कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थिर छैन खेलाडीको मूल्य

रोरी स्मिथ

न्युयोर्क — चालू दशकभर अग्रणी प्रिमियर लिग क्लबले सामान्य लाग्ने एक प्रश्नको जवाफ खोज्न हजारौं घण्टा समय र कयौं किलोवाट दिमागीय शक्ति लगाएका छन्– एउटा खेलाडीको खास मूल्य कति भनेर कसरी निधो गर्ने त ?

स्थिर छैन खेलाडीको मूल्य

यसमा बुझ्न सकिने जति हरेक पक्षलाई ध्यान दिइन्छ । प्रष्ट र नदेखिने, वस्तुगत र विषयगत । हरेक खेलाडीको प्रदर्शन र नतिजा खुटयाउने हजारौं किसिमका तथ्यांकका अलावा खेलाडीको उमेर, खेल्ने पोजिसन, राष्ट्रियता, अनुबन्धन अवधि र व्यापार मूल्यजस्ता पक्षलाई समीकरणमा मिसाइन्छ । साथै खेलाडीको वर्तमान क्लबको क्रयशक्ति, उसका सहकर्मीहरूको मूल्य र अग्रजहरूको मूल्यलाई पनि घानमा हालिन्छ । 

यो मोडल सधैं परिमार्जन भइरहन्छ । यो मूल्य निर्धारण प्रणाली फुटबलजत्तिकै बलियो छ । यसले ठयाक्कै यति भनेर मूल्यअंक हिसाब गर्दैन । वास्तवमा यसले एउटा मार्गदर्शन प्रदान गर्छ, जसका आधारमा टिम व्यवस्थापकलाई कुनै खेलाडीमाथि निशाना लगाउँदै उपयुक्त मूल्य निर्धारण गर्न सहज हुन्छ । 

यो प्रणालीको विकास र निरन्तर सुधारमा संलग्नहरूलाई थाहा छ कि यस्ता खाले मार्गदर्शनले त्यतिखेर काम खासै गर्दैन जतिबेला सरुवा बजार खुल्छ । आखिर, चेल्सीका व्यवस्थापक एन्टोनियो कोन्टेले गत वर्ष भनेकै हुन्, ‘यो फुटबलको पागल युग हो ।’ 

‘साधारणतया मूल्य एकदम चर्को छ । बजारै त्यस्तो छ,’ उनले भने, ‘एउटा खेलाडी किन्न खोज्दा धेरै मूल्य तिर्न तयार हुनुपर्छ । खासमा त्यो खेलाडीको यथार्थ मूल्य नै होइन । एकदमै अनौठो अवस्था छ ।’ 

सरुवा बजार खुल्नुअघिको यो समयमा घटनाक्रम यसरी अगाडि बढेका छन्, जसका आधारमा यो परिस्थिति झन् सघन हुँदै गएको प्रतीत हुन्छ । 

फुटबलका भित्रियाहरू आकासिदो मूल्यस्फीतिसँग परिचित छन् । यो मूल्यस्फीतिलाई पैसाको खोलो बग्ने प्रिमियर लिग, युरोप महादेशका सुपरक्लबहहरूको बढ्दो आम्दानी र चिनियाँ सुपर लिगका टिमहरूले देखाइरहेको ठूलो रकमको लोभले झन–झन तीव्र पारेका छन् । सरुवा बजारलाई निरन्तर नियालिरहेकाहरूलाई पनि ठम्याउन गाह्रो पर्छ । कसको कतिबेला कति मूल्य चढ्ने हो भन्ने थाहा हुन्न । 

उदाहरणका लागि एभरटनले आफ्ना स्ट्राइकर रोमेलु लुकाकुको मूल्य सय मिलियन पाउन्ड तोकेको छ । बार्सिलोनाले पेरिस सेन्ट जर्मेनबाट मिडफिल्डर मार्को भेराटीका लागि त्यति नै तिर्नुपर्ने हुनसक्छ । जबकि बेल्जियनका शक्तिशाली फरवार्ड २४ वर्षीय लुकाकु र इटालीका रचनात्मक मिडफिल्डर भेराटीबीच कमै मात्र समानता छ । उनीहरूको पोजिसन पनि मिल्दैन र मूल पनि मिल्दैन । 

सिद्धान्तत: समानजस्ता देखिने खेलाडीको मूल्यबारे पनि यकिन गर्न सकिँदैन । म्यानचेस्टर युनाइटेडले हालै मात्र ३८ मिलियन डलरमा बेन्फिकाबाट २२ वर्षीय स्वीडिस रक्षक भिक्टर लिन्डेलोफलाई भित्र्यायो । यसै गरी त्यति नै पैसामा लिभरपुल आफ्ना युवा रक्षक मामाडोउ साखोलाई बेच्न चाहन्छ । योर्गन क्लोपले गत वर्षभर नै साखोलाई बेन्चमा राखे । साउथहयाम्पटनले रक्षक भिर्जिल भान डिकलाई त्योभन्दा दोब्बर मूल्य लगाउने दाउ देखेको छ । यस्तो लाग्दैछ कि मानिसहरू हावामा औंला उठाएर हावा कता बग्दैछ भनेर हेर्दै छन् । 

दुई साताअघिसम्म स्टोक सिटीले आफ्ना इङलिस गोलरक्षक ज्याक बटल्यान्डका लागि आएको २० मिलियन पाउन्डको प्रस्तावमाथि विचार गरिरहेको थियो । तर एभरटन अर्का युवा इङलिस गोलरक्षक जोर्डन पिकफोर्डका लागि सन्डरल्यान्डलाई त्यति नै पैसा तिर्न राजी भयो । स्टोकले पनि अब विचार फेरेको छ । बटल्यान्ड अझै उही खेलाडी हुन । हुनसक्छ, उनी अझ धेरै मूल्यमा बिक्न सक्छन् । 

बजारले मूल्य फेर्न सक्छ । त्यस्तै वातावरणले पनि । गत वर्ष न्युकासल युनाइटेड प्रिमियर लिगबाट तल झर्‍यो । त्यतिबेला उसलाई थाहा थियो, दुई मुख्य खेलाडीलाई राम्रो मूल्यमा बेच्न सकिन्छ, फ्रेन्च मिडफिल्डर मौसा सिसिको र डच विंगर जर्जिन्हो विज्नाल्डुम । क्लबले हरेकबाट कम्तीमा १५ मिलियन निकाल्न सकिने आँकडा निकाल्यो । तर रियल म्याड्रिडले सिसिकोबारे जान्न खोज्यो र न्युकासलले सोचेभन्दा झन्डै दोब्बर तिर्न सकिने संकेत गर्‍यो । त्यसै अनुसार न्युकासलले मूल्य बढायो । जब संचारमाध्यमले विज्नाल्डुमले २५ मिलियन पाउन्ड तान्न सक्ने कुरा बाहिर ल्याए । उनीमाथि इच्छा राख्ने एभरटन र लिभरपुल पछि हटेनन् । नभन्दै नयाँ मूल्यमा दुवै खेलाडी बेचिए । यो एउटा निकै चोटिलो उदाहरण हो । धेरैजसो क्लबमा कसैका लागि कति मूल्य राख्ने वा तिर्ने भनेको एउटा लहडको विषय हो । इटालियन क्लब लाजियोका खेल निर्देशक इग्ली तारेका अनुसार अन्तत: सरुवा बजारको ज्ञान र बुझाइअनुसारै खेलाडीको मूल्य लाग्ने गर्छ । जबकि खासमा उमेर, टिमका लागि महत्त्व र पछिल्ला सिजन उसको खेलस्तरअनुसार मूल्य निर्धारण हुनुपर्ने हो । 

यस्ता खाले लहडी र मनलाग्दीपूर्ण मूल्य परम्पराले युरोपभर घर गरेको छ । यस्तोमा गुपचुपको खेल हुन्छ । अब कसका लागि कति तिर्न तयार हुने भन्ने विषयमा सायदै कसैले खुलेर भन्ने अवस्था रहने भो । 

‘सबै क्लवका लागि यो एउटा गोप्य पकवानकला जस्तो भइसक्यो,’ बुन्डेसलिगा क्लब वोल्भसबर्गका निर्देशक ओलाफ रेब्बे भन्छन्, ‘हरेक क्लबले आ–आफ्नो तरिकाले निर्णय गर्छन् ।’ स्थिति कस्तो देखिन्छ भने सरुवा बजारमा एकखाले अन्योल छ । विशेषज्ञ भनिनेहरूले पनि अँध्यारोमा गोली हान्ने हुन् । क्लब वा खेलाडीको आ–आफ्नै खाले मूल्यनिर्धारण मापदण्ड चल्दै छ । हरेकको मामिला फरक छ । 

रेब्बे र तारेका अनुसार एउटा खेलाडी बेच्दा दिमागमा एउटा मूल्य पहिल्यै राखेर काम हुन्छ । क्रेताका बारेमा ध्यान राखिन्न । धेरैजसो इङलिस क्लबको गुनासो यो छ कि उनीहरूले युरोपेली बजारबाट खेलाडी किन्न खोज्दा जर्मनी, इटाली वा स्पेनका क्लबलाई भन्दा बढी मूल्य लगाउन खोजिन्छ । 

अचम्म केही मान्नुपर्दैन । धेरैजसो क्लबहरू सरुवा मूल्यलाई एउटा ढाँचामा ल्याउने कामलाई त्यति विश्वासिलो र व्यावहारिक मान्दैनन् । म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सीले एउटा पद्धति ल्याउन नचाहेका होइनन् । तर आर्सनलको विश्लेषण सहयोगी स्टाटडिएनएका कर्मचारीहरू फरक मत राख्छन् । उनीहरूका अनुसार हरेक अनुबन्धनलाई परिप्रेक्ष्यले असर पार्ने बताउँछन् । 

मूल्य निर्धारण पद्धतिका पछाडि धेरै समय खर्चेकाहरू पनि यस्तोमा धेरै सीमितता देख्छन् । ‘हामीले बजारमूल्य निर्धारणनिम्ति मोडलहरू बनाएका छौं,’ धेरै उच्चस्तरीय टिमका लागि परामर्श दिने डिसिजन टेक्नोलोजीका संस्थापक हेनरी स्कट भन्छन्, ‘तर त्यस्तो कयौं तथ्य हुन्छन् जसलाई हेक्का गरिएकै हुन्न ।’ 
खेलाडीलाई क्षमताका आधारमा कुनै पनि पोजिसनमा स्तरीकरणनिम्ति तथ्यांकहरू प्रयोग गर्न सकिने स्कट बताउँछन् । कसलाई पठाउने, कसलाई ल्याउने भन्ने क्लबको कस्तो उद्देश्य छ भन्ने कुराबाट निर्देशित हुनेगर्छ । जस्तो युरोपका लागि छनोट हुने, लिगको कुनै स्थान विशेषमा आउने वा रेलिगेसनबाट बच्ने । त्यसैले प्राय: भावले निर्देशित गर्छ मूल्य निर्धारणलाई । 

‘बजार मूल्य बेच्ने र किन्नेको इच्छाबाट अगाडि बढ्छ,’ स्कटले भने, ‘तर अन्य पक्ष पनि आउँछन् । समान क्षमताको खेलाडी सानो क्लबमा खेलिरहेको छ भने थोरै तिरिन्छ ।’ सारा मोडल, विज्ञान, अनुसन्धान, घण्टौंका तयारीका बावजुद आखिर को कतिसम्म तिर्न तम्सिन्छ भन्नेले अर्थ राख्छ । स्कट कसैका लागि मूल्य तोक्ने काम गर्दैनन् । ‘मैले देखेको कुरा क्लबहरूलाई राखिदिने हो । म मात्रै भन्ने गर्छु, तिर्न सक्छौ भने तिर वा घटाउने सक्छौं भने पनि घटाउ । सक्दैनौं वा बढाउनुपर्ने भयो भने नगर,’ उनी सुझाउँछन् । 
–न्युयोर्क टाइम्स 

प्रकाशित : असार १०, २०७४ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?