कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाकिस्तान र भारतको फाइनल: रोमाञ्चक खेलको आशा

चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान र भारत आईसीसी च्याम्पियन्स ट्रफिको फाइनलमा भिड्दैछन् ।
राजु घिसिङ

काठमाडौं — क्रिकेटमा भारत र पाकिस्तानको खेल सँधै सनसनीपूर्ण हुने गर्छ । यी दुई छिमेकीको प्रतिस्पर्धा खेलभन्दा पनि ठूलो हुन्छ । मैदानमा खेल चलिरहदा यी दुईको होड खेलमा हार–जितको नतिजमा मात्र सीमित हुदैन, कश्मीरको द्वन्द्व, आतंकवाददेखि लिएर एक–अर्कावीच को शक्तिशाली भन्ने पनि जोडिने गर्छ । लन्डनस्थित ओभलमा आज च्याम्पियन्स ट्रफिको फाइनल पनि यस्तै कुराले रोमाञ्चक बनाएको छ ।

पाकिस्तान र भारतको फाइनल: रोमाञ्चक खेलको आशा

वान डे इन्टरनेसनलमा विश्वका उत्कृष्ट आठ टिमको प्रतियोगिता हो च्याम्पियन्स ट्रफि । इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) को शीर्ष आठ वरीयताका टिमले यसमा प्रतिस्पर्धा गर्छ । पाकिस्तानले आठौं वरीयताको टिमको रुपमा च्याम्पियन्स ट्रफि खेल्ने अवसर पाएको हो । उसले बर्षाले प्रभावित पहिलो खेलमा भारतसँग १ सय २४ रनको ठूलो अन्तरको हार बेहोरेको थियो । त्यसपछि पुनरामगन गर्दै उसले सनसनीपूर्ण रुपमा फाइनल यात्रा तय गर्‍यो ।

दक्षिण अफ्रिका र श्रीलंकालाई हराएर अन्तिम चारको यात्रा तय गरेको पाकिस्तानले समूह चरणमा अपराजित रहेको एक्लो टिम इंग्ल्यान्डलाई सेमिफाइनलमा सजिलै पन्छाएको थियो । अनुमान गर्न नसकिने टिमको रुपमा चर्चित् पाकिस्तान च्याम्पियन्स लिगको फाइनल पुग्ने धेरैले कल्पना पनि गरेका थिएनन् । त्यसैले केही चर्चित् क्रिकेटरसमेतले उसको फाइनल यात्रालाई लिएर सट्टेबाजी र आईसीसीकै टेलिभिजन प्रसारणबाट पैसा कमाउने धन्दासँग जोडेका छन् ।

डिफेन्डिङ च्याम्पियन भारतले श्रीलंकासँग समूह चरणमा पराजित भएपनि दक्षिण अफ्रिकालाई हराएर सेमिफाइनल प्रवेश गरेको थियो । उसले सेमिफाइनलमा बंगलादेशलाई सजिलै पन्छाउँदै पाकिस्तानसँगको उपाधि होड पक्का गरेको थियो । व्यक्तिगत कौशल र पछिल्ला खेलको आधारमा भारत बलियो देखिन्छ तर उत्कृष्ट लयमा फर्किएको पाकिस्तानको गतिले उसलाई बढार्दै २५ वर्षपछि वान डेको उपाधि जित्न पनि सक्छ ।

कप्तान विराट कोहली भारतका मुख्य खेलाडी हुन् । रोहित शर्मा, शिखर धवन, हार्दिक पाण्डेय पनि राम्रो लयमा छन् । पूर्वकप्तान महेन्द्रसिंह धोनी र युवराज सिंहले पनि चाहिएको बेला खेल जिताउने गर्छन् । भुवनेश्वर कुमार, जसप्रित बुमराह,  रविचन्द्रन आश्विन, रवीन्द्र जडेजा, केदार जादवको बलिङले पनि भारतलाई उपाधि रक्षा गर्न सजिलो पार्नसक्छ ।

उपाधिको लागि फेवरेट मानिएको इंग्ल्यान्डमाथि एकतर्फी जित निकालेको पाकिस्तानका अजहर अली र फकहर जमनको प्रारम्भिक जोडी गतिलो लयमा छ । तीब्र गतिका बलर मोहम्मद आमिर फिट हुदै फाइनलमा फर्किएका छन् । उनलाई प्रतियोगितामा सर्बाधिक विकेट लिएका हसन अली र जुनैद खानले साथ दिनेछन् । २९ वर्षीय कप्तान सरफराज अहमदको पाकिस्तानी टिममा युवा खेलाडीको वर्चस्व छ ।

१ अर्बले हेर्ने अनुमान
पाकिस्तान र भारतको प्रतिस्पर्धालाई विश्व खेलकुदमै अत्याधिक दर्शक सहभागी हुने स्पर्धामा पर्दछ । च्याम्पियन्स लिगको फाइनल हेर्ने दर्शक १ अर्ब पुग्नसक्ने अनुमान गरिएको छ । यसअघि यी दुईको खेल झण्डै ५० करोडसम्मले हेरेका थिए ।
दुई साताअघि बर्मिंघममा भएको समूह चरणमा यी दुईको खेल ३२ करोड बढीले हेरेको आईसीसीेले जनाएको छ । त्यसमध्ये २० करोडले भारतमा हेरेका थिए । विश्व खेलकुदको इतिहासमा बेइजिङ ओलम्पिक २००८ को उद्घाटन समारोहमा मात्र दर्शक १ अर्ब पुगेको थियो ।

भारत र पाकिस्तान फाइनलमा पुगेपछि टेलिभिजन विज्ञापनको मूल्य पनि १० गुणा आकासिएको छ । स्टार स्पोर्ट्समा ३० सकेन्डको विज्ञापनलाई भारु.१ करोड लाग्ने बताइएको छ जबकि अरु बेला उच्चतम १० लाख थियो ।

प्रकाशित : असार ४, २०७४ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?