेपालको कठिन परीक्षा एसियन कप २०१९ छनोट

रंगशालाको अवस्था पनि उस्तै छ । यसको न पुनर्निर्माणको खाका बनेको छ न त मर्मतसम्भार नै गरिएको छ । भूकम्पले जीर्ण बनाए पनि पुरानै योजना कायमै राखिएको छ । त्यो पनि सुस्त कछुवाको गतिमै चलिरहेको छ । त्यसैले पुरुषको नेपाली राष्ट्रिय टिमले घरेलु खेल सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा मंगलबार खेल्दैछ ।

राष्ट्रिय टिमले पछिल्लोपल्ट चैत २०७१ मा घरेलु मैदानमा खेलेको थियो । विश्वकप/एसियन कप छनोटअन्तर्गत भएको त्यस प्लेअफमा नेपालले भारतसँग गोलरहित बराबरी खेलेको हो । त्यति बेला १० हजार बढी दर्शकले प्रत्यक्ष खेल हेर्दै नेपाली टिमलाई हौस्याएका थिए ।

पहिलोपल्ट राष्ट्रिय टिमले प्रतिस्पर्धा गर्न लागेको हल्चोकमा ७ सय टिकट मात्र बिक्रीमा राखिएको छ । त्यसैले तीन वर्षयता पहिलोपल्ट स्वदेशी भूमिमा ओर्लंदा राष्ट्रिय टिमले बढीमा १ हजार दर्शकसामु खेल्दै छ ।

ठूलो संख्यामा घरेलु दर्शक नहुने भए पनि एसियन कप छनोटमा यमनसँग राम्रो खेल्न प्रयास गर्ने नेपालका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले बताए । अर्को चुनौती पनि छ, घाँसे मैदान । स्वदेशमै खेले पनि नेपाली खेलाडीलाई हल्चोकको घाँसे मैदानमा सजिलो नहुनसक्छ किनभने एक महिनाको तयारी सातदोबाटोको ‘आर्टिफिसियल टर्फ’ मा गरिएको थियो । ‘घाँसे मैदानमा तीन दिनमात्र अभ्यास गरेका छौं ।

त्यसैले घरेलु मैदान भएपनि हामीलाई हल्चोकमा गाह्रो हुनसक्छ,’ कोजीले भने । फागुन, २०७२ मा मुख्य प्रशिक्षक नियुक्त भएका कोजीको नेतृत्वमा नेपालले पहिलोपल्ट गृहमैदानमा खेल्न लागेको हो । एपीएफको मैदानमा पहिलोपल्ट अन्तर्राष्ट्रिय खेल आयेजना गर्न लागिएको भने होइन । यसअघि यहाँ एएफसी च्यालेन्ज कप र साफ च्यम्पियनसिपमा खेलहरू गरिएको थियो ।

गाउँसहरमा ठूलै दरार ल्याएको भूकम्पयता नेपाली टिम सोलिडारिटी कप र बंगबन्धु गोल्डकप च्याम्पियन भयो भने यू–२३ टिमले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक जित्यो । नेपाली युवा टिम पनि साफ यू–१९ च्याम्पियन बन्यो । मैत्रीपूर्ण खेल नै भए पनि महिला टिमले ३१ वर्षे इतिहासमा पहिलोपल्ट स्वदेशमा प्रतिस्पर्धा गर्‍यो । अखिल नेपाल फुटबल संघ (एन्फा) मा २१ वर्ष अध्यक्ष रहेका गणेश थापा प्रतिबन्धमा परे । नयाँ नेतृत्व पनि आयो तर नेपाली फुटबल पुरानै ढर्रामा चलिरहेको छ । खेलाडीलाई अवसर र सुविधा उस्तै छ । भौतिक संरचना पनि ।

६ खेलाडी फर्किए
मुख्य प्रशिक्षक ग्योतोकु कोजीद्वारा यमनसँगको खेलका लागि सोमबार घोषित २३ सदस्यीय नेपाली टिममा पूर्वकप्तान अनिल गुरुङसहित ६ खेलाडीले पुनरागमन गरेका छन् ।

फरवार्ड अनिल, डिफेन्डर मनबहादुर तामाङ, दिनेश राजवंशी, मिडफिल्डर सुनील बल, राजेन्द्र रावलले फेरि टिममा मौका पाएका हुन् । भारतसँगको २० सदस्यीय टिममा रहेका मिडफिल्डर सुमन लामा, डिफेन्डर विमल बस्नेत, गोलकिपर विशाल श्रेष्ठ बाहिरिए ।

गोलकपिर किरण चेम्जोङ, विकेश कुथु, डिफेन्समा विराज, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की निरन्तर छन् । मिडफिल्डमा सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, अञ्जन विष्ट, हेमन्त थापामगर, हेमन गुरुङ, फरवार्डमा नवयुग श्रेष्ठ, विमल घर्तीमगर, भरत खवास यथावत् छन् ।

कमजोरी सच्याउने आस
रोहित चन्द, मिडफिल्डर
पछिल्ला खेलमा हाम्रा खेलाडी आत्तिने गरेको महसुस गरेको छु । फुटबलमा साना कुराले पनि एकदमै फरक पार्छ । त्यसैले सबै खेलाडीले स–साना कुरालाई ध्यान दिएर बल पोजेसन राख्दै क्षमताअनुसार खेल्यो भने यमनलाई कठिन चुनौती दिन सक्छौं । दोहामा तीन वर्षअघि यमनसँग खेलेका थियौं । उसको खेल्ने शैली हामीलाई थाह छ ।

हामीले क्षमताअनुसार खेल्न सकेन भने गाह्रो हुनेछ किनभने यमन टफ टिम हो । शारीरिक रुपमा उसका खेलाडी बलिया छन् । वरीयतामा पनि यमन माथि छ । यमन र हाम्रो स्तर फरक छ । आधारभूत कुरामा ध्यान दिँदै डिफेन्समा कम्प्याक्ट (कसिलो) भएर खेल्नुपर्छ । सिकाएको कुरा बिर्सेर खेल्यो भने चाहिँ गाह्रो हुन्छ तर यमनसँगको खेलमा कमजोरी सच्याउने आस छ ।

‘जित्नैका लागि खेल्छौं’

नेपाली टिमका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले यमनसँग जितका लागि खेल्ने बताएका छन् । ‘यमनको स्तर राम्रो छ । त्यसैले हामीलाई सजिलो हुने छैन तर गल्तीहरू सच्याएर जित्नका लागि खेल्नेछौं । हाम्रा लागि बराबरी नतिजा पनि खराब हुने छैन,’ कोजीले कान्तिपुरसित भने ।

एसियन कप २०१९ छनोटको दोस्रो खेलको तयारीमा नेपालले एक साताअघि मुम्बईमा भारतसँग मैत्रीपूर्ण खेल खेलेको थियो । फिफा वरीयताको १ सयौं स्थानको भारतले त्यस खेल २–० ले जितेको थियो । तर कोजी विश्व फुटबलको उत्कृष्ट सय टिममा भारतलाई मान्न तयार छैनन् ।

‘फिफा वरीयतामा भारत शीर्ष सय टिममा छ तर त्यसमा मलाई विश्वासै लागिरहेको छैन,’ जापानिज नागरिक कोजीले भने, ‘हामीले डिफेन्समा निकै गल्ती गर्‍यौं । स्कोरिङमा पनि कमजोरी भयो । त्यसैले मुम्बईमा गाह्रो भयो ।’ उनले थपे, ‘भारत र यमन उस्तै स्तरका टिम होइनन् । यमन वरीयतामा तल छ तर भारतभन्दा उत्कृष्ट छ ।’

यसअघि पहिलो रोजाइमा खेल्दै आएका डिफेन्सिभ मिडफिल्डर विक्रम लामा (फिलिपिन्ससँगको खेलमा रातो कार्ड) र लेफ्ट–ब्याक रविन श्रेष्ठ (घुँडामा एसीएलको शल्यक्रिया) को अभाव खट्कन सक्छ । त्यसबारे प्रशिक्षक कोजीले भने, ‘भएका खेलाडीबाट राम्रो गर्ने बाहेक हामीसँग विकल्प छैन । कमजोरी मिडफिल्डभन्दा साइड (डिफेन्स) मा हो ।’

मुम्बईमा ‘चुनौती व्यवस्थापन’ लाई समस्या औंल्याएका कोजीले भने, ‘एक सातामै सुधार भइसक्यो भन्न सक्दिनँ, प्रत्येक खेलमा सुधार गर्नेछौं ।’ खेलाडीलाई ‘एयर बल’ खेल्ने निर्देशन नदिइएको दाबी गर्दै उनले भने, ‘त्यसमा खेलाडीको गल्ती थियो । मैले ग्राउन्ड बल खेल्नू भनेको छु ।’

कप्तान विराज महर्जनले पनि नेपाली टिमको लक्ष्य जित नै भएको बताए । ‘सकेसम्म जितको लागि खेल्नेछौं किनभने घरेलु मैदानमा हार्‍यो भने बाहिर (अवे) गएर खेल्न गाह्रो हुन्छ । जसरी हुन्छ क्लिन–सिट (गोल नखाने) का लागि खेल्नेछौं,’ उनले पत्रकार सम्मेलनमा भने ।

विक्रम र रविनको अभाव स्विकार्दै उनले भने, ‘पहिलो रोजाइमा एक–दुई खेलाडी परिवर्तन हुँदा समस्या भइरहेको छ । यमनसँग डिफेन्सलाई एकदम राम्रो बनाउने लक्ष्य छ ।’ प्लेअफबाटै बाहिरिए पनि नेपालले सोलिडारिटी कपको उपाधि जितेपछि फेरि एसियन कप छनोट मौका पाएको हो । तीन महिनाअघि मनिलामा छनोटको पहिलो खेलमा नेपाल ४–१ ले फिलिफिन्ससँग ४–१ ले हारेको थियो । यमनले ताजकिस्तानलाई २–१ ले हरायो ।

‘यमनी टिम जित्न आएको हो’

गृहयुद्ध चर्किंदै गएपछि यमनले सन् २०१२ जूनमा प्यालेस्टाइनसँग मैत्रीपूर्ण खेल खेलेपछि घरेलु मैदानमा प्रतिस्पर्धा गरेको छैन । अरबमा फैलिएको युद्धले यमनलाई पनि संकटग्रस्त बनायो र उसले त्यसयता घरेलु मैदानका रूपमा दोहामा खेलिरहेको छ ।

‘युद्धका कारण २०१४ देखि लिग भएको छैन तर राष्ट्रिय टिमका लागि राम्रो तयारी गरेका छौं,’ यमनका मुख्य प्रशिक्षक अब्राहम मेब्रटुले पत्रकार सम्मेलनमा भने ।

इजिप्टको राजधानी कायरोमा एक महिना अभ्यास गर्ने क्रममा त्यहाँका ‘ए’ डिभिजन क्लबसँग प्रतिस्पर्धा गरिएको पनि उनले बताए । यमनका नौ खेलाडी साउदी अरेबिया, ओमान, बहराइनको लिगमा आबद्ध रहे पनि त्यसमध्ये चार खेलाडी काठमाडौं आएको पनि उनले बताए ।

एएफसी यू २३ च्याम्पियनसिप छनोटमा यमनको टिम लिएर सन् २०१४ मा काठमाडौं आएका यी इथोपियन नागरिकले भने, ‘त्यसबेला नेपाली टिमलाई हराएर हामी च्याम्पियनसिपमा छनोट भएका थियौं । प्रगति गरिरहेको नेपालको सम्मान गर्छौं ।

काठमाडौंमा सकारात्मक नतिजा निकाल्दै हामी युद्धमा फसेका २ करोड ५० लाख यमनीलाई खुसी बाँड्न चाहन्छौं ।’ यमनका कप्तान अयस मोहम्मद इब्राहिमले पनि भने, ‘हामी ३ अंक प्राप्त गर्न यहाँ आएका हौं ।’

प्रकाशित : जेष्ठ ३०, २०७४ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?