कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इतिहास बनाउँदै कोन्टा

एएफपी

लन्डन — जोहना कोन्टा मंगलबार पछिल्लो ३९ वर्षमा विम्बल्डन टेनिसको सेमिफाइनल पुग्ने पहिलो बेलायती महिला बनेकी छन् । कोन्टाले प्याट्रियोटिक सेन्टर कोर्टमा दोस्रो वरीयताप्राप्त रोमानियाकी सिमोना हालेपलाई ६–७, ७–६, ६–४ को स्कोरमा हराएर सेमिफाइनल यात्रा तय गरेकी हुन् । यससँगै हालेपको विश्व नम्बर एक बन्ने दाउ यसपल्टलाई टुंगिएको छ ।

इतिहास बनाउँदै कोन्टा

अब कोन्टाको सेमिफाइनल भिडन्त अमेरिकी स्टार भेनस विलियम्ससँग हुनेछ । ३९ वर्षीया भेनस विम्बल्डन सेमिफाइनल पुग्ने मार्टिना नाभ्रातिलोभापछिकी सबैभन्दा पाकी खेलाडी हुन् । भेनसले सेन्टर कोर्टमै फ्रेन्च ओपन विजेता जेलेना ओस्टापेन्कोलाई ६–३, ७–५ ले हराएकी हुन् ।

हालेपको यो हारका कारण अब डब्लूटीए वरीयताको शीर्ष स्थानमा चेक खेलाडी क्यारोलिना प्लिसकोभा पुग्नेछिन् । उनले जर्मन खेलाडी एन्जेलिक क्रेबेरलाई स्थानान्तरण गर्नेछिन् । प्लिसकोभा विम्बल्डन दोस्रो राउन्डबाटै बाहिरिइसकेकी छिन् ।

२६ वर्षीया कोन्टाभन्दा अघि सन् १९७७ मा भर्जिनिया वाडे विम्बल्डन सेमिफाइनल पुगेकी थिइन् । वाडेले १९७७ को विम्बल्डन नै जितेकी हुन् । कोन्टाले आफ्नो जीवनको दोस्रो ग्रान्ड स्लाम क्वाटरफाइनल खेलिरहँदा वाडे दर्शकदीर्घामा थिइन् । कोन्टाले अस्ट्ेरलियन ओपनको अघिल्लो सेमिफाइनल क्रेबेरसँग गुमाएकी थिइन् ।

‘टेनिसमा घटनाक्रम कति गज्जबले बदलिन्छ । म त अचम्मै छु,’ दुई वर्षअघिसम्म वरीयताको शीर्ष १ सय ५० मा समेत नपरेकी कोन्टाले भनिन् ।

‘मलाई थाहा थियो सिमोनासँग खेल्न सजिलो थिएन । मैले आफ्ना लागि आफैं अवसर बनाउनु थियो । म भाग्यमानी रहेछु,’ उनले भनिन् ।

अस्ट्ेरलियामा जन्मेकी हंगेरियन बावुआमाकी छोरी कोन्टा १४ वर्षको उमेरमा इङल्यान्ड आएकी हुन् । उनले सन् २०१२ मा मात्र बेलायती नागरिकता पाएकी थिइन् । उनलाई त्यसो त दक्षिण पश्चिमी लन्डनको ग्रास कोर्टमा भिज्न सजिलो रहेन । उनले अहिलेसम्म पाँच पटक विम्बल्डन खेलेकामा मात्रै एक खेल जितेकी छिन् ।

उनले विम्बल्डन जितेमा यो उनको करिअरकै पहिलो ग्रास कोर्ट उपाधि हुनेछ । उनी यो प्रतियोगिताको तयारीका क्रममा घाइतेसमेत भएकी थिइन् । त्यसैले उनको सहभागिता समेत शंकामा परेको थियो ।

अब कोन्टाको उपाधि यात्राकी मुख्य तगारो भेनस हुन्, जो यो वर्षको अस्ट्ेरलियन ओपन फाइनलमा हारेकी थिइन् । उनले पछिल्लो पटक विम्बल्डन सन् २००८ मा जितेकी हुन् ।

उत्साही भेनस
‘मलाई यो खेल मनपर्छ । त्यसैले नै म मिहिनेत गरिरहेको छु,’ भेनसले भनिन् । उनी सबैभन्दा पाकी विम्बल्डन विजेताकी रूपमा आफ्नै सहोदर बहिनी सेरेनाले बनाएको कीर्तिमान भंग गर्न चाहन्छिन् । ‘यो प्रतियोगिताले तपाईलाई सक्रिय राख्छ । मलाई चुनौती मनपर्छ,’ उनले भनिन् । हुन पनि भेनसले आफूभन्दा झन्डै आधा उमेर कान्छी ओस्टापेन्कोलाई माथ खुवाएकी हुन् । गत महिना फ्रेन्च ओपन जित्ने पहिलो वरीयताविहीन खेलाडी बनेर विश्व टेनिसलाई चकित तुल्याएकी ओस्टापेन्कोलाई भेनसले आफ्नो अनुभवको मद्दतले हराइन् । ओस्टापेन्को पछिल्ला ११ ठूला प्रतियोगिताका खेलमा अपराजित थिइन् । उनी विम्बल्डनमा क्वाटरफाइनलमा बाँकी सबैभन्दा कान्छी प्रतिस्पर्धीसमेत हुन् ।

विम्बल्डन खेलेको २० वर्ष पुगिसकेको छ, भेनसका लागि । यो उनले अल इङल्यान्ड क्लबमा खेलेको सयौं एकल खेल हो । लात्भियाकी ओस्टापेन्कोका लागि चाहिँ यो मात्रै आठौं विम्बल्डन एकल म्याच थियो ।

यसै गरी स्पेनकी गार्बिन मुगुरुजा सातौं वरीयताकी कुज्नेत्सोभालाई ६–३, ६–४ ले हराउँदै पछिल्लो तीन वर्षमा आफ्नो दोस्रो सेमिफाइनल पक्का गर्न सफल भएकी छिन् । उनले गत वर्ष फ्रेन्च ओपन जितेकी थिइन् । त्यसयता शीर्षस्तरको खेलमा फर्कन उनले संघर्ष गर्नुपरेको छ । उनले अबको सेमिफाइनल भिडन्त विश्व वरीयतामा ८७ औं नम्बरमा रहेकी स्लोभाकियन खेलाडी माग्डालेना रायबारिकोभासँग हुनेछ ।

विम्बल्डनको क्वाटरफाइनलमा रोमानियाकी सिमोना हालेपविरुद्ध खेल्दै बेलायती जोहना कोन्टा । उनी ३९ वर्षपछि सेमिफाइनल पुग्ने पहिलो बेलायती महिला खेलाडी भइन् । सन् १९७७ मा सेमिफाइनल पुगेकी भर्जिनिया वाडे (बायाँ छेउ) मंगलबार दर्शकदीर्घामा थिइन् ।

प्रकाशित : असार २९, २०७४ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?